अपांगता भएका बालबालिकाबारे ध्यान दिने कि ?

0 85

पाल्पा समाचारपत्रको अघिल्लो अंकमा हामीले पाल्पामा ३ सय बढी अपांगता भएका ब्यक्तिहरुको दैनिकी आँगन, पिढी र ओछ्यानमै बितेको बिषयमा समाचार प्रकाशन गर्यौं । वास्तवमा यो तथ्यांक कहाली लाग्दो छ । गाउँका हरेक टोलमा एउटा न एउटा त्यस्ता अपांगता भएका ब्यक्तिहरु भेटिन्छन् । त्यसमध्ये पनि अधिकांश बालबालिका नै रहेका छन् । घरमा अपांगता भएका बालबालिका भएकै कारण त्यो घरको दैनिकी उर्जाशिल छैन । कतिपय घरमा त त्यस्ता बालबालिकाका लागि एक जना कुरुवा बस्नै पर्छ । जसका कारण अर्को एक जनाको उत्पादनशील समय त्यसै खेर गइरहेको देखिन्छ । हुन पनि त्यसरी अपांगता भएका ब्यक्तिहरुले कोही न कोहीको साहारा बिना दिसा पिसाव समेत गर्न सक्दैनन् । यसकारण पनि अभिभावकले समय नदिई सुखै छैन ।

यसरी अपांगता भएका ब्यक्तिहरु सबै जसो गरिव तथा बिपन्न परिवारकै छन् । गर्भमा बच्चा रहेको बेला आमाले राम्रो स्याहार सुसार नपाएकै कारण, उचित खानपान नमिलेकै कारण र बच्चा जन्मन अघि वा जन्मेपछि आवश्यक पौष्टिक आहार नपुगेकै कारण धेरै बालबालिकाहरुले अपांगता सहितको दैनिकी गुजार्नु परेको छ । कतिपय बालबालिकाहरु अपांगता भएपनि उनीहरुको नियमित फिजियोथेरापी गराउन सक्ने हो भने उनीहरुको दैनिकी केही सहज पनि हुन्छ । यसका धेरै उदाहरणहरु पनि छन् ।

अहिले अपांगताको क्षेत्रमा संघ, प्रदेश र स्थानीय तह सहित बिभिन्न गैरसरकारी संस्थाहरुले धेरै कार्यक्रमहरु संचालन गरिरहेका छन् । अन्र्तक्रिया, सम्मान, छलफल आदि आदि भइरहेका छन् । घर घरमै अपांगता परिचयपत्र र उनीहरुले पाउने मासिक सुविधा पनि पाइरहेका छन् । यसले केही हदसम्म राहतको अनुभुति भएको छ । तर गर्न पर्ने खास काम हुन सकेको छैन । जटिल प्रकृतिका अपांगता भएका बालबालिकाले थेरापी गर्ने र पढाई तथा हाउभाउमा परिवर्तन ल्याउने पाठशाला यहाँ छैनन् । तानसेनमा सिविआरले चलाएको बाहेक अन्य त्यस्ता पाठशालाहरु छैनन् । सिविआरले पनि आर्थिक अभावका बीच पनि निकै दुखले कक्षा चलाइइरहेको छ । कतिपय बालबालिका बोकेरै ल्याउनु लैजानुपर्ने अवस्था छ । उनीहरुलाई स्कुलसम्म ल्याउने लैजाने गाडी सुविधा छैन । कम्तीमा हरेक स्थानीय तहमा साधनस्रोत सम्पन्न पाठशालाहरु संचालन गरिनुपर्छ । बरु अन्र्तक्रिया र सम्मान गरिरहनुपर्दैन । जटिल प्रकृतिका अपांगता भएकाहरुलाई पनि नियमित रुपमा यसप्रकारको कक्षाहरुमा सहभागी गराउन सक्ने हो र नियमित उनीहरुले सक्ने जति शारिरीक तथा मानसिक चलायमान गराउन सक्ने हो भने अवश्य पनि केही न केही परिवर्तन हुन्छ । श्रवणशक्ति कम भएका र दृष्टिबिहिनले अध्ययन गर्ने बिद्यालयहरुमा पनि आवश्यक शिक्षक दरबन्दी ब्यवस्थापन गर्दै आवश्यक पाठ्यसामाग्री ब्यवस्थापन गरिनुपर्छ । यसकारण संविधानले पनि अपांगता भएका ब्यक्तिका शिक्षा, स्वास्थ्य लगायतका सबै अधिकार सुनिश्चित गरिसकेको छ । यसकारण अव त्यस्ता अपांगता भएका ब्यक्तिहरुले हाम्रा लागि पनि सरकार छ भन्ने महसुस गर्ने गरि काम अगाडि बढाउनु आवश्यक छ । pic copy google
(पाल्पा समाचारपत्र वर्ष ९ अंक २३ को सम्पादकीय फिचर स्तम्भमा प्रकाशन गरिएको । सम्पादक)

Comments
Loading...