जनप्रतिनिधिका दाउ सके आफै डोजर किन्ने नसके आफन्तलाई किनाउने

0 219

पाल्पा । स्थानीय तहका जनप्रतिनिधिहरू माथि जन समुदायको ठूलो आरोप भनेको उनीहरू पारदर्शी छैनन् भन्ने नै हो । वास्तवमा कति पय स्थानमा यस्तो देखिएको छ । विकास निर्माण प्रक्रियामा आफै नेतृत्व गर्ने, रकम खर्च आफै गर्ने, डोजरवालाहरुसित आफै एक्लै रकमबारे निर्णय गर्ने र अन्त्यमा आफै उक्त योजनाको अनुगमन गर्ने काम नभएपनि भयो भन्ने, कमसल काम भएपनि गुणस्तरीय छ भन्ने, थोरै काम भएपनि धेरै काम भएको छ भन्ने र आफै रकम निकासा निकालेर कुम्ल्याउने गरेको पाइन्छ । डोजर कति घण्टा चल्यो, कति काम भयो भनेर मापन गर्ने कोही मानिस हुदैन । मापन डोजर मालिक र कमिसनको मात्रै हुन्छ । पाल्पाको सन्दर्भमा पनि यो समस्या छ । बाहिर सार्वजनिक हुदा आफू पारदर्शी भएको प्रमाण पेश गर्न खोज्ने र भित्र भित्र कमाउन दाउ खेल्नेहरुको कमी छैन । सबै स्थानीय तहहरुमा यो समस्या छ । जसका कारण जनप्रतिनिधिहरुले चुनाव खर्च उठाउन खोजेका छन् वा चुनाव खर्च उठाइसके भन्ने सन्दर्भ पटक पटक आएको हामीले सुन्दछौ । यो विषयमा सबैभन्दा बढी चर्चामा आउने विषय भनेकै डोजर हो ।

यहा सबैभन्दा बढी अनियमितता गर्ने ठाउ मोटरबाटो हो । अनावश्यक रुपमा पहाड भत्काउने, डोजरवालालाई काम दिए जस्तो गर्ने र कमिसन खाने गरेको पाइन्छ । पाल्पाका अधिकांश जनप्रतिनिधिहरुका आफ्नै डोजर छन् । वडा अध्यक्ष र सदस्य सम्मले पनि डोजर किनेका छन् । कमाइ खाने राम्रो भाडोको रुपमा अहिले डोजर प्रयोग भएको छ । डोजर नकिनेका जनप्रतिनिधिहरुका आफन्तहरुले भएपनि डोजर किनेका छन् । ज्वाई, जेठान, साला, साली नाता गोताहरुले पनि डोजर किनेका छन् । नगरपालिका, गाउपालिका र वडा स्तरसम्म धेरै कामहरु प्रतिस्पर्धा बिना नै दिइएको छ । यस्ता कामहरु अधिकांश डोजरसित सम्वन्धित छन् । जसमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा डोजर र कमिसन जोडिएका छन् ।

बरु स्थानीय तहहरुले आफै डोजर किन्दा केही फरक पर्दैन । त्यही डोजर पालिकाभरि घुमाउन सकिन्छ । अर्कोतिर कमिसन चक्कर पनि कम हुन्छ । तर जनप्रतिनिधिहरु त्यसो गर्न चाहदैनन् । किनकी डोजर र उनीहरुबीच रोजीरोटको सवाल छ । हरेक स्थानीय तहले आफै डोजर खरिद गर्न सक्ने हो भने कमिसनको खेलो केही हदसम्म भएपनि कम हुन सक्छ । जनप्रतिनिधिहरुले यो कार्यकालको १ वर्ष बिताई सकेका छन् । यो बीचमा सबैभन्दा जनप्रतिनिधि मुछिएको विषय नै डोजर हो । अव भित्र भित्र लुकाएर कमिसन खान पाइदैन । कहा कति घण्टा डोजर प्रयोग भयो, कति काम भयो, प्रतिघण्टा कति रकम भुक्तानी गरियो यो विषय सार्वजनिक हु“नैपर्छ । सचेत जनताले चनाखोपूर्वक ख्याल गरिरहेका छन् । जुनसुकै बेला पनि यसले ठूलो रुप लिन सक्छ । यसकारण डोजरमा गरिएको खर्च र डोजरबाट भएको कामको प्रतिफल सार्वजनिक गरिनुपर्छ ।

(पाल्पा समाचारपत्र वर्ष ८ अंक ७ मा प्रकाशित सम्पादकीय केही परिमार्जन सहित फिचर स्तम्भमा प्रकाशन गरिएको ।) सम्पादक

Comments
Loading...