आश्रित बालबालिकाको शिक्षाका लागि मानवअधिकारकर्मीको ध्यानाकर्षण

0 30

पाल्पा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा गठन भएको जिल्ला स्तरीय मानवअधिकार निगरानी समूह पाल्पाले पाल्पा कारागारमा रहेका आश्रित बालबालिकाहरुका लागि बाल कक्षा र बाल शिक्षकको ब्यवस्थापन गर्न माग सहित प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।

पाल्पा कारागारमा कैद तोकिएका र नतोकिएका गरि ६७ महिला बन्दीहरु रहेका छन् र कारागारमा ३ बालक र ४ बालिका आश्रित रुपमा बस्दै आएका छन् । बालबच्चाहरुलाई पढाउन राज्यको तर्फबाट कुनै पनि ब्यवस्था नहुँदा उनीहरुले क ख समेत सिक्न नपाएको भन्दै कारागारमा इसिडि कक्षा, बाल शिक्षक र बाल शिक्षा सामाग्रीहरुको ब्यवस्थापन गर्न ध्यानाकर्षणपत्र मार्फत माग गरिएको छ ।

जिल्ला संयोजक भगवान भण्डारीद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा यस्तो सम्वेदनशील बिषयमा यथासिघ्र निर्णय गरि कार्यान्वयन गर्न गराउन समेत अनुरोध गरिएको छ । ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले यो बिषयमा जिल्ला शिक्षा कार्यालयसित समन्वय गरि उनीहरुलाई पढ्ने ब्यवस्था मिलाइने बताए । सो अवसरमा जिल्ला शिक्षा अधिकारी संगीता रेग्मीले शिक्षा कार्यालयले यसबारे आगामी बैठकमा छलफल गरि इसिडि संचालनका लागि पहल गर्ने बताइन् ।
ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रममा मानवआधिकार निगरानी समूहका पदाधिकारी, सल्लाहकार, संचारकर्मीहरुको सहभागिता रहेको इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले बताए ।

Comments
Loading...