गिद्ध दिवसको अवसरमा रामपुरमा अन्तरक्रिया सम्पन्न

0 243

सृजना घिमिरे । (रामपुर) पाल्पा
चौथो अन्तर्राष्ट्रिय गिद्व संरक्षण सचेतना दिवसको अवसरमा रामपुरमा अन्तरक्रिया कार्यक्रम भएको छ । रामपुर नगरपालिका वडानमबर ८ मा सरोकारवाला निकायबिचमा गिद्व संरक्षण सम्बन्धि अन्तरक्रिया भएको हो । खैरेनी सामुदायिक वन उपभोक्ता समुहको आयोजना,नेपाल पंक्षि संघ काठमाडौंको सहयोगमा भएको कार्यक्रममा मुख्यपाहुना रामपुर आठका वडा सदस्य विष्णुमाया गैरे रहनुभएको हो ।

कार्यक्रममा मुख्यपाहुना वडा सदस्य गैरेले गिद्वको आहारको लागि मरेका पशुलाई खैरेनीसम्म पुर्याउने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । बिशिष्ट अतिथि नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष तथा सामुदायिक रेडियो रामपुरका स्टेसन प्रवन्ध सिर्जना घिमिरेले पाल्पाको अत्यन्तै सुन्दर स्थानका रूपमा परिचित खैरेनी वन गिद्वको बासस्थान भएको क्षेत्र समेत भएकोले गिद्वको आहार ब्यवस्थापन गरि यसको संरक्षण र पर्यटन विकासको गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा गंगा माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरनारायण अर्याल , खैरेनी सामुदायिक वन उपभोक्ता समुहका सल्लाहकार सदस्य एकराज अर्यालले लोपोन्मुख अवस्थामा रहेकोे गिद्वको संरक्षणमा खैरेनी सामुदायिक वनले पहल गरेको बताउनु भयो । कार्यक्रम खैरेनी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष छाँयाचन्द्र पंगेनिको अध्यक्षतामा भएको हो ।

कार्यक्रमको संचालनसङै दिपकमणि अर्यालले खैरेनी वन संरक्षण ,यसको पहिचान सम्बन्धि कविता तथा निबन्ध सुनाउनुभएको थियोे । कालीगण्डकी नदि दुईतिर बगेको र बिचमा जंगलले अत्यन्तै सुन्दर रहेको खैरेनी सामुदायिक वन जिल्लामै एक मात्र गिद्व पाइने स्थानका परिचित छ । अहिले पछिल्लो समय त्यसक्षेत्रमा करिब १ सय ५० को सङ्ख्यामा गिद्व रहेको समुहले जनाएको छ । खैरेनीमा डंगोर, हाडखोर,गोब्रे, र रानी गिद्व पाइने समुह अध्यक्ष पंगेनिले जानकारी दिनुभयो ।

Comments
Loading...