कतारमा रहेको छोराले आमालाई लेखे मार्मिक पत्रः अब घर फर्कन्छु बाझो खेत जोत्छु

0 339

मेरी ममतामयी माता ढोग नमस्कार ।
आजकल किन किन मेरो गाउँको याद खुब आउँछ । सानै उमेरमा लाहुँरे हुन कतार छिरे । लाहुँरे भएर धन कमाउछु बुबाको मुटुरोगको उपचार गराउँछु र मैले धेरै पैसा कमाएर बाबु आमालाई टिनको छानो भएको घरमा खुशीले राख्छु भन्ने ठूलो सपना थियो । पहिलो पटक जहाज चढ्दा पनि मैले त्यही संकल्प गरेको थिए । आज कतारमा पुरै लकडाउन छ । हामी एउटै कोठामा १७ जना साथीहरु छौं । कोही पनि खुशी छैनन् । सबै साथीहरुले यो बेला आफ्नो घर सम्झेका छन् । आफ्नी आमा सम्झेका छन् ।
आज पुरै १० वर्ष भएछ म कतार छिरेको । म कतार आएकै बर्ष बुवाले सधैका लागि संसार छोडेर जानुभयो । बुवाको मुटुको उपचार गराउँछु र निको बनाउछु भन्ने मेरो सपना त के म एक्लो छोरोले बुवालाई पानी समेत खुवाइन पाइन । पुरानो भइसकेको खरले छाएको घर त्यही पनि दश ठाउँमा पानी चुहिन्थ्यो । आज पनि आमा तपाईले एक्लो जीवन त्यही घरमा बिताइरहनुभएको छ । यो बीचमा म ३ पटक घर जाने आउने गरे ।


सायद आमा तपाइले सोच्नुभएको थियो छोराले बुहारी ल्याएसि सुख पाउछु होला । त्यसैले पनि तपाइले मलाई दोस्रो छुट्टीमा बिहे गर्न कर गर्नुभयो । मैले पनि त्यही सोचेको थिए । मेरी श्रमति सपनाले मेरी आमालाई खुब माया गर्नेछिन्, बावु आमाले दुखले खनजोत गर्दै आएको खेतबारी स्यार्नेछिन् । तर के गर्नु आमा सपनालाई बजारको भुतले छोइसकेको रहेछ । म कतार आइनपुग्दै उनले सदरमुकाममा डेरा लिएर सर्ने बन्दोबस्त गरिसकेकी रहेछिन् ।


आमा घर छेउको ठूलो बारी अहिले बाँझै रहेछ । अस्ति पल्तिर शिवले फोटो खिचेर फेसबुकमा पठाइदिएको थियो । फोटो हेरेर मन एकदमै रोयो, तल बेशीको खेतमा घास उर्मेछ । फोटो हेरे सिरकले मुख छोपेर कति रोए कति । चिच्याएर रुने मन थियो तर साथीहरुले के भन्लान् भनेर मनलाई सम्हाले । तपाई अर्काको घरमा मेलामा खेत रोप्न जादा मलाई सम्झेर आफुले नखाई खाजा ल्याइदिनुहुन्थ्यो तर आमा मैले बिहेपछि तपाईलाई एक पोका चक्लेट पनि पठाउन सकिन । आज एउटा बन्द कोठामा बसेर मैले सेकेण्ड सेकेण्डमा मेरो गाउँ मेरी प्यारी आमालाई धेरै सम्झिरहेको छु ।


सदरमुकाम बस्न थालेकी सपनाले मलाई दिनदिनै हैरान बनाउछिन् । चामल किन्न, तरकारी किन्न, भाडा तिर्न पैसा भएन भनेर अहिले त कसरी पठाउन सक्थे र आमा काम गर्न छोडेकै ३ महिना भइसक्यो । जुन खेतमा मेरा बुवाले धेरै पसिना बगाउनुभयो, चाहेको भए बुवाले त्यही खेत बेचेर आफ्नो मुटुको उपचार गर्न सक्नुुहुन्थ्यो तर उहाँले त्यसो गर्नुभएन । छोरो अर्थात् मलाई सम्झिनुभयो । तर आमा मैले चाहेर पनि तपाईलाई सुख दिन सकिन । यति धेरै बर्ष बिदेशमा रगत पसिना बगाएर पनि मैले केही प्रगति गर्न सकिन ।


मैले जानेर नजानेर गरेका गल्तीहरुलाई माफी दिनु है आमा । यहाँबाट जहाज खुल्ने बित्तिकै म गाउँ फर्कन्छु । सपनालाई गाउँमै फर्काउँछु । भत्कन लागेको घर टाल्छु । घरमा अर्को खर फेर्छु । बर्षौदेखि नजोतिएको खेत जोत्छु । आखिर परदेश परदेश नै रहेछ । अप्ठेरोको बेला याद आउने त आफुनै देशको रहेछ । गाउँकै याद खुबै आइरहेको छ । त्यो बाल्यकाल ती संगी साथी आँखा भरि आइरहन्छन् । आमा बुवाको यादमा बगिरहेका तपाईका आशु पछ्नेछु । मेरो धर्तीमा रगत पसिना बगाउनेछु । आफ्नो ख्याल गर्नुहोला । उही परदेशी छोरा ।

निरज पाल्पाली

Comments
Loading...