घेराबन्दी भएपछि प्रधानमन्त्रीले संसद बिघटन गर्नुपरेको होः ज्ञवाली

0 224

पाल्पा । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पार्टी भित्रका नेताहरुले नै प्रधानमन्त्रीलाई घेराबन्दी गरि काम गर्न नदिएपछि प्रधानमन्त्रीले संसद बिघटनाको निर्णय लिनु परेको बताएका छन् ।

तानसेनमा नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ज्ञवालीले प्रधानमन्त्री ओलीको नेतृत्वमा धेरै राम्रा कामका प्रयास भएपनि आफ्नै पार्टीबाट हात खुट्टा बाधेर अगाडि सर्न नदिने, उल्टै अबिश्वासको प्रस्ताव ल्याउने लगायतका काम हुन थालेपछि प्रधानमन्त्रीले बाध्य भएर यो निर्णय गर्नुपरेको उनले बताए ।

पार्टीका केही नेताहरू बैठक बसेर कुर्ची, सोफा, टेबल, टेबुलमा राखेका कपडा, तेरो मान कि मेरो मान भन्नेमै अल्झिएको उनले बताए । अध्यक्ष प्रचण्डले महाधिबेशनका लागि ३ महिना पनि कुर्न नसक्दा यो अवस्था आएको उनले बताए ।
कार्यक्रममा केपी शर्मा ओली सम्बद्ध पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेकपा ओली समूहका केन्द्रीय सदस्य धनेन्द्रराज घिमिरे, अर्का केन्द्रीय सदस्य झपेन्द्रबहादुर जिसी, प्रदेशसभा सदस्य युवराज खनाल, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु लगायतले आआफ्ना धारणा राखेका थिए । कार्यक्रम जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्यको अध्यक्षता, लक्ष्मीदेवी पाठकको स्वागत र रामजी पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।

तानसेन स्थित त्रिभुवन बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा नेता कार्यकर्ताहरु भरिभराउ भएका थिए । कार्यक्रमका लागि आएका सबै नेता कार्यकर्ता हलमा नअटाएपछि उनीहरुले क्याम्पसको ग्राउन्डमा बसेर नेताहरुको भाषण सुनेका थिए ।

Comments
Loading...