जापानी नागरिक ओकेबाजे जसले २५ बर्ष गाउँलेको सेवामा बिताएः उनको भव्य नागरिक अभिनन्दनको तयारी

0 31

पाल्पा । बिगत २५ वर्षदेखि पाल्पामा रही समाजसेवा गर्दै आएका जापानी नागरिक काजुमासा काकिमी ओकेबाजीलाई यही फागुन ३० गते नागरिक अभिनन्दन गरिने भएको छ ।

काजुमासा काकिमी ओकेबाजे नागरिक अभिनन्दन मूह समारोह समिति पाल्पाले तानसेनमा पत्रकार सम्मेलनको आयोजना गरि अभिनन्दन कार्यक्रमबारे जानकारी गराएको छ । अभिनन्दन कार्यक्रमले ओकेबाजेलाई सामाजिक सेवाका लागि थप प्रेरणा मिल्ने समितिका संयोजक सुन्दर श्रेष्ठले बताए ।

ओकेबाजीले पाल्पाको शैक्षिक र सामाजिक बिकासका लागि महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । पाल्पाका बिभिन्न बिद्यालयहरुको भवन निर्माण, क्लवहरुको भवन निर्माण, गरिव तथा बिपन्न समुदायका बालबालिकाहरुको शैक्षिक बिकास र जिल्लाको स्वास्थ्य क्षेत्रको बिकासका लागि ओकेबाजीले आर्थिक सहयोग गर्दै आएका छन् ।

सन् १९३९ मा जापानको टोकियोमा जन्मिई बासोदा बिश्वबिद्यालयबाट स्नातक तह उत्तीर्ण गरि टोकियोमै एक उच्च माविमा २३ वर्ष अध्यापन गराई अवकास पछि सन् १९९३ बाट पाल्पाको जल्पा गाविस स्थित ढोलीमारा गाउँमा आएर पाल लगाएर बस्न थालेका थिए ।

गरिवी, अशिक्षा र चेतनास्तरको कमीका कारण गाउँमा अधिकांश बालबालिकाहरु बिद्यालय नजाने, सरसफाईमा खासै ध्यान नदिने गरेको देखेपछि ओकेबाजीले यही बसेर समाजसेवा गर्दै आएका छन् । उनको जापानी नाम काजुमासा कामिकी भएपनि उनले जनताको दुःखका बेला जस्तो सुकै प्रस्ताव राखेपनि ओके ओके भन्ने भएकोले पाल्पालीहरुले नै उनको नेपाली नाम ओकेबाजी राखिएका हुन् ।

उनकै सहयोगमा अहिले जिल्लाका २ सय बढी बिद्यालयहरुमा पक्की भवन बनेका छन् । सयौ बालक्लवहरुले क्लवको भवन बनाई रचनात्मक काम गर्दै आएका छन् भने पढाईप्रति रुचि भएर पनि आर्थिक अभावले पढ्न नपाएका बालबालिकाहरुले समेत ओकेबाजीकै सहयोगमा उच्च शिक्षा हासिल गरेका छन् । त्यस्तै गरिव तथा विपन्न समुदायका ब्यक्तिहरुले सहज रुपमा स्वास्थ्य सुविधा लिएका छन् । सुरु सुरुमा ओकेबाजी गाउँमा आएर बस्दा जासुस आयो भनेर शंका गर्नेहरुले समेत यतिबेला ओकेबाजीलाई भगवान सावित मान्दै आएका छन् ।

उनले जापानमा रहेका सामाजिक तथा युवा क्लवहरुले थोरै थोरै गरि संकलन गरेको रकम नेपाल ल्याएर समाजसेवाको क्षेत्रमा लगानी गर्दै आएका छन् । उनको अभिनन्दन कार्यक्रममा जापानबाट समेत ७० बढी जापानी नागरिकहरु आउने र जापानी र नेपाली संस्कृतिको समेत प्रदर्शन हुने समितिका सचिव देवराज देवकोटाले जानकारी गराए ।

पत्रकार सम्मेलनमा पत्रकार महासंघ पाल्पाका सभापति राजेशकुमार अर्यालले पाल्पाको शैक्षिक तथा अन्य विकासमा ओकेबाजेको भूमिका महत्वपुुर्ण रहेको उल्लेख गरे ।

Comments
Loading...