खेलाँचीले मरिन्छ, सावधानीले बाँचिन्छ

0 38

गोपालप्रसाद वश्याल
अहिले विश्वभर कोरोना भाइरसको महामारी फैलिएको छ । चैत्र २५ गतेसम्म १२ लाखभन्दा धेरै मानिसहरू संक्रमित भैसकेका र करिव ६५ हजार मानिसहरूको ज्यान गैसकेको छ । छ महिना अगाडि चीनको हुवेइबाट शुरू भएको यो रोगको विस्तार युरोपीयन देशहरूमा भयो । चीनमा रोग नियन्त्रणमा आउन थाल्यो । तर इटलीमा रोग महामारीका रूपमा फैलियो । हजारौंं मानिसहरू प्रभावित भए । ज्यान गुमाइसके । त्यसपछि भाइरस अन्य युरोपीय देशहरू स्पेन, बेलायत, फ्रान्स र अमेरिका, अष्ट्रेलिया लगायत विश्वका १९५ देशहरूमा फैलिइसकेको छ । नेपालमा पनि कोरोना भाइरस संक्रमणका कारण मानिसहरू बिरामी परिरहेका छन् । विश्व स्वास्थ्य संगठनले नेपालमा पनि यो भाइरसको प्रभाव दोस्रो चरणमा प्रवेश गरेको बताएको छ । अर्थात् एउटा संक्रमित वा रोगी मानिसले अर्को स्वस्थ मानिसलाई भाइरस सारेर रोग फैलाउने अवस्थामा नेपाल पुगिसकेको छ । शनिवार कैलालीमा एउटा संक्रमित ब्यक्तिबाट उस्को परीवारको सदस्यमा संक्रमण भैसकेको छ । अब छिट्टै त्यो संक्रमित ब्यक्तिको सम्पर्कमा रहेका अन्य ब्यक्तिहरूमा समेत भाइरस संक्रमण देखा पर्नेछ । यसरी एउटाले अर्कोलाई, उसले अर्कोलाई रोग सार्ने भएकाले महामारीको रूप लिन सम्भव हुन्छ । नेपाल अहिलेसम्म महामारीको अवस्थामा नदेखिएको भए तापनि अब छिट्टै त्यो दुर्दसा आउने सम्भावना छ ।


कुनैपनि बेला कोरोनाभाइरस हाम्रो परीवार, छिमेकि र वडावडासम्म देखापर्न सक्छ । वास्तवमा यो भाइरस संक्रमण भएको करिव दुई हप्तासम्म पनि बिरामी पर्ने लक्षण नदेखिने भएकाले हाम्रा परीवारका सदस्य वा छिमेकि साथीभाइ वा इष्टमित्रमा भाइरस संक्रमण भएको थाहा पाउन सकिदैन । जुनबेला रोग लागेको लक्षण देखापर्छ, त्यसबेलासम्म धेरै जनालाई सरिसकेको हुन्छ । खासगरी नजिकमा रहेका व्यक्तिलाई नै सर्दछ । नेपालमा रोग लागिसकेपछि उपचार असाध्यै कठीन छ । यो रोगका विरामीलाई छुट्टै राखेर उपचार गर्नुपर्ने हुन्छ । यसका लागि स्वास्थ्यकर्मी अर्थात् डाक्टर, नर्सहरूको सुरक्षाका लागि आवश्यक सामग्री (पिपिइ), भाइरस परीक्षण गर्ने ल्याब, विरामीका लागि अक्सिजन सिलिण्डर, मेकानिकल भेण्टिलेटर र अन्य उपकरणसहितको आइ. सि. यु. र उपचारका लागि दक्ष चिकित्सकको आवश्यकता पर्दछ । तर नेपालमा अति न्यून संख्यामा यी यन्त्र र चिकित्सक उपलव्ध छन् । तसर्थ रोगले महामारीको रूप लियो भने उपचारको उचित ब्यवस्था हुन सक्दैन । छट्पटाएर मर्नुपर्ने बाध्यता छ । अहिले नै निजी अस्पतालले विरामी जाँच्न बन्द गरेका थिए । सरकारको दवावपछि अस्पताल खोलेका छन् । तर ज्वरोका विरामीलाई एम्बुलेन्सबाट फर्काउने जस्तो घटना पाल्पामै भए । बुटवलमा ज्वरो आएको तर कोरोना नेगेटिभ देखिएको विरामीको मृत्यु भयो । मृत्यु भएको हप्ता दिन बितिसक्यो तर लास उठेको छैन । यी अवस्थालाई विश्लेषण गर्ने हो भने केही निष्कर्ष निकाल्न सकिन्छ । कोरोना भाइरस एउटा व्यक्तिदेखि अर्को व्यक्तिमा सर्दछ र महामारीको रूप लिन्छ । नेपालमा कोभिड–१९ रोग लागेपछि उपचार दुर्लभ छ । अमेरिकाजस्ता देशहरूमा समेत उपचारमा समस्या परिरहेको छ । खासगरी भेन्टिलेटरको अभाव बताएका छन् । चीनबाट फ्रान्सका लागि पठाएको सामग्री अमेरिकाले किनिदियो भन्ने चर्चा छ । नेपालले यसरी महंगो उपचारका लागि कति लगानी गर्न सक्ला ? त्यसमाथि अनियमितताको जालोले घेरिएको अवस्था छ ।


के यो कोरोनाभाइरसबाट महामारी फैलने र सबै मानिसहरू मर्ने नै हो त ? यसको निधो मानिसहरूको व्यवहारबाट हुन्छ । चीन जहाँ यो महामारी शुरू भयो त्यहाँ अहिले नियन्त्रण भएको छ । तर युरोप, अमेरिका लगायत ठाउँमा फैलिएको महामारीको कारण तयहाँका सरकार र मानिसहरूको लापरवाही हो भन्ने सबैले मानेका छन् । शुरूमा चीनमा रोग लागेको छ, हामीलाई केही हुदैन भन्ने ठाने र कुनैपनि सतर्कता अपनाइएन । चीनले भने मानिसहरूको आवतजावतमा रोक लगायो र ब्यापक रूपमा स्वास्थ्य परीक्षण ग¥यो । रातारात अस्पताल बनायो । औषधि उपकरण बनायो । चीन यसरी कोरोनाभाइरससँग एक्लै लड्यो । अरूले रमिता हेरेर बसे । भनिन्छ रोम जलिरहँदा राजा नीरो नाच्दैगाउँदै बसिरहेका थिए रे । अर्थात् राजा नीरोलाई लापरवाहीको उपमाका रूपमा चिनिन्छ भने अहिले त्यही इतिहास इटलीमा मात्र होइन विश्वभरि दोहोरियो । अहिले नेपालमै पनि क्वारेन्टाइनमा बसेकाभन्दा घरमा बसेका र लापरवाहीपुर्वक हिंडडुल गरेकाहरूमा संक्रमण देखिएको छ । यीनीहरू भाइरस ओसारपसार गर्न सहयोगी बनेका छन् । यीनैका कारण नेपालमा पनि महामारी फैलने सम्भावना छ ।
नेपालीहरू आफ्नो देशमा आउनु हुदैन भन्ने मेरो भनाइ होइन । सबैलाई परीवारसँगै रहनबस्न मन लाग्नु स्वाभाविक हो । तर स्थानीय सरकारहरूले क्वारेन्टाइन बनाएका छन् । दुईहप्ता एकान्तबासमा बसिदिएको भए मुर्गीयाका बाबुराम सायद मर्नुपर्ने थिएन कि ? गौरिफन्टामा उफ्रीउफ्री नारा जुलुस गरेका युवामा कोरोनाभाइरस पोजिटिभ देखिएको छ । ती युवाले संक्रमण गरेका थप मानिसहरू अब देखापर्ने छन् । धनगढीका अर्का पुरुषले परीवारका अर्को महिला सदस्यलाई रोग सारे छन् । यदि ती पुरुष क्वारेन्टाइनमा बसेको भए, अरू मानिसहरूसँग दुरी कायम गर्न सकेको भए आज अर्को व्यक्ति रोगी हुनु पर्ने थिएन । बागलुङमा विदेशबाट आएका व्यक्तिले सरकारको आग्रहलाई मानेर एकान्तबास बसेको भए अहिले देखिएका रोगी देखिने थिएनन् । पाल्पामै विदेशबाट आउनेको संख्या ठूलो छ । तर क्वारेन्टाइनमा मानिस बसेका छैनन् । घरमा परीवारसँग बस्ने, छिमेकमा साथीभाइसँग खेलेर बस्ने, खसीपाडा काटेर भोजभतेर गर्नेहरू धमाधम विरामी पर्न थालेका छन् । यी विदेशबाट आएका मानिसहरूको सम्पर्कमा भएका मानिसहरूसमेत शंकाका घेरामा परेका छन् । विदेशबाट आउनेहरू मात्र होइन पसल अगाडि गोलो घेरा लगाएको छ तर कोही पनि घेरामा बसेको छैन । यति मात्र होइन म घेरामा पालो पर्खेर बसें । मानिसहरू मलाई घुच्याउँदै पसलमा टाँसिएर, पसलभित्रै गएर सामान उठाउन थाले । पसलेले रोक्न खोज्दा पनि टेरेनन् । मैले पसलेलाई सामान राख्न पठाएँ । मन्दिर, विहार, चर्च, मस्जीदमा मानिसहरू जम्मा भैरहेका छन् । पाहुना बोलाएर पास्नी गरेका फोटोहरू पोस्ट गर्नेहरूलाई मेरो प्रश्न छ “तपाईं भात खुवाउनुहुदैछ कि कोरोनाभाइरस ?” राहत सामग्री वितरणको चाला देख्दा अनाज मात्र नभएर कोरोनाभाइरसको पोकोसमेत वितरण भैरहेको छ कि ? अर्थात् यसरी भिडभाड जम्मा गरेर उत्सवजस्तै राहत वितरण कार्यक्रम गर्नु जोखिम निम्त्यानु हो । कोरोनाभाइरस हाम्रै टोलछिमेकमा आइसकेको अवस्थामा यस्ता किनमेल, धार्मिक रितीरिवाज, कुलायन पुजा, बिहे, ब्रतबन्ध, पास्नी आदि गतिविधिका क्रममा समेत कोरोनाभाइरस ओसारपसार हुन्छ । यी क्रियाकलापमा नियन्त्रण हुनु आवश्यक छ । पुलिस आएर बिहे मण्डपमा लौरो बर्साउने वातावरण बनाउनु हुदैन ।


वास्तवमा कतिपय कमजोरीका वावजुद सरकारले लकडाउन गरिरहेको, हवाइ तथा स्थल मार्ग बन्द गरेको र फास्ट ट्रयाकबाट औषधिउपकरण खरिद र सरकारहरू लगायत विभिन्न संघसंस्थाबाट समेत कोरोनाभाइरसबाट जोगिन सकिने सन्देशहरूको प्रसारण लगायतका सकारात्मक पहल भैरहेका बेलामा नागरिकहरूको लापरवाहीका कारण महामारी फैलने डर छ । अहिलेसम्म कोभिड–१९ कै कारण मृत्यु भएको पुष्टि गरिएको छैन । यो पनि नेपालीहरूका लागि खुसीको कुरा हो । तर मानिसहरूको लापरवाहीका कारण राज्यको ध्यान संक्रमितहरू र विदेशबाट आएकाहरूको खोजीमा जानुपरेका कारण उपचारका लागि आवश्यक तयारीमा ढीलाई हुनसक्छ । रोगको गम्भिर असर आम मानिसहरूमा पर्ने भएकाले आफू, आफ्नो परीवार, छिमेकि, देशवासी र मानवजातिको रक्षाको लागि लापरवाही नगरौं । बाहिरबाट आउने, बाहिरबाट आउने ब्यक्तिसँग नजिक वा सम्पर्क गरेका ब्यक्तिहरूले समेत अन्यबाट दुरी बनाइराख्ने, एकान्तबास बस्ने, तुरुन्त स्वास्थ्य परीक्षण गर्ने र तीनपटकसम्म कोरोनाभाइरस नेगेटिभ रिपोर्ट नआएसम्म अन्य ब्यक्तिहरूसँग घुलमिल नगर्ने अवस्था आएको छ । यदि घरमै हुनुहुन्छ र बाहिरबाट आएका व्यक्तिसँग सम्पर्कमा हुनुहुन्न भने घरमै बसिरहनुस्, केही हुदैन । औषधि उपचार वा खाद्यपदार्थको अभाव भएमा स्थानीय जनप्रतिनिधिसँग सम्पर्क गरी उहाँहरूको रायसल्लाह अनुसार गर्नुहोस् । फरक पार्टीकै भए तापनि उहाँहरूको सल्लाह मान्नुहोस् । मनले मान्दैन भने रेडियो सुनेर सार्वजनिक सूचना अनुसार गर्नुहोस् । हामी सावधान बन्यौं भने महामारीले असर गर्ने छैन ।

Comments
Loading...