अधिकार कुरामा छ, व्यवहारमा छैनः सरोकारवाला

0 72

पाल्पा । जिल्ला स्तरमा अहिलेसम्म पनि मानवअधिकारको पूर्ण बहाली हुन नसकेको प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले तानसेनमा आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक २०१९ को लागि वार्षिक पुर्व समिक्षा कार्यक्रमका वक्ताहरुले अहिलेपनि नागरिकहरुले शिक्षा, स्वास्थ्य र खाद्यको अधिकार समेत पूर्ण रुपमा अनुभुति गर्न नपाउनु दुःखद विषय भएको बताए ।

कार्यक्रममा इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले इन्सेकले संलकन गरेका मानवअधिकार सम्वद्ध विषयहरु जानकारी गराएका थिए । इन्सेकको प्रतिवेदन अनुसार जिल्लामा सन् २०१७ को तुलनामा २०१८ मा महिला तथा बालबालिका सम्वन्धी घटनाहरु बढेका छन् । यो अवधिमा ३ बालिकामथि बलात्कार प्रयास भएको र ३ बालिका बलात्कारमा परेको तथ्यांक सार्वजनिक भएको छ । त्यस्तै महिलामाथि बलात्कार प्रयासका घटना ३, बलात्कार घटना ५ वटा भएको प्रतिबेदनमा उल्लेख छ । त्यस्तै एउटा बोक्सी आरोपको घटना र एउटा बालबालिका बेचेविखनका घटना भएको उल्लेख गरिएको छ ।

प्रतिबेदनमा पाल्पा कारागारका पुरुष बन्दीहरु जोखिम मोलेर जीर्ण भवनमा बस्न बाध्य भएको, बजार अनुगमन सदरमुकाम केन्द्रीत र चाडपर्वको समयमा मात्रै हुने हुँदा अखाद्य बस्तुहरु बिक्री भइरहेको, फरक क्षमता भएका र विपन्न समुदायका कतिपय बालबालिकाहरुले १ पटक पनि विद्यालय नदेखेका गाउँपालिकाहरुले समेत पुर्ण भर्ना सुनिश्चित घोषणा गरेको, जिल्ला अस्पताल सहित ग्रामीण स्वास्थ्य चौकीहरुको सेवा प्रवाहमा समयसापेक्ष सुधार हुन नसकेको, बालबिवाह कायमै रहेको लगायतका विषयहरु समेत उल्लेख छ ।

कार्यक्रमका जिल्ला समन्वय समितिकी उपप्रमुख मिरा मरासिनीले इन्सेकले बार्षिक रुपमा प्रकाशन गर्दै आएको मानवअधिकार वर्ष पुस्तक मानवअधिकार क्षेत्रको एउटा राम्रो संग्रह भएको बताइन् । सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थ, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, तानसेन नगरपालिकाकी उपप्रमुख लक्ष्मी पाठक, बरिष्ठ पत्रकार मेघराज शर्माले यसप्रकारको छलफल अन्र्तक्रियाले सरोकारवालाहरुलाई कमी कमजोरीलाई सच्याउँदै अगाडि बढ्न सजिलो हुने बतए ।

सो अवसरमा बुद्धिजीवि बृद्धिप्रसाद शर्मा, मानवअधिकारकर्मी रुद्र मश्रांगी, ठाकुर प्रसाद लोहागुन, मानवअधिकार सरोकार केन्द्रका केन्द्रीय सदस्य दिवाकर पाण्डे, पाल्पा ब्यापार संघका अध्यक्ष चिरञ्जिवी पोखरेल, पत्रकार महासंघका सचिव किरण कौशल, प्रेस चौतारी पाल्पाका अध्यक्ष राजेन्द्र लिगल, सचिव कृष्ण कार्की, गैरसरकारी संस्था महासंघका अध्यक्ष भेषराज तिमिल्सिना, मानवअधिकारकर्मी तुल्सी गैरे, पत्रकार कृष्ण पोखरेल लगायतले प्रतिवेदनमाथि सुझाव दिनुका साथै आफ्नो धारणा राखेका थिए ।
कार्यक्रम मानवअधिकार निगरानी समूह पाल्पाका संयोजक भगवान भण्डारीको अध्यक्षतामा चलेको थियो ।

Comments
Loading...