चिदीपानीको असल अभ्यास, काठका पोल बिस्थापनदेखि निःशुल्क पशु बिमासम्म

0 132

जनतासँग माथागढी
पाल्पा । माथागढी गाउँपालिका–१ चिदीपानीले वडाभित्र काठका पोल बिस्थापन अभियान चलाएको छ । गाउँ टोलमा पुग्ने क्रममा धेरै काठका पुराना पोलहरू कोल्टिएका र ढल्ने अवस्थामा रहेको तथा जोखिमपुर्ण अवस्थामा रहेको देखिएको र स्थानीय समुदायले समेत पहिलो प्राथमिकताका साथ काठका पोलहरु हटाउने अभियान सञ्चालन गर्न दिनुभएको सुझाव बमोजिम वडा कार्यालय लागिपरेको अध्यक्ष पन्थीले बताउनुभयो ।

कतिपय स्थानमा काठका पोल छेउमा स्टील पोल गाडेर राखिएको तर तार सिफ्ट नभएको र कतिपय स्थानमा पोल लगेर राखिएको तर गाड्ने र तार सार्ने काम नभएको अवस्थामा रहेकोले आफुहरू निर्वाचित भएर आएलगत्तै धेरै स्थानमा स्टिल पोलमा तार सार्ने काम भएको उहाँले बताउनुभयो ।

अव केही स्थानमा मात्रै काठका पोलहरु रहेकोमा ती पोलहरुलाई पनि केही समयमै बिस्थापन गर्ने अध्यक्ष पन्थीले बताउनुभयो । टोल टोलबाट काठका पोलहरुको अवस्थाबारे तथ्यांक संकलन गरि सोही बमोजिम कार्य गर्दै आएको उहाँले बताउनुभयो ।

पशुबिमा निःशुल्क
चिदीपानीले पालिकामै पहिलो पटक निःशुल्क पशु बिमा कार्यक्रम संचालनमा ल्याएको छ । हालै मात्र २ सय ८० जना किसानको गोठमा रहेका दुहुना तथा ब्याउने भैसीहरुको निःशुल्क बिमा गरिएको उहाँले बताउनुभयो । यही बिमा गर्दा पशुपालक किसानहरू समेत खुशी भएका छन् । अहिले अभियानको शुभारम्भको क्रममा २ सय ८० जना किसानका भैसीको बिमा गरिएको र आगामी बर्ष थप गर्दै लगिने उहाले बताउनुभयो ।

कृषि तथा पशुपालनलाई प्रमुख प्राथमिकता
वडाले यस वर्ष देखि नै स्वरोजगार मुलक कार्यक्रमहरुलाई प्रमुख प्राथमिकता दिने अध्यक्ष पन्थीले बताउनुभयो । यस वर्ष वर्षात्को समयमा बितरणमुखी भन्दा पनि आवश्यकताका आधारमा टोल अनुसार सम्भाब्यता अध्ययन गरि बिभिन्न फलफुलको पकेट क्षेत्र बनाउने गरि फलफुलका बिरुवा गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

यो बर्ष डिभिजन बन कार्यालय, माथागढी गाउँपालिकासँग सहकार्य गरि लप्सी, तेजपत्ता, सुन्तला, कागती र टिमुरका बिरुवाहरु किसानहरुको माग तथा सम्भाब्यता अध्ययनको आधारमा बितरण गरिने र किसानलाई त्यसबापत मल र खाँडल खनेको रकम समेत उपलब्ध गराइने उहाँले बताउनुभयो । चिदीपानी कृषि उत्पादनका हिसावले राम्रो सम्भावना रहेको वडाको रुपमा समेत रहेकोले कृषि क्षेत्रको प्रवर्धनमा वडा लागिपर्ने पन्थीले बताउनुभयो ।

चिदीपानीको शिक्षा, स्वास्थ्य, पर्यटन कृषि र बिकास योजनाहरुको दीर्घकालिन योजना बनाई अगाडि बढाइने अध्यक्ष पन्थीले बताउनुभयो । राजनीतिक दल, नागरिक समाज, कर्मचारी, पत्रकार, स्थानीय नागरिकहरु सबैको सुझाव सल्लाह बमोजिम वडाका योजनाहरुलाई प्रभावकारी रुपमा अगाडि बढाइने उहाँले बताउनुभयो । वडा कार्यालयबाट हुने सेवालाई थप प्रभावकारी बनाउदै लगिने अध्यक्ष पन्थीले बताउनुभयो ।

Comments
Loading...