कोरोना महामारीले जन्माएका मुक्तकहरू
मुक्तक -१
पृथ्वीलाई मुट्ठीभित्र अटाएर देखाई दियो
संसारमा एकै साथ खटाएर देखाई दियो
पैसाले सबथोक गर्छ भन्नेहरुलाई आज
कोरोनाले ढुङ्गा,माटो चटाएर देखाई दियो!
– टि.आर.शर्मा’अथकमनु’
सल्यान
मुक्तक -२
लकडाउनको नियम कानुन सबैले मान्नुपर्छ
उल्लंघन गर्नु हुदै हुदैन भन्ने कुरा जान्नुपर्छ
यस्तो बेला सचेत नागरिक भएर सरकारको
अादेश नमान्ने जो कोही अपराधी ठान्नुपर्छ ।
– रिजन रावल सागर
कैलाली-अत्तरिया
मुक्तक -३
आपत पर्दा आफ्नै देशमा जान नपाउनु
रातमा निद्रा भोकमा केही खान नपाउनु
यस्तो संकट खै कसरी पार लाग्ला आज
के रोग लाग्यो आफ्नो सन्तान लान नपाउनु ।
– शारदा पौडेल निशा
चितवन हाल : स्पेन
मुक्तक -४
होस हवास उडाउने, सम्चारहरू सुनिएकोछ
कति जीवन कोरोनाको, सन्त्रासमा उनिएकोछ
“बचौं बचाअौं !” भन्नुपर्छ, अनुशासित बन्नुपर्छ
घरै नजरबन्दी छ ज्यान, थुनिनुसम्म थुनिएकोछ ।
-गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
मुक्तक -५
जिस्किँदै बस्ने होइन,संकट के हो गम्नुपर्छ?
एकान्तमा रहँदा पनि, खुशी भई रम्नुपर्छ
कोही यता कोही उता बटारिने होइन अब
साझा शत्रु नाश गर्न,एकता भई जम्नुपर्छ ।
– कृष्ण थापा
रिब्दिकोट -३, पाल्पा ।