कोरोना भाइरस र महामारीको इतिहास

0 100

–के.बि.मसाल
कोरोना भाइरसको संक्रमणबाट अहिले बिश्वनै कोकाहल बनेको छ । महामारीका रुपमा फैलिएको कोरोना भाइरस फैलिने क्रम जारी छ भने यसको प्रभाव कहिलेसम्म रहने, कति जनसंख्या प्रभावित हुने, कतिले ज्यान गुमाउनुपर्ने, रोग नियन्त्रणका लागि स्थायी उपचार विधि कहिले पत्ता लाग्ने कुनै आकलन अहिले सम्म भएको छैन् । स्वास्थ्य क्षेत्रमा अब्बल राख्ने विकसित पश्चिमी मुलुकहरुले समेत अहिले लकडाउनको सामना बेहोर्नुपरेको छ । हालसम्म यस रोगको नियन्त्रण अर्थात रोकथामको लागि समाधान लकडाउन भएको छ । विश्व मानव इतिहासलाई हेर्ने हो भने विगतका महामारीको तुलनामा अहिलेको महामारी अर्थात कोरोना भाइरल अझै सानै देखिन्छ । हुन त यो महामारी अझै बढदै जाने क्रममा छ । यसले कति मानवको मृत्यु गराउछ भनेर अझै भन्न सकिने अवस्था छैन । तैपनि अहिलेसम्मको अवस्थालाई हेर्दा इतिहासका महामारीहरुलाई यसले जिति नसकेको देखिन्छ ।


मानव इतिहास हेर्ने हो भने पटकपटक विभिन्न प्रकारका मानवीय संकटहरु उत्पन्न हुदै आएको छ । विभिन्न मानवीय संकटहरु बाट ठूलो परिमाणमा मानवीय क्षति हुने गरेको छ । खासगरी प्राकृतिक प्रकोप, युद्ध, भोकमरी तथा महामारी आदिको कारण कैयौँ मानिसले अकालमै ज्यान गुमाउनु परेको दर्दनाक इतिहास पढन सकिन्छ । मानव चेतनशील हुँदाहुँदै पनि कतिपय अवस्थामा मानवकै गतिविधिले पटक पटक मानवलाई महामारीले मृत्युमा पु¥याएको छ । तर पनि कतिपय महामारी मानवबाट नै नियन्त्रण भएका छन् भने कतिपय महामारी नियन्त्रण भन्दा बाहिर हुन्छन् ।
आजको आधुनिक मानिसका पुर्खाहरुले अहिले सम्म अनेकन महामारी खेप्दै, आएका छन् । महामारीसँग जुध्दै, बाँचेका मानिसले जनसंख्या बढाउँदै र अघि बढदै आएका छन् । महामारीको क्रममा मानिसका कैयौं थरी पुर्खाको कुनै समूहनै नष्ट भएको छ । प्राचीन फिरन्ते युग र सिकारी युगमा मानवका पुर्खाहरूले के कस्ता सरुवा महामारीको सामना गरे भन्ने तथ्यहरुको खोजी अहिले पनि जारी छ । कैयौं सामूहिक चिहान, सभ्यता विनाशमा अनेकन महामारीहरुको निर्णायक भूमिकाको वास्तविकतामा पुग्न तथ्यहरुको संकलन चली नै रहेको छ । केही प्रमाण फेला परेका पनि छन् । फिरन्ते सिकारी युगमा मानिसका पुर्खाहरुले जिन्दगी चलाउने मेसो मिलाउन अनेकन ज्ञात–अज्ञात बोटबिरुवा र जनावरहरुको मासु काँचो या पोलेर खाने क्रममा त्यसबाट उत्पन्न प्रकोपले महामारीको रुप लिँदा कैयौं सिकारी समूह सखाप भएका छन् ।


बिश्वमा यतिखेर साँढे सात अर्व भन्दा बढि जनसख्या रहेको छ । अहिले मानव समाजमा देखिएको कोरोना भाइरसको महामारी पहिलो भने होइन । बिश्वको इतिहासमा आजभन्दा २ हजार बर्ष देखिको महामारीको तथ्याकं निकाल्ने हो भने बिश्वमा अरवौं मानिसलाई मृत्युमा पु¥याएको छ । महामारीको इतिहास अनुसार सन् १६५–१८० सम्म भएको एन्टोनाइटप्लेग को महामारीले ५० लाख मानिसको मृत्यु भएको थियो । सन् ५४१–५४२ सम्मको प्लेगअफ जस्टिनियनको महामारीले ३ करोड देखि ५ करोड सम्म मानिसको मृत्यु भएको आकलन गरिएको छ । सन् ७३५–७३७ सम्म भएको जापानी बिफर स्मलपक्सको महामारीले १० लाख मानिसको मृत्यु भएको थियो ।


मानव सभ्यताकै सबैभन्दा विनाशकारी महामारी सन् १३४७ मा सुरु भएर १३५१ मा रोकिएको थियो । यो महामारीलाई ब्युबोनिक प्लेग अर्थात ब्ल्याक डेथ कालो मृत्यु नाम दिइएको थियो । यो महामारीले चार वर्षको बीचमा बिश्वका २० करोड मानिसको मृत्यु भएको थियो । यो महामारी युरोपबाट एसियासम्म फैलिएको थियो । युरोपमा मात्रै दुुई करोड मानिसको मृत्यु भएको थियो । त्यो समयमा त्यो महादेशको कुल जनसंख्याको एकतिहाइ थियो । यो महामारीपछि युरोपको जनसंख्या पहिलेको अवस्थामा पुग्न दुई सय वर्ष लाग्यो । यो प्लेग महामारी सुरुमा मुसामा उत्पत्ति भएको थियो । जुन झिँगाको माध्यमबाट मानिसमा सरेको थियो । यो महामारी कसरी रोक्ने भन्ने बारे मानिसलाई ज्ञान नै थिएन । तर पनि रोगी मानिसको नजिक नजाँदा यो रोग सर्दैन भन्ने कुरा सिके भने रोगीलाई एकान्तबास अर्थात क्वारेन्टाइनमा राखेर उपचार गर्न थाले ।


सन् १५२० मा बिफर स्मलप्क्स नामक महामारीले ५ करोड ६० लाख मानिसहरुको मृत्यु भयो । स्मलपक्स युरोप, एसिया र अरेबिया क्षेत्रमा १६ औँ शताब्दीमा फैलिएको महामारी हो । स्मलपक्स रोगले भेटेका १० जनामध्ये तीनको ज्यान जान्थ्यो भने बाँकीको शरीरमा यसले दाग छोडथ्यो । अमेरिका र मेक्सिकोका आदिवासी जनतालाई यसले सखापजस्तै बनाएको थियो । एक शताब्दीको बीचमा अमेरिका र मेक्सिकोका ९० देखि ९५ प्रतिशत आदिवासी जनसंख्या यो महामारीले मृत्यु भएको थियो । स्मलपक्स नै इतिहासको पहिलो महामारी थियो तर पछि भ्याक्सिनबाट नियन्त्रणमा आयो ।


सन् १६०० मा फेरी प्लेगको महामारीले ३० लाख मानिसको मृत्यु भयो । सन् १७०० मा अर्को प्लेगको महामारीले ६ लाख मानिसको मृत्यु भयो । सन् १८१७–१९२३ सम्ममा हैजाले पटक पटक गरी १० लाख मानिसको मृत्यु भयो । चीन र भारतमा भएको तेस्रोप्लेगको महामारीले धेरै मानिसलाई आतकित बनायो । दि ब्ल्याक डेथ र जस्टिनियन पछि को यो प्लेग तेस्रो ठूलो महामारी हो । सन् १८५५ मा चीनको युनानबाट सुरु भएको प्लेगले एक करोड २० लाख मानिसको मृत्यु भएको थियो । यो महामारी चीनको ग्वान्जाउ र हङकङसम्म पैmलिएको थियो । यो बुल्बोनिक प्लेग भारतमा भने हङकङ हुँदै भित्रिएको थियो । भारतमा मात्रै एक करोड मानिसको ज्यान लिएको थियो । त्यसपछिका तीन दशकसम्म पनि भारतमा यो महामारीले थप एक करोड २५ लाख मानिसको मृत्यु भयो । त्यो समयमा भारतमा उपनिवेश कायम गरेको ब्रिटिस इन्डियाले यो रोग नियन्त्रण गर्न क्वारेन्टाइन, आइसोलेसन क्याम्प खडा गरेको थियो ।


प्रथम विश्वयुद्धका क्रममा करिब दुई करोड मानिसको मृत्यु भएको थियो । १९१४ देखि १९१९ सम्म युरोप, अफ्रिका र मध्य पूर्वमा आंशिक रुपमा चीन र प्रशान्त द्विप समुहमा चलेको लडाईं पहिलो विश्वयुद्ध थियो । प्रथम बिश्वयुद्धमा झन्डै ८५ लाख मानिस मारिएका थिए । प्रथम बिश्वयुद्धको समयमा नेपालका प्रधानमन्त्री चन्द्र शमशेर थिए । प्रथम विश्वयुद्धमा झन्डै १६ हजार ५४४ नेपालीले भाग लिएको थिए । प्रथम विश्वयुद्धबाट भएको क्षतिबाट सेलाउन नपाउँदै विश्वले अर्को भयानक संकटको सामना गर्नु परेको थियो । त्यो संकट थियो महामरी ‘फ्लु’ को प्रकोप । स्पेनिश फ्लु’ नामले चिनिएको त्यो महामारी सैन्य प्रशिक्षण शिविरबाट सुरु भएको थियो । खासगरी फ्रान्सको सीमा नजिकै फोहोरबाट यो संक्रमण सुरु भयो र तीव्र रुपमा फैलियो । युद्ध नोभेम्बर १९१८ मा समाप्त भयो तर युद्ध समाप्त भएसँगै युद्ध मोर्चाबाट फिर्ता भएका सैनिकहरुसँगै स्पेनिश फ्लु’ अन्य क्षेत्रमा फैलिन थाल्यो । स्पेनिश फ्लुबाट त्यतिबेला पाँच देखि १० करोड मानिसको मृत्यु भएको अनुमान छ । त्यसपछि पनि विश्वमा यस्ता कयौँ महामारी फैलिए । तर स्पेनिश फ्लुको तुलनामा घातक र व्यापक महामारी अरु देखिएन । स्पेनिश फ्लु फैलिएको समयमा हवाई यात्राको सुरुवात मात्र भएको थियो । त्यसैले पनि त्यतिबेला धेरै मुलुकमा स्पेनिश फ्लुको प्रकोपबाट जोगिन सफल भएका थिए ।
स्पेनिश फ्लु त्यतिबेला रेल र पानी जहाज तथा डुंगाबाट यात्रा गर्ने मानिसहरुका माध्यमबाट संक्रमण हुने गरेको थियो । कयौँ ठाउँमा स्पेनिश फ्लुको संक्रमण पुग्न कयौँ महिना र वर्ष समेत लागेको थियो । यसको मुख्य कारण भनेको त्यतिबेला हवाई यात्राको सुविधा अहिलेजस्तो नहुनु र संक्रमित क्षेत्रका मानिसलाई अन्य क्षेत्रमा पुग्न नदिन अपनाइएका केही आधारभूत तरिका नै थियो । स्पेनिश फ्लुले आतक मच्चाइरहेको समयमा अलास्काको ब्रिस्टल बे क्षेत्रमा यो संक्रमण पुग्न सकेन । किनकि त्यहाँ समयमै विद्यालय बन्द गरियो, सार्वजनिक स्थानमा भीड जम्मा हुन रोक लगाइयो र मुख्य सडकबाट गाउँ जाने बाटो बन्द गरियो । दोस्रो विश्वयुद्ध १९३९ देखि १९४५ सम्म चलेको विश्वको युद्ध थियो । लगभग ७० देशहरुका जल, थल, वायु सेनाहरु यस युद्धमा सम्मलित थिए । यस युद्धमा विश्व दुई भागमा बाँडिएको थियो, मित्र राष्ट्र र धुरी राष्ट्र । यस युद्धमा लगभग ६ करोड मानिसहरुको मृत्यु भयो । यो मानव इतिहासको अहिले सम्मको सबैभन्दा घातक युद्ध मानिन्छ ।


सन् १९८१ देखि हालसम्म रहदै आएको अर्को महामारी एचाइभी÷एड्स हो  । एचाइभी एड्स कारण हालसम्म संसारभरि दुई करोड ५० लाखदेखि तीन करोड ५० लाख मानिसको मृत्यु भइसकेको छ । सन् २००४ मा एचआइभीका कारण विश्वभर १७ लाख मानिसको मृत्यु भएको थियो । अहिले तीन करोड ८० लाख मानिस यो रोगबाट संक्रमित छन् भन्ने अनुमान छ । तीमध्ये तीन करोड ६३ लाख वयस्क र १७ लाख बालबालिका रहेको अनुमान छ । सन् २०१८ मा मात्रै १७ लाख मानिस एचआइभी संक्रमित बनेका थिए । संक्रमितमध्ये करिब ७९ प्रतिशतलाई आफूलाई रोग लागेको थाहा थियो भने बाँकी रोगबारे अनभिज्ञ रहेका थिए । एचआइभी एड्स संसारको सबैभन्दा गम्भीर स्वास्थ्यका लागि चुनौतीका रुपमा लिइएको छ । यो संक्रमण पहिलोपटक चिम्पान्जीबाट मानिसमा सरेको अनुमान गरिन्छ । पछि मानिसबाट मानिसमा सर्न थालेकाले यसले महामारीको रुप लियो । यो असुरक्षित यौनसम्पर्क तथा रगतका माध्यमबाट सर्ने गर्दछ ।


बिश्वको इतिहासमा सबैभन्दा विनाशकारी महामारी यर्सिनिया पेस्टिस मानिन्छ । यो घातक संक्रमण महामारी प्लेग हो । सन् ५४१ मा बाइजान्टाइन साम्राज्यमा र सन् १३४७ मा इटालीबाट सुरु भएको ब्ल्याक डेथ मात्र होइन सन् १६६५ मा लन्डनमा देखिएको प्लेग अफ लन्डन पनि यही ब्याक्टेरियाका कारण भएको थियो । पहिलो पटक यो प्लेग सन् ५४१ मा रोमको बाइजान्टाइन साम्राज्यको राजधानी कन्स्टान्टिनोपलमा देखा प¥यो । एक वर्षसम्म विश्वभरि महामारी भएको यो प्लेग सन् ७५० सम्म पनि वेला वेलामा देखा प¥यो ।


प्लेगले कन्स्टान्टिनोपलका सबै मानिसलाई सखाप बनायो र डढेलोजस्तै युरोप, एसिया, उत्तरी अफ्रिका र अरेबिया क्षेत्रमा फैलियो । प्लेगले संसारभरिमा तीनदेखि पाँच करोड मानिसको ज्यान लिएको थियो । जुन सम्भवतः त्यसवेलाको विश्व जनसंख्याको आधा थियो । कतिपय इतिहासकारले भने यसका कारण १० करोड मानिसको मृत्यु भएको अनुमान गरेका छन । यो प्लेग कसरी अन्त्य भयो भन्ने विषयमा कसैलाई पनि जानकारी छैन । जो बाँचे ती भाग्यले बाँचे, जसको रोग प्रतिरोधात्मक क्षमता बलियो थियो, तिनै मात्रै बाँचे ।


चिनीया पुरातत्वशास्त्रले चीनको एक प्राग ऐतिहासिक गाउँलाई ५ हजार वर्षपहिले महामारीले पूर्ण विनाश गरेको अवशेष फेला पारेको छ । पुरातत्वविदहरुले ५ हजार वर्ष पुरानो एउटा घरभित्र थुप्रिएर रहेको लाशहरुको जीवावशेष फेला पारेका हुन् । उनीहरुले त्यस लाशको थुप्रोमा कुनै पनि उमेर समूह नछुटेको पाए । त्यहाँ बच्चा, किशोरकिशोरी, युवा, पाका तथा बृद्धबृद्धाहरुका लाशहरु एकसाथ रहेका थिए । हमिन मंघ को नामले परिचित त्यस पुरातात्विक स्थल उत्तरीपूर्व चीनमा अवस्थित छ । पुरातात्विक तथा मानवशास्त्रीय अध्ययनले के देखाएका छन् भने प्राग ऐतिहासिक कालमा त्यस गाउँमा महामारी यति छिटो र अचानक फैलियो, जसलाई त्यतिखेरका मानिसहरुले मरेका मानिसहरुको सदगदसमेत गर्न भ्याएनन् । त्यसैले सामुहिक रुपमा एकसाथ प्रकोपबाट मरेका मानिसहरुलाई उपयुक्त रुपले जमिनमा गाडनुको सट्टा बाँचेका मानिसहरुले मरेकाहरुलाई आगो लगाएर त्यतिकै हिँडेको पाएका छन् ।


बिश्व अहिले कोरोनाको भयले आक्रान्त छ । संसारभर दिनहुँ हजारौँ मान्छेको ज्यान गइरहेको छ । मानवको लागि मृत्यु आफैमा एउटा पीडादायी क्षण हो र महामारीमा हुने मृत्युले मानिसलाई अझै पीडा दिन्छ । तर, संसारले यस्तो महामारी सामना गरेको यो पहिलोपटक भने होइन । मानव सभ्यताले यसभन्दा अत्यन्तै ठूला र दर्दनाक महामारीको सामना गरिसकेको छ । विश्वमा कैयौँ त्यस्ता महामारी भए होलान तर केही महामारी इतिहासमा अभिलिखित छन । अहिले इतिहास पढदा समेत आतंकित बन्दछौ । त्यस्ता महामारी त्यसवेलाका मानवले कसरी सामना गरे होलान कल्पना पनि गर्न सक्दैनौँ ।


नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो चरण सुरु भएको छ । विदेशबाट आएका व्यक्तिमा मात्र सीमित संक्रमण पहिलो चरण हो । ती व्यक्तिले आफ्नो परिवारमा संक्रमण गराएपछि दोस्रो चरण सुरु हुन्छ । अनि समुदायबाट समुदायमा संक्रमण तेस्रो चरण हो भने महामारीको अवस्था चौथो चरण । अहिले कोरोना भाइरसकै कारण देश लकडाउन भएको छ । लकडाउनका नियम पुर्ण पालना गर्नुनै कोरोना भाइरसको महामारीबाट जोगिने पहिलो उपाय हो ।

Comments
Loading...