कोरोना भाईरसको महामारीपछि सहकारी क्षेत्रका चुनौती र अवसर

0 268

राजु रेग्मी
विश्व जगतलाई नै हल्लाउने गरी बेलाबेलामा आउने बिभिन्न प्रकारका रोगहरुका प्रकोप तथा माहामारी अन्र्तगत हाम्रो पुस्ताले कोभिड १९ अर्थात कोरोना भाईरसको माहामारीलाई खेप्नु परेको छ । बिश्व जगतमा सन् १५२० को समयतिर बिफर स्मलपक्न बाट करिव ५ कारोड भन्दा धेरैको मृत्यु भएको थियो ।

त्यस्तै १९१८ देखी १९१९ को तिर स्पेनस्श फ्लु त्यस पश्चात स्वाईन फ्लू र ईवोला जस्ता माहामारीको असर परिसकेपछी हाल आएर (सन २०१९ को अन्त्य तिर) चिनको हुवान प्रान्तको बुहान सहरबाट कोभिड १९ अर्थात कोरोना भाईरसकोे उत्पत्ती र नामाकरण संगै यो माहामारीको रुपमा अगाडी बढ्यो । यो भाईरस सुरु भएको ५।६ महिनाको बिचमा बिश्वभरबाट करिव ६७ लाख मानिस संक्रमित हुनुका साथै ३ लाख ९० हजार भन्दा बढिको ज्यान लिईसकेको छ । नेपालमा पनि यसको असर बढ्दो क्रममा रहेको यो भाईरस एक मानिसबाट अर्को मानिसमा सजिलै सर्ने र यसको औषधी अझै पत्ता नलागेको कारणले यसले पार्ने असरको अझै भयाबह हुने कुरामा कुनै दुई मत छैन । नेपालमा बिभिन्न समयमा हुने राजनैतिक परिवर्तन , ७२ सालमा आएको बिनासकारी भुकम्प बाट ओईलिएको देशको अर्थतन्त्रको पालुवा फेरिने अवस्थामा कोरोना भाईरसले नराम्रो संग थिचेको छ । बिश्वका अधिकांश देश लगायत नेपाल पनि यतिबेला बन्दाबन्दी (लकडाउन) को अवस्थामा छ । नेपालमा लकडाउन भएको पनि ७५ दिन नाघिसकेको छ । यो अझै कति समय लम्बिन्छ भन्ने कुरा यसै आंकलन गर्न सकिने अवस्था छैन । यस बिषम परिस्थितीमा देशका अत्याबश्यक बाहेकका सबै उधोगधन्दा, कलकारखाना, शैक्षिक क्षेत्र, पर्यटन क्षेत्र, ब्यापार ब्यबसाय, सार्ववनिक यातायात जस्ता अधिकांश क्षेत्रहरु ठप्प छन् । यस संगसंगै बित्तिय कारोवार गर्ने बैङ्क तथा सहकारी क्षेत्रमा पनि यसको असर बढ्दो छ । अरुवेला सदस्यहरुको घरदैलोमा नै पुगेर सेवा प्रदान गर्ने सहकारीको सेवा यतिवेला साघुरिएको छ । यस माहामारी नियन्त्रणका तथा रोकथामका लागी अत्याबश्क सेवा मात्र संचालन गर्ने घोषणा संगै केही सहकारीहरु लामो समयसम्म बन्द छन् भने केहीले छोटो समयमात्र कार्यालय संचालन गरेर सेवा प्रदान गरिरहेका छन् । एक अध्यनका अनुसार सन् १९९० पछिको सबैभन्दा बढी गरिबी कोरोना संक्रमण पछि देखिनेछ । यसको शिकार असंगठित मजदुर, दैनिक ज्यालादारी, अस्थायी कामदार, बैदेशिक रोजगार जस्ता क्षेत्रमा देखिनेछ । भने यसको असर प्रत्यक्ष रुपमा सहकारी क्षेत्रमा पनि पर्ने छ । यस बिषम परिस्थिति बाट सहकारी क्षेत्रले सामना गनुपर्ने बिभिन्न प्रकारका चुनैती र त्यस चुनैतीसंगै आउने अवसरहरु निम्नानुसार रहेका छन् ।
चुनौतीहरु
– तरलता समस्या यस बिषम परिस्थितीको सामना पछि अवस्था जब सामान्य तर्फ फर्कदै जान्छ त्यसपछी संस्थाबाट सदस्यहरुको बचतमा रहेको रकम अत्याधिक निस्कने र कर्जाको समेत माग बढ्ने हुदां तरलता संकट आउन सक्छ त्यसतर्फ सचेत भई भोलीका दिनमा तरलता संकट आउन नदिन संस्थाले बेलैमा त्यस दिनको परिकल्पना गरी योजना बनाउनु पर्ने हुन्छ ।


– खराव ऋणको मात्रा बढ्नु यस अवस्थामा कतिपय सदस्यहरुको जागिर गुमेको छ भने अधिकांश ब्यापार, ब्यवसायहरु ठप्प छन् । कतिपयलाई दैनिक उपभोग्य सामाग्री खरिदको लागी समेत अप्ठ्यारो परिस्थिती छ भने संस्थामा सदस्यहरुले भुत्तान गनुपर्ने किस्ता, ब्याज बढ्दै गईरहेको अबस्था छ । तसर्थ अवस्था सामान्य हुने बित्तिकै सदस्यहरुले संस्थामा भुत्तान गर्न सक्ने स्थिती नहुदां भाखा नाघेको (खराव ऋण) ऋण को मात्रा बढ्दै जाने सम्भाबना हुन्छ ।


– संस्था धरासायी हुने खतरा संस्थाबाट लगानी गरिएको ऋणको किस्ता, ब्याज समयमै उठ्न नसक्नु, सदस्यहरुले आफ्नो बचत तथा शेयर र्फिता गर्ने प्रक्रिया बढ्नु, नया लगानीका लागी तरलता नहुनु, भाखा नाघेको ऋणको जोखिमको सामना गर्न संस्था सक्षम नहुनु जस्ता कारणले गर्दा भोलीका दिनमा संस्था धरासायी भई डुब्ने खतरा रहन्छ ।

– सदस्यहरुको मानसिक तनाब र स्वास्थ्य समस्या सदस्यहरुले संस्थाबाट कर्जा लिएको खण्डमा अब ब्यवसाय टाट पल्टियो, आम्दानीको स्रोत गुम्यो, तिर्न सक्ने अवस्था छैन्, यही बेलामा भएको धितो पनि संस्थाले लिलाम गर्ने त हैन भन्ने मानसिक तनाब एकातिर हुन्छ भने अर्को तर्फ मानसिक तनाबले वा अवस्था सामान्य हुदै गएपछि वातावरणीय प्रदुषण तथा ब्यत्तिगत एवं पारिवारिक जिवनशैलीले सदस्यहरुको स्वास्थ्यमा पनि समस्या आउन सक्छ ।


-रोजगारीको समस्या हाम्रा अधिकांश सदस्यहरुको परिवारका ब्यक्तिहरु बैदेशिक रोजगारमा हुनुहुन्छ । यस्तो परिस्थितीमा कलकारखाना, होटल, उधोग, ब्यापार ब्याबसाय बन्द भएका छन् । बिदेशमा रहेका कतिपय नेपालीको रोजगारी गुमेको छ, कुनै त अवस्था सामान्य हुदै गएपछि पुनरोजगारी पाउछन होला तर कतिपय नेपाल फर्कनु बाहेकको केही बिकल्प छैन । भोलीका दिनमा बेरोजगारी समस्या बढ्दै जाने र देशमा आर्थिक मन्दि, भोकमरी, मुल्यबृद्धि जस्ता कारणले गर्दा समाजमा चोरी, डकैती, हत्या, हिंशा जस्ता आपराधिक गतिबिधिहरुको सिर्जना अत्याधिक बेरोजगारीले निम्त्याउने खतरा बढ्न जान्छ

यी लगायत सदस्यहरुको आम्दानीको स्रोतमा कमी आउनु संस्थाले अवलम्बन गरेको रणनिति अनुसार नियमित योजना र काममा अवरोध आउनु, लक्ष्य अनुरुपका उपलब्धि हासिल हुन नसक्नु, भुमी व्यवस्था तथा सहकारी मन्त्रालयले जारी गरेको सहकारी ऐन, नियमावलीमा दोहोरो सदस्यता लिन नपाउने भन्ने निर्देशनलाई समयमा नै कार्यान्वयन गरी सक्न नपाउनु जस्ता विभिन्न किसिमका चुनौती सामना गर्न पर्नेु हुन्छ र यस्ता चुनौती संगै केही अवसरहरु पनि प्राप्त हुने गर्दछन् जुन निम्नानुसार रहेका छन् ।
सदस्यहरुलाई वित्तिय साक्षरताको ज्ञान – भोलिका दिनहरुमा सदस्यलाई यस्तो प्रकारको माहामारी, प्रकोप, जुनसुकै बेला पनि आउन सक्छ त्यसैले समयमा नै बचत गर्नुपर्ने हुन्छ, तपाईहरुका व्यक्तिगत तथा पारिवारिक फजुल खर्चहरुमा कटौति गर्ने विलासी तथा मनोरञ्जनका साधनहरुमा मितब्यीयता अपनाउने, यस्तो अबस्था फेरी जुनसुकै बेला पनि आउन सक्छ त्यसको लागी तपाई सचेत रहनुपर्छ भन्ने खालका वित्तिय ज्ञान मार्फत सदस्यहरुलाई सुसूचित गराउन सकिन्छ ।


स्वरोजगार मार्फत आत्मनिर्भर बनाउने – सदस्यहरुलाई आत्मनिर्भर हुने खालका स्वरोजगार तालिम प्रदान गर्ने, परम्परागत तरिकाले सिन्की, मस्यौरा, गुन्दु्रक बनाउने मुला, करेला, टमाटर काटेर सुकाएर संचित गरी त्यसको लामो समय सम्म प्रयोग गर्ने तरिका सिकाउने, दुध डेरि बन्द भयो भने दुधलाई खेर नफाली त्यसका तत्कालै नबिग्रने खालका परिकार बनाउन सिकाउने, सदस्यलाई घरभित्र नै संचालन गर्न सकिने लघु उधोगका सिप सिकाउने, आफूलाई आवश्यक पर्ने खाद्य वस्तु सम्भव हुदा सम्म आफै खेत, बारी, कौशीमा अर्गानिक तरिकाले उत्पादन गर्ने, एउटा मात्र आम्दानीको स्रोतमा भर नपरि वैकल्पीक आम्दानीको स्रोतको पहिचान गरी निरन्तरता दिने खालका कार्य संचालन गर्न सकियो भने सदस्य स्वरोजगार मार्फत आत्मनिर्भर बन्न सक्नेछन् ।


आधुनिक सुचना प्रविधिको प्रयोग – यस विषम परिस्थिले सहकारीहरु लाई अब आधुनिक सुचना प्रविधिहरुको भरपुर प्रगोग गरी प्रविधि मैत्री बन्नुपर्ने पाठ पनि सिकाएको छ । जस्तो कि सहकारी संस्थाले मोबाइल एप्स, एस.एम.एस, बैकिङ, एटिएम मेसिन, त्तच् कोड जस्ता प्रविधिको प्रयोग गरी नगद रहित कारोवारको सुरक्षित तरिकाले प्रयोग गर्नु पर्ने अवधारणाको विकास गर्नुपर्ने देखिन्छ । यसले गर्दा सदस्यहरु कार्यालयमा गई समय खर्चेर गर्नुपर्ने कारोवार घरमै बसी मोवाइलबाट गर्न सक्नेछन् र संस्थाका हरेक किसिमका सुचनाहरु त्यसैबाट जानकारी लिन सक्दछन् । भने अर्को तर्फ भर्चुअल तालिम तथा बैठकहरु पनि संचालन गर्न सकिन्छ ।


संस्थाको ख्यातिमा बृद्धि – यस विषम परिस्थितिमा संस्थाले आफ्ना सदस्यहरुको आवश्यकतालाई मध्यनजर गदैं सुरक्षित तरिकाले कार्यालय संचालन गर्ने, सदस्यहरुको कर्जाको ब्याजमा केही हद सम्म छुट, ग्रेस समय प्रदान, आकश्मिक कर्जा सदस्यहरुको माहामारी बिमा गरिदिने जस्ता कार्यक्रम संचालन गर्नु पर्ने हुन्छ । त्यस्तै सदस्यहरुसंग को भौतिक दुरी कायम राखेरै भए पनि मानसिक दुरी नराखी नियमित फोन सम्पर्कमा रहेर उहांको स्वास्थ्य स्थिति, हालखबर जस्ता कुराहरु सोध्ने, केही असहज परिस्थिती परेमा हामीलाई सम्पर्क गर्नुस है भन्ने, यसो गर्नाले सदस्यहरुले यस्तो अवस्था पनि संस्थाले हामीलाई सम्झ्यो हाम्रो ख्याल राख्यो भन्ने महशुष सदस्यलाई दिलाउन सकियो भने संस्था प्रति सदस्यहरुको अपनत्व महशुष भई संस्थाको ख्यातिमा बृद्धि हुन जांदा संस्था जिबन्त रहन महत्वपूर्ण भुमिका खेल्दछ ।


भविष्यको योजना निर्माणमा सहयोग – अब उप्रान्त संस्थाले योजना निर्माण गर्दा आजको यस विषम परिस्थिति जस्तो अवस्था भोलि पनि आउन सक्छ त्यसका लागि सदस्यहरुलाई कस्ता खालका कार्यक्रम संचालन गर्दा राहत महशुष हुन्छ भन्ने योजना बनाउने, आकस्मिक बचतका कार्यक्रम संचालन गर्ने, ऐन मा भएको जोखिम व्यवस्थापन कोषबाट विमाले समेट्न नसक्ने खालका राहतका कार्यक्रममा जोड दिने, आ.व. को अन्त्यमा नाफाबाट विपत व्यवस्थापक कोषमा केही रकम छुट्याउने र उक्त कोषको रकमले सदस्यलाई राहतउपलब्ध गराउने जस्ता कुराहरुको भविष्यमा योजना निर्माणमा सहयोग पुग्दछ ।
यी लगाएत बैदेशिक रोजगारबाट फर्केका नेपालीहरुलाई उनीहरुले त्यहां सिकेको ज्ञान, सिप , क्षमता लाई यहां नै प्रयोग गरी देशलाई कृषि उत्पादन तथा औधोगीक क्षेत्रमा आत्मनिर्भर बनाउन सहयोगी भुमिका खेल्दछ, साना साना सहकारीहरुलाई एकिकरण गरी ठुलो संस्थाबाट सदस्यहरुका उत्पादन र सेवा तथा अन्य सम्पूर्ण बित्तिय आबश्यकता पुरा गर्ने तर्फ जोड दिई सहकारी एकिकरण अभियानमा लाग्ने जस्ता सबल पक्षहरु रहेका छन् ।

र अन्त्यमा हरेक किसिमका चुनौतीहरुका पछाडी केही न केही सम्भावना र अवसरहरु हुने गर्दछन् । त्यसरी नै कोरोना भाईरस माहामारी पछी माथी उल्लेखीत चुनौतीहरुको सामना गर्दै त्यसबाट प्राप्त हुने अवसरहरुलाई उचित तरिकाले मनन गरी कार्यान्वयन गर्न सकेको खण्डमा राज्यको तेश्रो खम्वाको रुपमा रहेको सहकारीको माध्यमबाट देशको अर्थतन्त्रमा ठुलो टेवा पुग्ने देखिन्छ ।
देवदह , रुपन्देही

Comments
Loading...