जनप्रतिनिधिले आफ्नो तलवबाट उपभोक्ता समितिलाई सम्मान गरे

0 196

मुक्ति न्यौपाने । पाल्पा
माथागढी गाउँपालिका– वडा नं. २ कार्यालयले राम्रो काम गर्ने उपभोक्ता समितिलाई सम्मान गरेको छ । वडा अध्यक्षको तलब र सदस्यहरुको भत्ता रकमबाट उपभोक्ता समिति र टोल संयोजकहरुलाई नगद र दोसल्लाले सम्मान गरिएको हो ।


वडा कार्यालयमा आयोजित वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाईमा विभिन्न सूचकांक बनाएर सम्मान गरिएको रुप्सेका वडाध्यक्ष जनक रिजेलले बताए । उनी भन्छन्, ‘गाउँमा पछिल्लो समय जनश्रमदान तथा अन्य झण्झटका कारण उपभोक्ता समितिको जिम्मेवारी लिने मानिसहरु कम हुँदै गएका छन् । त्यसैले राम्रो गर्नेलाई प्रोत्साहन गर्न, समयमा योजना सम्झौता गरि कार्यसम्पन्न गराउन सम्मान गरिएको हो ।’ वडा कार्यालयले गैराबारी साठीपाईला मोटरबाटो, खहरे मन्दिर प्रतिक्षालय, लालि गुराँस क्लब भवन, राक्से–भन्टार–बधुवा कुलो निर्माण उपभोक्ता समितिलाई सम्मान गरिएको हो ।


वडा कार्यालयले गरेको सार्वजनिक सुनुवाईका क्रममा धेरैले टुक्रे योजनामा बजेट विनियोजन गर्नुभन्दा कुनै ठोस देखिने योजना सञ्चालन गर्न सुझाव व्यक्त गरे । ताराबहादुरसारु भन्छन्, ‘टुक्रे योजनाले गर्दा विकासको काम थोरै भयो । हामी प्रदेश र स्थानीय सरकार समन्वय गरेर काम गर्नुपर्छ ।’ बमबहादुर घर्तीले भने, करकट्टी धेरै किसिमका गरे हामीलाई योजना सञ्चालन गर्दा घाटा लाग्ने स्थिती आयो । कृषि सञ्जालका अध्यक्ष दामोदर घर्तीले कृषि प्राविधिक घरघरमा नआउँदा कृषकहरु समस्यामा परेको बताए । उनी भन्छन्, ‘हाट बजार व्यवस्थापन गर्ने कुरा कहिँ कतैबाट सुनुवाई भएन । कृषि उपज संकलन केन्द्र चलाउन अहिलेसम्म सकिएको छैन ।’

Comments
Loading...