खुल्ला व्याडमिन्टनको उपाधि रामेश्वर र जीवनलाई

0 22

(रामपुर) पाल्पा । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भोजराज पाण्डेयको स्वर्गीय बुवा दिनानाथ पाण्डेयको ३१ औं पुण्यतिथि पारेर ईलाका प्रहरी कार्यालय रामपुरको खेल मैदानमा आयोजित खुल्ला व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

नगर खेलकुद विकास समिति रामपुरको आयोजनामा ईलाका प्रहरी कार्यालय रामपुरको परिसरमा रहेको खेल मैदानमा संचालित प्रतियोगितामा गुल्मी, पाल्पा, स्याङजा, नवलपरासी र रुपन्देहीका गरि कुल ४४ टिमको सहभागिता रहेको थियो । उक्त प्रतियोगिताको फाइनलमा पाल्पा लघुवाका रामेश्वर नेपाल र जीवन थापाको जोडीले आयोजक रामपुर नगरपालिकाको भोजराज पाण्डेय र शंकर बहादुर खांडको जोडीलाई २–० सेटले पराजित गरि नगद रु १५ हजार कप र प्रमाण पत्र सहित प्रथम पुरस्कार जित्न सफल भए ।

खेलको समापन पश्चात नगर खेलकुद बिकास समितिका अध्यक्ष शंकर बहादुर खांडको अध्यक्षतामा सुरु भएको पुरस्कार बितरण कार्यक्रममा प्रमुख अतिथि ईलाका प्रहरी कार्यालयका प्र.नि. भोजराज पाण्डेयले बिजयी टिमहरुलाई पुरस्कार बितरण पश्चात मन्तव्यको क्रममा समाजमा शान्ति सुव्यबस्था कायम राख्ने कार्यको महत्वपूर्ण कडीको रुपमा रहेको नागरिक सम्वन्धलाई प्रभावकारी बनाउन यस प्रकारका खेलले प्रमुख भूमिका निर्वाह गर्ने हुंदा आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने बताए ।

कार्यक्रमका सभापति तथा रामपुर नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर बहादुर खाँणले राष्ट्र सेवाको अलावा खेल क्षेत्रमा समेत अतुलनीय योगदान पुर्याउने प्रहरी निरीक्षक भोजराज पाण्डेयलाई दोसल्ला ओढाई सम्मान गरे । उनले उक्त प्रतियोगितामा रामपुरकै भानु शाही र तानसेनको सागर महर्जनको जोडीले तेश्रो स्थान प्राप्त गरेका थिए भने पुर्वखोलाका विकाश न्यौपानेले उत्कृष्ट खेलाडीको पुरस्कार जित्न सफल भएका थिए । कार्यक्रमको संञ्चालन नगर खेलकुद विकास समितिका सचिव दुर्गेश मल्लले गरेका थिए ।

Comments
Loading...