जापानी नागरिक ओकेबाजेको ८४ पुजा पाल्पामा हुने

0 877

सृजना घिमिरे । रामपुर
जापानी नागरिक काजुमासा काकिमी ओकेवाजेको ८४ पुजा पाल्पा रामपुर स्थित गंगा माध्यामिक विद्यालयमा हुने भएको छ ।
विगत ३० बर्ष देखी पाल्पामा शिक्षा, स्वाश्थ्य लगायतका क्षेत्रमा सहयोग गर्दै आउनुभएको ओकेबाजे ८४ बर्ष पुगेको अवसरमा गंगा माविमा पुजाको तयारीका लागि यसक्षेत्रका माध्यामिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, पत्रकारविच भेला भएको छ । भेलाले आउदो असोज २३ गते अर्थात अक्टोबर ९ तारिखका दिन पुजा गर्ने निर्णय गरेको छ ।

भेलामा गंगा माध्यामिक विद्यालयका प्रधानाध्यापक देवराज देवकोटाले विगत लामो समयदेखी शिक्षा क्षेत्रमा योगदान गर्ने ओकेवाजेको सम्मानकै लागि गंगा मावीमा ८४ पुजा गरिदिन मन लागेको बताउनुभयो । उहाँले जीवनको लामो समय नै आफ्नो देश जापान छोडेर नेपालमा रही पाल्पा क्षेत्रमा उहाँकै पहलमा धेरै विकास भएको बताउनुभयो । भेलामा जापानिज नागरिक काजुमासा काकिमी ओकेवाजेले उमेरले ८४ बर्ष पुगेपछि नेपालमा धेरै नागरिक थुपुक्क बस्ने गरेको देखेको उल्लेख गर्दै त्यसरी बस्दा पनि गर्न सक्ने कामहरु गर्नुपर्ने बताउनुभयो । उहाँले जापानिज नागरिकमा भने अरुलाई खुसी बनाउन धेरै सहयोग गर्ने सोच हुने गरेको उल्लेख गर्नुभयो ।

शिक्षक लेखनाथ शर्मा मरासिनीले संचालन गर्नुभएको भेलाले गंगा मावीका प्रधानाध्यापक देवराज देवकोटा अध्यक्ष तथा रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, तानसेन तथा माथागढी गाउँपािलकाका माध्यामिक विद्यालयका प्रधानाध्यापक, वडाअध्यक्ष ,पत्रकार तथा संचारसंस्था सदस्य रहेको मुल आयोजक समिती गठन गरेको छ । भेलाले चौरासी पुजा संचालनका लागि सवै विद्यालय, तथा स्थानिय संघसंस्थाबाट सहभागिता बापत न्युनतम ५ हजार रुपैंया का दरले सहयोग संकलन गर्ने, प्राप्त रकम पुजा अवधिभर नजिकको बैकमा खाता खोलेर एकद्धार प्रणालीमार्फत आर्थिक कारोबार गर्ने, पुजाको प्रचार प्रसार गर्ने लगायतका निर्णय गरेको छ ।

भेलाले प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितीका संयोजक, तानसेन नगरपालिका, रामपुर नगरपालिका, सवै गाउँपालिकाका प्रमुख, लुम्बिनी प्रदेशसभा सदस्य रहेको सल्लाहकार समिती चयन गरेको छ । भेलामा नेपाल संस्कृत विश्वविद्यालयका सहायक प्रध्यापक डाक्टर खेमराज खनालले धार्मिक विधिबाट गरिने चौरासी पुजाबारे जानकारी गराउनुभएको थियो ।

करिब ६ लाख लागतमा सम्पन्न हुने पुजाका निम्ति सचिवालय स्थापना गरी व्यवस्थापनको काम शुरु गरिने आयोजकले जनाएको छ । भेलामा गंगा माध्यामिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नरनारायण अर्यालले विद्यालयमा गरिने जापानिज समाजसेवी ओकेबाजेको सम्मानका निम्ति गरिने पुजालाई व्यवश्थित बनाउन सवैको सहयोग अपरिहार्य रहेको बताउनुभयो । भेलाले पुजा सम्पन्न गर्न ४५ सदस्यीय मुल आयोजक समिती तथा २४ सदस्यीय सचिवालय समिति निर्माण गरेको छ ।

Comments
Loading...