जमिन बाझो ! खाद्यान्न परनिर्भता र युवा वेरोजगारी

0 175

–के.बि.मसाल
कोरोना भाइरसको संक्रमणबाट अहिले बिश्वनै कोकाहल बनेको छ । महामारीका रुपमा फैलिएको कोरोना भाइरस फैलिने क्रम जारी छ भने यसको प्रभाव कहिलेसम्म रहने, कति जनसंख्या प्रभावित हुने, कतिले ज्यान गुमाउनुपर्ने, रोग नियन्त्रणका लागि स्थायी उपचार विधि कहिले पत्ता लाग्ने कुनै आकलन अहिले सम्म भएको छैन् । स्वास्थ्य क्षेत्रमा अब्बल राख्ने विकसित पश्चिमी मुलुकहरुले समेत अहिले लकडाउनको सामना बेहोर्नुपरेको छ । हालसम्म यस रोगको नियन्त्रण अर्थात रोकथामको लागि समाधान लकडाउन भएको छ ।


कोरोना भाइरसको स्थायी उपचारको विधि आविष्कार नभए पनि नेपाललाई भने अरु देशको तुलनामा कोरोना संक्रमणले छोएको मात्र छ । कोरोना भाइरसको प्रकोपले भौतिक संरचनामा असर नपारे पनि मानव समाजमा आर्थिक गतिविधिमा असर पार्न थालेको छ । कृषिजन्य उपभोग्य वस्तुहरुमा समेत भारतलगायत अन्य देशहरुसँग परनिर्भर रहेको देश यो महामारीको सिकार बनेको छ । कोरोना भाइरस संक्रमणका कारण समग्र अर्थब्यवस्था चौपट हुन थालेको छ । मानिस स्वभावैले सामाजिक प्राणी भएपनि अहिले सामाजिक दूरी बढाएको छ । कोरोना महामारीले मानिसको रहनसहनदेखि खानपिनसम्मको गतिविधि फेरिएको छ । हात मिलाउने मानिसहरु अहिले नमस्तेमा फर्किएका छन् । अहिले बिदेशबाट र शहरमा रहेका धेरै मानिसहरु आफ्नो गाउँमा फर्किएका छन् ।


महामारीले ठूलो जनधनको क्षति मात्र हुदैन, केही नयाँ आविष्कार, सामाजिक परिवर्तन समेत गराएको इतिहास छ । यतिबेला कोरोना भाइरस महामारीका रुपमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गरेको छ । मानव जातिका लागि यस्ता महामारी नौला भने होइनन् । हरेक पटक त्यस्ता महामारी निन्त्रण गर्न मान्छेले गरेका अनुसन्धानबाट प्राप्त उपलब्धिले धेरै पाठ सिकाएको छ । कोरोनाभाइरस महामारीले हाम्रो जीवन र सम्बन्धमा अकस्मात् धेरै परिवर्तन ल्याइदिएको छ । अहिले विश्वभरि कोरोना भाइरस सङक्रमण र त्यसबाट हुने रोग कोभिड १९ को त्रास छ । विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरु अत्यावश्यक काममा मात्रै सीमित भएका छन् । भाइरस फैलिन नपाओस् भनेर अवलम्बन गरिएको उपायस्वरुप अधिकांश मानिसहरु घरभित्रै सीमित छन् । कोरोनाभाइरस के हो, त्यसबाट कसरी सङक्रमण हुन्छ, कसलाई सङक्रमणको बढी जोखिम छ । कोभिड १९ लागेपछि मृत्युको सम्भावना कति छ ? कोरोना भाइरसबाट कसरी जोगिन सकिन्छ भन्ने जिज्ञासा धेरै जनामा छ ।


नेपालमा पछिल्लो ५० वर्ष भित्रमा भएको महामारी र विपदका घटनाबाट ४१ हजार पाचँसय भन्दा बढीले ज्यान गुमाएको पाइएको छ । यो अवधिमा सबैभन्दा बढीको मृत्यु महामारीबाट भएको छ । गृह मन्त्रालयको तथ्याङअनुसार पछिल्लो ५० वर्षमा आगलागी, चट्याङ, बाढी, पहिरो, हावाहुरी, महामारी, हिमपहिरो, शीतलहर, भूकम्प लगायतका विपदका घटनाबाट मानिसको मृत्यु भएको छ । नेपालमा विपदका घटनामा परी ५० वर्षको अवधिमा ४ सय ७२ जना मानिस वेपत्ता भएका छन् । विपदका कारण ८६ हजार ८३ जना घटनामा परी घाइते भएका छन् । पछिल्लो ५० वर्षको अवधिमा विपदका घटनाबाट ६० लाख ४ हजार २ सय ३७ घर–परिवार प्रभावित भएको गृहको तथ्याकले देखाएको छ । पछिल्लो ५० बर्षमा सबैभन्दा बढी नेपालीको ज्यान महामारीले लिएको छ । यो अवधिमा महामारीबाट नेपालमा १६ हजार ५ सय ९८ जनाको मृत्यु भएको छ ।


हिजो सम्म नसुनेका शब्द लकडाउन, क्वारेन्टाइन, आइसोलेसन आदि शब्दहरुबारे विज्ञ भएका छौँ । हिजो घर बस्न फुर्सद नपाउँदा नरमाइलो लाग्थ्यो भने आज बाहिर निक्लन नपाउँदा दिक्क लागिरहेछ । धेरैको रोजगार गुमेको छ । साथमा भएको रकम सकिएको छ । जब सबै साधन श्रोतहरु सकिन लागेको छ पारिवारिक कलह पनि बढन थालेको छ । अर्कोतर्फ भोकले गर्दा मानिसमा इमान्दारिता हराउँदै जान्छ र चोरी, लुटपाट जस्ता आपराधिक घटनाहरु बढने सम्भावना रहेको छ । महिनौँसम्म देशमा उत्पादन र आर्थिक गतिविधिहरु ठप्प भएको अवस्थामा लकडाउन पछिको भविष्य कस्तो होला ? यो प्रमुख चिन्ताको विषय हो ।
लकडाउन केहि दिनपछि खुल्छ । खुलेपछि के कस्ता चुनौतीहरु आइपर्लान् ? त्यस तर्फ सबैले सोच्ने बेला आइसकेको छ । चुनौतीको सामना कसरी गर्ने हो ? यसबारे हरेकले सोच्ने बेला भएको छ । सरकार, विपक्षी दल तथा सर्वसाधारणले समेत आ–आफ्नो दायित्वलाई अब राम्ररी पालना गर्नु पर्दछ । बैदेशिक रोजगारीमा गएका युवाहरु लाखौँको संख्यामा बेरोजगार भएर स्वदेश फर्किएका छन् र फर्कने क्रम जारी छ । देशमा उनीहरुलाई रोजगारीको ब्यवस्था छैन । बिश्वनै आर्थिक मन्दीको चपेटामा परेको बेला अब रेमिटेन्स आउने सम्भावना छैन । अब बेराजगार युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गर्ने विभिन्न उपायहरुको खोजी गर्नु पर्दछ । यसका लागि सरकारले सार्वजनिक खर्च, विकास खर्च, पूर्वाधार निर्माण खर्चमा बढी लगानी गर्नुपर्दछ । जसले गर्दा रोजगारी सृजना गर्न सकोस् ।


नेपाल कृषि प्रधान देश हो तर हामीले केरा कहाको खाएका छौ ? अरु त के कुरा खुर्सानी, कागती पनि हामीले भारतबाट आयत गरेका छौ । खेतीयोग्य जमिन बाझो छ खाद्यान्न परनिर्भर छ तर हामी कहा युवा वेरोजगारी छन् । कृषिको तथ्याक लिने हो भने कुल ३९ लाख हेक्टर खेतियोग्य जमिनमध्ये १३ लाख हेक्टर बांझो भएको छ । ६६ प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेको देशमा ३३ प्रतिसत मा झरेको छ । जमिन बाझो राखेर हामी खाद्यान्नमा समेत परनिर्भतामा गएका छौ । आज हामी तरकारी, फलफुल, खाद्यान्न लगायत जिविको पार्जनका अधिकांश वस्तुको लागि छिमेकि देशमा निर्भर भएका छौ । त्यसैले अहिले कोरोना कहरको रुपमा आए पनि नेपालीको आय श्रोत वृद्धिको लागि अब कृषि क्षेत्रलाई ब्यवसायमा बदल्दै आत्म निर्भरता तिर जान पर्दछ ।
कोरोनाको कारण समय र परिस्थिति फेरिएको छ । कोरोनाले प्रत्येक देश र नागरिकलाई यथार्थ धरातलमा ल्याईदिएको छ । बिखण्डित परिवारलाई एक ठाउमा जोडेको छ । विदेशमा रहेका र काम गर्नेलाई मातृभुमिको महत्व सम्झाएको छ । स्वास्थ र कृषि नै संकट कालमा चाहिने भनेर बुझाएको छ । त्यसैले सरकारको पहिलो प्राथमिकता नागरिकको स्वास्थको रक्षा गर्नु र रोजगारीको लागि कृषिलाई आधुनिक करण गर्दै उत्पादन बढाउनु हो । खाद्यान्नमा मात्रै पनि आत्मनिर्भर बन्न सक्यो भने देशलाई असफल हुनबाट धेरै हदसम्म रोक्न सकिन्छ ।

विदेशी उत्पादन आयातमा नियन्त्रण गरी स्वदेशी उत्पादन प्रवर्धन गर्ने र जनतालाई स्वदेशी उत्पादन नै प्रयोग गर्न उत्प्रेरित गर्ने नीतिहरु तर्जुमा गरी लागू गर्न पर्दछ । जस्तै, अहिले जुनसुकै क्षेत्रमा पनि विदेशी समानहरु मात्र प्रयोग गर्ने होडबाजी चलिरहेको छ । त्यस्ता गतिविधिहरु अर्थात आनीबानीलाई निरुत्साहित गर्ने र नेपालमै बनेको सामान प्रयोग गर्ने बानी बसाल्ने गर्नु पर्दछ ।


नेपालमा करीब दुई तिहाई जनसंख्याको जिबिकोपार्जनसँग जोडीएको कृषि क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसक्दा पछाडी परिराखेको छ । कृषि क्षेत्रको आधुनिकिकरण सरकारको निति तथा कार्यक्रम, पार्टीका घोषणापत्र र नेताका भाषणमा सिमित छ । बिगतको तथ्यांकलाई हेर्ने हो भने कृषि क्षेत्र प्रत्येक बर्ष ओरालो लाग्ने क्रममा छ, ठुलो संख्यामा युवाहरु कामको खोजीमा बिदेशिएका छन । धेरै परिवारहरु बसाईसराई गरेका छन अधिकांश आकासको भरमा रोपाई हुने जमिनहरु बाँझिने क्रममा छन् । अब दशौं लाखलाई रोजगार दिन, बाझो खेतलाई उत्पादनशील बनाउन पर्दछ । कृषिमा आत्म निर्भर हुन र समग्रमा कुल ग्राहस्थ उत्पादनमा वृद्धि ल्याउन आधुनिक कृषि प्रणाली ग्रामिण क्षेत्रमा पु¥याउनु पर्दछ । यसको लागि कृषि मन्त्रालय, प्रधानमन्त्री रोजगार कार्यक्रम, श्रम रोजगार तथा सामाजिक मन्त्रालय र सम्वृद्ध निकायबीच समन्वय गरि बिनियोजित बजेटलाई केन्द्रीकृत गरि एउटै ठाउबाट परिचालन गर्दा रोजगारी वृद्धि र कृषिमा परिवर्तन ल्याउन सकिन्छ ।
कृषि पेशामा लागेका कृषकहरुको कृषि पेशामा रुचि देखिदैन । यो पेशालाई बाध्यात्मक पेशा मान्दछन् । जमिनमा स्वामित्व हुनेहरु खेती गरेर लगानी नउठने देखेर खेती गर्न छोडेका छन् भने जमिन नहुनेहरु अरुको जमिनमा खेती गरी उत्पादनमा दुई तिहाई जग्गा धनीलाई बुझाउन बाध्य छन् । कृषि औजारको नाममा कृषकसँग हलो, कोदालो र हँसिया मात्र छ । बर्षमा १० दिन जोत्न ३६५ दिन गोरु पाल्नु पर्ने बाध्यता छ ।

सिंचाई छैन, लगानी गर्ने पैसा छैन । उन्नत बिउ, मल छैन । कृषकलाई प्रविधि सिकाउने प्राविधिक छैन । बेच्ने बजार छैन तर किन्ने बजार छ । कृषि कार्यालयमा अत्यन्त सिमित किसानको मात्र पहुँच छ । कृषिले दिने अनुदान खेतीकिसान नगर्ने मानिसको हातमा पर्ने गरेको छ । कृषिको अनुदान सबै पहुचमा बितरण हुने गरेको छ । कस्तो सम्म पनि देखिएको छ भने जस्को जमिन छ तर उ खेती गर्दैन शहर बजारमा बस्दछ । कृषिले किसानलाई अनुदानमा टेक्ट्रर दिने कार्यक्र भयो भने पहुचको भरमा उसले टेक्ट्रर पाउछ र अरुलाई बेच्दछ । कृषिको अहिलेको यो अबस्था सुधार गर्नु पर्दछ ।


बिश्वका कृषिमा सफल देशहरु हुनुको पछाडी उनिहरु उत्पादक, अनुसन्धान र कृषि उद्योगलाई जोड्न सक्नु हो । नेपालमा अनुसन्धान सिमित छ भने उन्नत ब्यवसायी कृषि बिकाश भएको छैन,केवल कृषि मनत्रालयको कागजमा सिमित छ । कृषि प्राविधिक उत्पादन गर्ने कृषि कलेज तथा अनुसन्धान हुने नार्क जस्ता संस्थाहरु राजनितिको चपेटामा परेका छन् । देशको ग्रामिण क्षेत्रको जिबिकोपार्जनको एउटा मात्र बिकल्प भनेको कृषि पेशा हो । ग्रामिण क्षेत्रको कृषिलाई आधुनिकिकरण र ब्याबसायिकरण गर्दै कृषि उत्पादन मार्फत सहरको पैसा गाउँमा भित्राउने तर्फ कृषि ब्यवसायलाई सरकारले ध्यान दिन नसक्दा अहिलेको अवस्थामा आएको हो । ग्रामणि क्षेत्रमा कृषिको उत्पादन हुन नसक्दा सहरबाट गाउँ भित्राउनु पर्ने पैसा कृषि उपज आयातको नाममा बाहिर गएको छ ।


विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न लागू भएको लकडाउनले नेपालको कृषि क्षेत्रमा गम्भीर र दूरगामी असर पारेको छ । लकडाउनले गर्दा आउँदो वर्ष झनै परनिर्भर हुनुपर्ने अवस्था देखिएको छ । लकडाउनका कारण किसानहरुले मलपाउन सकेका छैनन । कुखुरा पालन,पशुपालन तथा माछा पालनको लागि दाना पाएका छैनन । उत्पादित वस्तुहरुको बजारीकरण हुन सकेको छैन । कृषिमा एकीकृत तथ्यांकको अभाव छ । तथ्यांकको लागि राष्ट्रिय स्तरको सूचना व्यवस्थापन प्रणालीको ग्रीड छैन । कृषि क्षेत्रको उत्पादन बढाउनको लागि, कृषिको आधुनिकीकरण, सामूहीकीकरण, व्यावसायीकरण, यान्त्रिकीकरण, बजारीकरण र अनुसन्धानको क्षेत्रमा राज्यको चासो छैन ।


कोरोना प्रकोपका कारण वैदेशिक रोजगारीबाट नेपाल फर्किएका युवाहरुको लागि स्वदेशमै स्वरोजगारका अवसर सृजना गर्न सहुलियत ऋणको व्यवस्था गर्नु पर्दछ । वैदेशिक रोजगारीबाट कति फर्किए र फर्किएकाहरु मध्ये कृषि क्षेत्रमा कति आवद्ध हुन्छन त्यसको तथ्यांक तयार पार्नु पर्दछ । वैदेशिक रोजगारीमा सिकेका सीपहरुलाइ व्यवसायीक कृषिमा उपयोग गर्न उद्यमशील तालीमको ब्यवस्था गर्नु पर्दछ । नेपालका तुलनात्मक लाभ भएका कृषिजन्य उत्पादनहरु अधिकांश रुपमा अप्रशोधित तथा अर्धप्रशोधित रुपमा निकासी भएका छन् । ती बस्तुहरु स्वदेशमा नै प्रशोधन हुने व्यवस्था गर्नु पर्दछ । अर्को तर्फ कृषिको व्यवसायीकरणको लागि निजी क्षेत्रको लगानी बढाउन बिभिन्न कार्यक्रमहरु तर्जुमा गरिनु पर्दछ ।


अब प्रत्येक स्थानीय तहमा ठूला कृषिफार्महरुको सम्भाव्यता अध्ययन र माटाकोे गुणस्तर परीक्षण गरी नमूना सामुहिक कृषिफार्महरुको विकास गर्नु पर्दछ । यस्तो फार्ममा एउटा मात्र बाली वा तरकारी खेती गर्नुपर्छ । यस्तै, जग्गाधनीले खेती नगर्दासम्म बाँझो जग्गामा सँधियारले स्वाभाविक रुपमा नगदे बाली, खेती गर्न सक्ने अधिकारको कानुन ल्याउन पर्दछ । बाँझो जग्गाआधुनिक कृषिगर्न चाहने उद्यमी व्यवसायीलाई निश्चितअवधिका लागि लिजमा दिन सकिने कानुनी व्यवस्था पनि हुनु पर्दछ । अब गर्ने ब्यवसायी कृषिमा अर्गानिक बस्तुको उत्पादन गर्न पर्दछ ।


अहिले बेला बखत खडेरी, असिना जस्ता मौसममा आएको प्रतिकुलता, रोगव्याधी, बांदर किरा आदिबाट हुने जोखिम तथा न्युनगुण स्तरको बिउ बिजनका कारण खाद्यान्न, फलफूल तथा तरकारीको उत्पादनमा नै नोक्सानी पु¥याइरहेको छ । यसबाट कतिपय किसानको लगानी बर्षेनी खेर गएको छ । यसबाट कृषि पेशाप्रति उदासिन्ता वढदै गएको छ । कृषि क्षेत्र अधिकांश निर्वाहमुखी रहेको र लगानीको सुनिश्चितान भएकोेले कृषि क्षेत्रमा व्यवसायीक बातावरण सृजनागर्न सम्पूर्ण खेती प्रणाली र पशुधनमा प्रचलित मूल्यमाअनिवार्य बिमाको व्यवस्था गर्नु पर्दछ ।
मिति– १९ जेष्ठ २०७७ दाङ

Comments
Loading...