छैन स्वास्थ्य सुरक्षा मापदण्डः खोप केन्द्र देखि अस्पतालसम्म भिडैभिड

0 359

पाल्पा । पाल्पामा खोप केन्द्रमा समेत स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरिएको छैन । अधिकांश खोप केन्द्रहरुमा भिडभाड हुने गरेका छन् । स्थानीय तहरुले एकै पटक मानिसहरुलाई खोपका लागि एकै ठाउँमा बोलाउँदा कोभिड जोखिम बढेको छ ।

अस्पतालमा रेफर लिनेको उस्तै भिड
पाल्पामा निषेधाज्ञा जारी नै छ । स्थानीय प्रशासनले अत्यावश्यक काम बाहेक भिडभाड नगर्न र हिडड्लु गर्न आग्रह गर्दै आएको छ तर पाल्पा अस्पतालमा रेफर लेटर बनाउनकै लागि दैनिक ६ सय जनासम्मको भिड लाग्ने गर्दछ । सरकारको अव्यवहारिक निर्णयका कारण रेफर लेटर बनाउनकै लागि बिरामीहरु कोरोना जोखिम मोलेरै अस्पतालमा भिड लाग्ने गरेका छन् ।

पहिलो चरणको कोरोना महामारी सुरु भएपछि थप कोरोना फैलिन सक्ने भन्दै २०७६ चैतबाट २०७७ पुसम्म रेफर लेटर सिस्टम हटाई बिरामी सिधै सम्वन्धित अस्पतालमा जान पाउने ब्यवस्था मिलाइएको थियो । यो समयमा बिरामीहरुलाई सहज भएको थियो । पुनः २०७७ माघदेखि रेफर सिस्टम अनिवार्य गरिएको छ ।

बिमितले पहिलो पटक सरकारी अस्पताल उपचारका लागि जानुपर्ने र त्यहा“ उपचार सम्भव नभए सरकारी अस्पतालले नै अन्य अस्पतालमा रिफर गर्न पाउने ब्यवस्थाका कारण सरकारी अस्पतालमा बिरामीहरुको भिडभाड लाग्ने गरेको हो । बिमा कार्डको नम्बर सहित बिरामीको डिटेल कम्प्युटरमा इन्ट्री गर्नुपर्ने भएकोले १ जना बिरामीको नाम दर्ता गर्न कम्तीमा २ मिनेट समय लाग्छ । अस्पतालमा २ वटा स्थानबाट बिरामीको नाम दर्ता काम गरिएपनि पर्याप्त हुन सकेको देखिदैन । तानसेन नगरपालिका–३ का यादवराज शर्माले कोरोनाको महामारीमा पनि बिरामीहरु यसरी रेफर लेटर लिनकै लागि लाइन बस्नुपर्ने अवस्था दुखद रहेको बताउनुभयो । प्रशासनले एकातिर भिडभाड नगरौ भनेको छ तर अस्पतालमा मानिसहरु भिड गर्न बाध्य भएका छन् । यो समस्याको तत्काल समाधान हुनु आवश्यक देखिन्छ । उहाँले भन्नुभयो ।

अस्पतालाका मेडिकल सुपरीटेन्डेन्ट डा. जगदीश कुँवरले जिल्ला अस्पतालमा दैनिक ६ सय जना सम्म बिरामी आउने गरेको बताउनुभयो । जसमध्ये ६० प्रतिशत बढी रेफर लेटर बनाउन आउने गरेको उहाँले बताउनुभयो । जेष्ठ नागरिकहरुले जति बेला आएपनि रेफर बनाउन पाउने ब्यवस्था मिलाएको र थोरै जनशक्तिले धेरै काम गर्नुपर्दा समस्या भएको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले आफु पाल्पा आउने बित्तिकै बिमा समस्या बारे धेरै पटक गुनासो सुन्दै आएको बताउनुभयो । आफुले यसको समाधानका लागि पहल अगाडि बढाउ“दै आएको भएपनि नीतिगत समस्याका कारण कार्यान्वयन गर्न नसकिएको उहाँले बताउनुभयो । कोरोनाको समयमा अस्पतालमा भिडभाड भएको भन्ने गुनासो आइरहेको छ तर यो बिषयमा संघीय सरकारले नीतिगत ब्यवस्था नगर्दासम्म यो समस्या समाधान गर्न नसकिएको उहाँले बताउनुभयो ।

Comments
Loading...