कृषि र पशुपालन गाउँपालिकाको मुख्य प्राथमिकता होः बस्याल

0 56

पाल्पा । बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले कृषि र पशुपालन क्षेत्रलाई गाउँपालिकाले विशेष प्राथमिकतामा राखरे काम अगाडि बढाएको बताएका छन् । इन्सेकको पहलमा गठन भएको जिल्ला स्तरीय मानवअधिकार निगरानी समूहले गाउँपालिकामा बोटे कुमाल तथा विपन्न समुदायलाई प्राथमिकतामा राखी कृषि र पशुपालनका कार्यक्रम अगाडि बढाउन आग्रह सहित बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै अध्यक्ष बस्यालले स्थानीय सरकारको प्रत्याभुति हुने गरि आफूहरुले काम गर्ने प्रतिबद्धता जनाए ।

स्थानीय तहको कार्यान्वयन र निर्वाचनसँगै हामीले आफ्नै जनप्रतिनिधि चुनेका छौ । अहिले जनप्रतिनिधिहरुले आफ्नो समुदायका समस्याहरु पहिचान गरि सोही अनुसार विकास आयोजनाहरु अगाडि बढाएका छन् । यसले पनि स्थानीय जनताहरुमा विकासको आशा पलाएको छ । बगनासकाली गाउँपालिकाका ९ वटै वडाको भौगोलिकता, स्थानीय समुदायको चेतनाको अवस्था र आर्थिक सामाजिक अवस्था उस्तै प्रकारको छैन । यहाँ फरक फरक समुदायमा फरक आर्थिक सामाजिक अवस्था रहेको छ । यसकारण पनि आर्थिक सवलिकरणका कार्यक्रमहरु संचालन गर्दा विपन्न र पछाडि पारिएका समुदायलाई प्राथमकिता दिनु आवश्यक छ । ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

पछिल्लो समय बगनासकाली गाउँपालिकामा कृषि क्षेत्रमा भएको नमुना कार्य र प्रगतिको जिल्लामा राम्रो संचार भएको छ । यसले पनि गाउँपालिकाबासीमा उत्साह मिलेको छ । यसकारण गाउँपालिका भित्र दैलातुङ, दर्पुक, घोरबन्दा, पोखराथोक लगायतका गाउँमा बस्दै आएका बोटे कुमाल तथा अन्य बिपन्न समुदायहरुलाई समेत कृषि तथा पशुपालनका कार्यक्रमहरुमा बिशेष प्रोत्साहन गर्दै ब्यक्तिगत तथा सामुहिक एवम् युवा उद्यममा प्रेरित गरि उनीहरुको आर्थिक सवलिकरणका लागि ठोस कार्यक्रम बनाई कार्यान्वयन गर्न हामी ध्यानाकर्षण गराउँदछौं । समूहका संयोजक भगवान भण्डारीद्धारा हस्ताक्षरित उक्त ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

ध्यानाकर्षणपत्र इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना, जिल्ला स्तरीय मानवअधिकार निगरानी समूहका संयोजक भगवान भण्डारी, मानवअधिकार निगरानी समूह चापपानीका संयोजक रणप्रताप खाँण लगायतले हस्तान्तरण गरे ।
सो कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण बस्याल, उपाध्यक्ष सरस्वती चिदी मगर, प्रवक्ता लक्ष्मी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अर्याल, कृषि शाखा प्रमुख सन्तोष जिसी सहित जिल्लामा क्रियाशील पत्रकार तथा मानवअधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।

Comments
Loading...