अनलाइनबाटै बगनासकाली पत्रकार समूहको बैठक

0 98

पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिका घर भई बिभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुको संस्था बगनासकाली पत्रकार समूहको अनलाइन प्रविधिबाटै बैठक सम्पन्न भएको छ ।


संघीयतापछि स्थानीय तहको निर्माणसँगै बगनासकालीका पत्रकारहरु आफ्नो स्थानीय तह अन्र्तगत संगठित भई रचनात्मक कार्यक्रमहरु संचालन गर्दै आएका छन् । यसरी संगठित हुनेमा बगनासकालीका पत्रकारहरु देशमै पहिलो हुन् ।
बैठकमा पत्रकार महासंघका पुर्व अध्यक्ष तथा बगनासकाली पत्रकार समूहका सल्लाहकार झपेन्द्र गहिरेले कोरोना भाइरस फैलन नदिन सरकारले आह्वान गरेको लकडाउनलाई पालना गर्दै पत्रकारहरुले आ आफ्नो तर्फबाट जनतालाई सुसुचित गराउने कार्यमा निरन्तर लागिरहेको बताए । उनले पत्रकारहरु पनि सुरक्षित भएर सूचना संकलन गर्नुपर्ने र त्यसको बातावरण समूहले बनाउनुपर्ने बताए ।


अर्का सल्लाहकार भगवान भण्ण्डारीले स्थानीय तहसित समन्वय गर्दै पत्रकारहरुले स्थानीय तहले यो समयमा समयमा गरेका रचनात्मक कार्यहरुको प्रचार गर्नुपर्ने बताए । अर्का सल्लाहकार कमलराज तिमल्सिनाले मानिसहरुले लकडाउनको पालना गर्दै समाचार हेर्ने, पढ्ने र सुन्ने गरेका कारण पनि सही सूचनाको सम्प्रेषण हुनुपर्नेमा जोड दिए । अर्का सल्लाहकार मन गहिरे र देव पचभैयाले उचित सुरक्षा सामाग्रीहरुको अभावमा पनि पत्रकारहरुले सूचना तथा सञ्चार प्रवाहमा रचनात्मक भुमिका निर्वाह गर्दै आएको बताए ।


बैठकमा परामर्श समितिका यज्ञमूर्ति तिमिल्सिना, दयाराज न्यौपानेले बगनासकाली पत्रकार समूहले स्थानीय सरकारसितको समन्वयमा समय सापेक्ष रचनात्मक कार्यक्रमहरु बनाउँदै सोही अनुसारका समाचारहरु सम्प्रेषण गर्दै जानुपर्ने बताए ।


पत्रकारहरु भोजराज भट्टराई, बिष्णु प्रसाद घिमिरे, नेत्र गैरे, कमल अधिकारीले यो समयमा बगनासकाली पत्रकार समूहले गर्नुपर्ने क्रियाकलापहरुको बारेमा आआफ्नो धारणा राखेका थिए । बगनासकाली पत्रकार समूहका संयोजक दिपक ढुंगानाले बैठकमा उठान भएका बिषय र निर्णयहरुलाई गाउँपालिकासितको समन्वयमा कार्यान्वयनमा लगिने बताए ।


बगनासकाली पत्रकार समूहमा पत्रकार महासंघमा आवद्ध तथा अन्य क्रियाशील गरि ५० जना बढी पत्रकारहरु आवद्ध रहेका छन् ।

Comments
Loading...