आज पाल्पा दर्लम महाकालीमा रथयात्रा हुँदै

0 2,533

पाल्पा । आज दर्लममहाकालीमा महाकालीको रथयात्रा हुँदैछ । श्रीकृष्णगण्डकीको पवित्र स्थल रामनदीधाम राम्दीघाटबाट करिब ५ किलोमिटर दक्षिण पश्चिम तथा पाल्पा जिल्लाको सदरमुकाम तानसेनबाट करिब १२ किलोमिटर उत्तर पूर्व दर्लमडाँडामा दर्लम महाकाली भगवती मन्दिर अवस्थित छ । दर्लमडाँडा निवासी स्व. पदमपाणी गैरेका पूर्वज कुलानन्द तारापतिहरूले बि.सं.१९३० देखि सोही ठाउँमा महाकाली भगवतीको नित्य पूजा गर्दै आएका थिए । स्र्विर्गय पदम्पाणी गैरेले बि.सं. १९९० देखि श्री दर्लममहाकाली भगवतीको सानो मन्दिर निर्माण गरि माटोको मुर्ति बनाई पूजा आज सुरू गरेका थिए । हाल यो मन्दिर मनकामना मन्दिरको शैलीमा निर्माण गरिएको छ । हाल यो मन्दिर तामाको छानो र गजुर सहित प्यागोडा शैलीमा रहेको छ । मन्दिरकोे दक्षिण तर्फ सुन झाँक्री र चण्डी माईको थान साथै पूर्वतर्फ महाकालीको उत्पति स्थल रहेका छन् ।

दर्लममहाकालीको किंवदन्ती
यहाँको ऐतिहासिक किवंदन्तीका कारण पनि यहाँ धार्मिक पर्यटकहरू बढी आकर्षषित हुने गरेका छन् । किवंदन्ती अनुसार वि.सं. २०१० साल कार्तिक शुक्ल त्रयोदशीको दिन राति सपनामा दर्लमका पदम्पाणी गैरे र छिमेकी गाउँ मलेङका ज्यो. हुमकान्त बस्याललाई महाकालीले आकाशवाणीको रूपमा मैले यस ठाउँमा, यस समयमा (बिहान ब्रम्ह मुहुर्तको समयमा) शिलाको रूपमा दर्शन दिनेछु र म सोही शिलामा विराजमान हुनेछु । अब उप्रान्त माटोको मुर्तिमा पूजा नगरी सोही शिला ल्याई नित्य पूजा अर्चना गर्नु भनि आकाशवाणीको रूपमा दिक्ष दिइन् । सोही दिनलाई प्रत्येक बर्ष उत्सवको रुपमा रथयात्रा गर्ने गरिन्छ ।

दुवै जनाले एउटै समयमा पाएको दिक्षमा महाकालीको विराट मूर्तिको दर्शन पाएकोले हालको मन्दिर भन्दा २ सय मिटर पूर्वको सपाङ्गदी भन्ने स्थानबाट सपनामा बताए अनुसार दुबै जनालाई मैले शिलाको रूपमा दर्शन दिनेछु भनी बिहान ब्रह्म मुहुर्तमा यस ठाउँमा जानु भने अनुसार पदमणी गैरेले पूजाको सामाग्री थालीमा लिई सोही ठाउँमा पानीको कुवा नजिकै उभिएर बसेका थिए ।

जव ब्रह्म मुहुर्तको समय नजिकै आएको रहेछ र उनको मनमा आखिर सपना हो भन्ने भ्रम भएछ जब पानी घडीको आधारमा ब्रह्म मुहुर्तको समय भएको थाहा भयो तत्काल जमिनको एक हिस्सा भत्किएर उत्तर तर्फको पानीको कुवामा माटो झ¥यो र माता महाकालीको मूर्ति शिलाको रूपमा प्रार्दुभाव भयो र सबै गाउँलेहरू मिलेर पालै पालो शिलाको दर्शन गरि त्यस स्थानबाट शिलारूपी माता महाकालीलाई उठाई पानी कुवाको डिलमा सुताई धोई पखाली गर्दा गर्दै अर्का भक्त खानीछाप मलेङ निवासी ज्योतिष हुमकान्त बस्याल पनि सोही ठाउँमा आइ पुगे ।

बस्यालले पनि आफ्नो सपनाबारे सुनाए । महाकालीको दिक्ष अनुसार आफू त्यहाँ आइपुगेको बताएपछि दुबै जनालाई सपनीमा एउटै दिक्ष मिलेको प्रमाणित भयो । यसरी भेटिएको मुर्ति पखाल्ने क्रममा मुर्तिमा राखिएको पानी तत्कालै सुक्यो । यो क्रम केही बेरसम्म चल्यो । त्यसैक्रममा स्थानीय एक जना भट्टराई थरका पण्डितले यसरी पानी खन्याइरहँदा माताको अपमान हुने हुँदा पानी नखन्याउन सल्लाह दिए । सोही क्रममा मुर्तिको पुजाआजा गर्दै पहिलो पटक दर्शन पाउने पदमंपानीकै नेतृत्वमा माताजीलाई खाटमा राखेर अविर सिन्दुर चढाउँदैसानो पुरानो मन्दिरमा भित्र्याइएको थियो । जस अनुसार नित्य पञ्चायन पूजा, रूद्राभिषेक, हवन र महाकालीको पूजाअर्चना निरन्तर चलिरहेको छ ।
माता महाकालीको साक्षात्कारको अवस्था
माता महाकालीले २०४८ साल कार्तिक २२ गते राती २ बजे देखि बिहान ५ बजे सम्म बुटवल उप नगरपालिका अन्र्तगत भाडामा कोठा लिई बसेको अवस्थामा पदम्पाण्ी गैरेका छोरा ठूल्कान्छा भनेर चिनिने ङणराज गैरेलाई प्रत्यक्षरूपमा माता महाकालीले बिराट रूपको दर्शन दिइन् ।

महालकालीले दिक्ष दिइन्, तँ मनकामना भन्ने ठाऊँमा गएको छैनस् – त्यँहाँ जा । त्यहाँ पनि मै हुँ म त्यहाँ सानो रूपमा छु । म यहाँ विराट रूपमा छु । मनकामना भन्ने ठाउँको मन्दिर मलाई ज्यादै पसन्न छ र यहाँ पनि सोही अनुरूपको मन्दिर बना । मन्दिर निर्माणका लगि तिमीहरूको ७६ जना सदस्यहरू बस्ने गरेको मुल घरलाई भत्काएर जमिन ठिक ठाक पारेर पुरानो मन्दिर समेत समेटिने गरी मन्दिर निर्माणको काम गर्नु भनी अराए अनुसार मनकामना मन्दिरकै आकारमा प्यागोडा शैलीमा मन्दिर निर्माण गरि तामाको छाना राखिएको छ । माताले मन्दिर बनाउँदा मूलद्धार पूर्व तर्पm र सहायक द्धार दक्षिण तर्फ राख्नु भनि दिक्ष दिएकी थिइन् । भने मन्दिरको उचाईको २÷३ उचाई भएको त्रिशुल पुर्व तर्फ राख्न अह्राएकी थिइन् । मूल ढोका र दक्षिण ढोकाको अगाडि दायाँ बायाँ ठूला ठूला घण्ट राख्न र भक्तजनले चढाएका साना घण्टहरू मिलाएर राख्न माताले अह्राएको ङणराज गैरेले बताए । पञ्च पञ्चायन तथा गौरी शंकर शिव पाञ्चायन लाई भुवनेश्वरी मन्दिर तथा भजन र्कितन सत्तल निर्माण गरी स्थापना गरिएको छ ।

दर्लम महाकाली भगवती मन्दिरको महत्वलाई हृदयंगम गरी त्यतिबेलाको मन्दिर क्षेत्रलाई बिस्तार गरी गोरखा मनकामना भगवती मन्दिरको आकारमा बि. सं. २०५३ साल आश्विन महिनाको महा नवमीको पूण्य तिथीको अवसरमा ५८ वर्ष सम्म माता महाकालीको पूजा गर्दै आएका पुजारी पुरूषोत्तम गैरेको करकमलबाट शिलन्यासको काम गरिएको थियो । त्यसै गरी २०७३÷०७४ सालमा निजकै छोरा थर्कराज गैरेको बारीको बिच भागबाट मन्दिरदेखि माताको शिला उत्पत्ति स्थल सपांगदीसम्म पक्की बाटो निर्माण गरिएको छ ।

हाल महाकाली भगवतीको मन्दिर ३ तलाको बनेको छ । एक तलाको बरण्डा माथी पक्की ढलान छ भने २ तलाका छाना प्यागोडा शैलीमा तामाको छानाले छाइएको छ । मन्दिर परिसरमा गुरूयोजना अनुरूप भुवनेश्वरी मन्दिर, भजन किर्तन सत्तल सहितको शिवालय र होमकुण्ड र पुरानो मन्दिरको जीर्णेद्धार पुरातत्व विभागको सल्लाह अनुसार गरिएको छ ।

मूल मन्दिरको पूर्वतर्फ २ तले नौ कोठे भवन निर्माण कार्य निर्माणाधिन अवस्थामा छ भने मन्दिर परिसरको गेट बनिसकेको र झाक्रीस्थानको चौपारी निर मूल प्रवेश द्धार बिशेष रूपमा बनेको छ । मन्दिर सहितको परिसरको जग्गा पदमपानीका ८ भाई छोराहरूले अंशबन्डा गर्नु अघि उक्त सबै जग्गा माताको नाममा छुट्याएका थिए ।

मूल मन्दिरको पूर्व तर्फको ९ कोठे भवनको माथिल्लो तलामा रेलिङ सहितको भवन निर्माण गर्ने, सामुदायिक भवन, वेद विद्यालय, मन्दिर परिसरमा ढुङ्गा छाप्ने, पानी टंकी र भ्यू टावर निर्माण, गणेश र लक्ष्मी नारायणको मन्दिर साथै धर्मशाला निर्माणका काम क्रमशः अगाडि बढाउने गुरूयोजना रहेको छ ।

मन्दिरमा गरिने नित्य वार्षिक कार्यक्रमहरू
यस दर्लम महाकाली भगवती मन्दिरमा दैनिक पूजा, पाठ परायणका साथै बार्षिकरूपमा मन्दिरमा थप धार्मिक कार्यहरू हुँदै आएको छ । जस अनुसार प्रत्येक बर्ष माता महाकालीको उत्पत्ति भएको दिन हरेक वर्ष कार्तिक शुक्ल त्रयोदशीका दिन बाजा गाजा, भजन र्कितन सहित माता महाकालीको रथ यात्रा गराउने प्रचलन रही आएको छ । यो दिन यस क्षेत्रका लागि महत्वपुर्ण दिनको रुपमा समेत रहेको छ । रथयात्रामा स्थानीय समुदायका साथै बिद्यालयका बिद्यार्थी, आमा समूह, युवा समूह सबैको भब्य सहभागिता रहन्छ । जिल्लाबाट समेत नेपाली सेना तथा सुरक्षा निकायका प्रमुख प्रतिनिधिहरु, पालिका र वडाका जनप्रतिनिधिहरु कर्मचारीहरु समेत पुग्ने र आर्शिवाद लिने गरिन्छ ।

शिवरात्रीमा रूद्राभिषेक सहित भजन किर्तन, चैते दशैमा नित्य नवदुर्गा पूजा, परम्परागत सप्तशती चण्डीको विधान अनुसार र माता महाकालीको सत्तप्रमोधको विधान अनुसारको पूजा गर्ने गरिन्छ । यस्तै गरी श्री कृष्ण जन्माष्टमीमा श्री कृष्ण जन्मोत्सव, श्रावण महीनामा बोलबमको जल चढाउने कार्यक्रमका साथै नव दुर्गामा बडादशै पूजा गर्ने गरिन्छ । यी समयमा अरू बेला भन्दा यहाँ दशनार्थीहरूको भिड लाग्ने गर्दछ । कुनै शुभकार्यका लागि महाकालीसँग भाकल गर्ने र भाकल पूरा भएपछि रोट, बली वा पञ्चवली लैजाने प्रचलन समेत रहेको छ ।

महाकाली मन्दिरको गुरू योजना अनुसार हाल मुल मन्दिरको निर्माण कार्य सम्पन्न भइसकेको छ भने भुवनेश्वरी मन्दिर, होम कुण्ड, मूल गेटको निर्माणधिन चरणमै रहेको छ । भगवती माताको आर्शिवादले आफ्ना मनोकांक्षा पुरा भएको भक्तजनहरूको अनुभव छ । आन्तरिक र बाह्य पर्यटनको क्षेत्रमा यस वडाले बलियो पहिचान बनाएको छ । यस वडालाई उत्तरी पाल्पाकै धार्मिक सांस्कृतिक धरोहरको रूपमा पनि लिन सकिन्छ ।

Comments
Loading...