जसले आमाको शव समेत छुन पाएनन्, दागबत्ती पनि अर्कैले दिए

0 77

पाल्पा । पाल्पा सदरमुकाम तानसेनबाट ६ किलोमिटर मात्रै टाढाको गाउँ । बगनास गाउँ । मोटरबाइकमा तानसेनबाट २० मिनेटमै पुगिन्छ । तर यहाँका एक नेवार समुदायका युवाले दलित समुदायकी केटीसँगै बिहे गरेकै कारण बगनासकाली गाउँपालिका १ चिर्तुङधारास्थित बगनास मैदानका पूर्णमान श्रेष्ठले आफूलाई जन्म दिने आमाको शव छुन समेत पाएनन् । शव छुन मात्रै हैन उनले आफ्नी आमालाई दागबत्ती समेत दिन पाएनन् । अर्कै आमाको छोराले आफ्नी आमालाई दागबत्ती दिएको टुलुटुलु हेरिरहे ।


किरिया बस्न बारीको छेउमा छाप्रो बनाइयो
वरिपरि पक्की घर । ती घरबीच एउटा बारी छ । जहाँ भर्खरै टुसाएका मकैका विरुवा देखिन्छन् । तिनै विरुवा मासेर बाँसको सहायतामा बनाइएको त्रिपालले बारेको र प्वाल परेका पुराना जस्तापाता र्तेसाइएको एउटा सानो छाप्रो । त्यो छाप्रोभित्र किरियापुत्रीका रुपमा बसेका छन् उनै श्रेष्ठ र उनकी पत्नी सरिता श्रेष्ठ नेपाली ।


आमाको निधनपछि काजकिरियाका लागि पूर्णमान र उनकी श्रीमती सरिता छाप्रोमा बसिरहेका छन् । तर त्यहि छाप्रो नजिकै उनको घर छ । उक्त घरमा उनका दुई जना बुहारी किरिया बसेका छन् । उनका अन्य दुई दाजु भाई भने बिदेशमा छन् ।अन्तरजातीय विवाह गरेका पूर्णमान घरभित्र प्रवेश गर्न नपाएपछि बारीमा छाप्रो बनाएर आमाको काजकिरियामा बसेका हुन् । नेवार समुदायका पूर्णमानले १४ वर्षअघि छिमेककै दलित युवती सरितासँग प्रेम बिबाह गरेका थिए । शुक्रबार बिहान करिब एक बजेतिर ७३ वर्षीया पूर्णमानका आमा मनकुमारीको निधन भयो । आमाको निधन भएको कुरा छिमेकीबाट थाहा पाएका उनी बिहानपख घरमा पुगे। तर उनलाई आमाको पार्थिव शरीर हेर्न मात्र दिइयो छुन दिइएन ।


नेवार समुदायको संगठित संस्था गुठियारका सदस्यले घरकी कान्छी बुहारी गीता श्रेष्ठको निर्देशनमा पूर्णमानलाई आमाको पार्थिव शरीर नजिक बस्न समेत दिएनन् । एकछेउमा टोलाएर बसिरहेका पूर्णमानले घरबाट शव उठाइसकेपछि बाटोमा आमाको शवलाई काँधमा राख्न पनि पाएनन् । उनकी आमाको शबलाई बसमा राखियो ।


राम्दीघाटमा पुगेपछि मलामीले करिव डेढ घण्टा पूर्णमानका अर्की आमाका छोरा बुटवल बस्ने रामलाल श्रेष्ठलाई कुरे । रामलाल आएपछि मात्रै उनको दाहसस्कारको प्रक्रिया सुरु भयो ।
आमाको शवमा पानी खुवाउन र चितामा चढाउन सहयोग गरेका पूर्णमानलाई आमाको पार्थिव शरीरमा दागबत्ती दिनबाट पनि रोकियो । जेठी आमातर्फका छोरा रामलाल श्रेष्ठले दागबत्ती दिए । कथित् तल्लो जातिसँग विवाह गरेकोले दागबत्ती दिँदा आमा स्वर्ग नजाने भन्दै रोक लगाइएको पूर्णमानले सुनाए । दाजुभाईले नस्वीकारेको भन्दै रामलालले नै दागबत्ती दिएको उनले बताए ।
दागबत्ती दिएपछि रामलाल बुटवल नै फर्किए । पूर्णमान भने घरमा आए तर उनलाई घरमा किरिया बस्न दिइएन् । छिमेकीहरु त्यसै घरतर्फ लागेपछि उनका लागि उनका ससुराली पटिट्का युवाहरुले रातिको १० बजेतिर बारीमा कटेरो बनाइदिएका थिए ।


अन्तरजातिय बिवाह गरेदेखि नै पूर्णमान ससुरालीमा बस्दै आएका थिए । उनी पोखरातिर गाडीमा सहचालकको काम गर्छन् । उनकी श्रीमति र दुई सन्तति माइतीमै बस्दै आएका छन् ।
कान्छी बुहारी गीता श्रेष्ठले आफ्ना जेठाजु पर्ने, रामलाल श्रेष्ठले भने अनुसार नै यसो गरिएको बताएकी छन् । रामलाल बुटवल बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख समेत हुन् ।


गाउँपालिका अध्यक्ष सहितको टोली पुग्यो
यो बिषय थाहा पाएपछि शनिवार दिउँसो बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल, प्रवक्ता लक्ष्मी अधिकारी, वडा नं ९ का अध्यक्ष ठानेश्वर तिमिल्सिना, कार्यपालिका सदस्य तेजप्रसाद रसाइली लगायतको टोली बगनास पुगेर घटनाबारे जानकारी लिएको छ ।
जनप्रतिनिधिको टोलीले यसप्रकारको कार्य गैरकानुनी र अमानवीय भएकोले तत्काल सच्याउन र उनीहरुलाई घर भित्रै किरियाको बातावरण बनाउन भनेको छ । गाउँपालिका अध्यक्ष बस्यालले दुखका बोल यसरी जातिय बिभेद गरिनु सरासर गैरकानुनी र मानवीयता बिरोधी भएकोले तत्काल सच्याउनुपर्ने बताए । रामलाल श्रेष्ठले आफू आइतवार बुटवलबाट पाल्पा आउने र भाई पूर्णमानलाई घरमै किरिया बस्ने बातावरण मिलाइदिने बताएका छन् ।

Comments
Loading...