जिल्लाकै ठूलो राशीको साहित्यक पुरस्कार जि.सी.लाई

0 32

पाल्पा । जिल्लाकै ठूलो राशीको साहित्यिक पुरस्कारबाट यहाँका साहित्यकार, समाजसेवी एवं राजनीतिज्ञ झपेन्द्र जि।सी। पुरस्कृत भएका छन् । प्राध्यापक डा।प्रकाशराज रेग्मीले आफ्नो राजनीतिज्ञ पिता कमलराज रेग्मीको नाममा यसैवर्षदेखि स्थापना गरिदिनुभएको कमलराज रेग्मी वर्ष पुरस्कार २०७४ बाट जि।सी।लाई दोसल्ला अभिनन्दन पत्र र नगद २५ हजार राशी सहित अभिनन्दित गरिएको हो । साहित्य तथा स्वास्थ्य प्रतिष्ठान पाल्पाले तानसेनमा जेष्ठ ५ गते जि।सी।लाई अभिनन्दन समारोह सहित अभिनन्दित गरेको थियो भने उनका पहिचानकर्ता विनोद भारतीलाई पनि नगद ५ हजार दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

साहित्य तथा स्वाथ्य प्रतिष्ठान पाल्पाका संस्थापक÷संरक्षक प्राध्यापक प्रकाशराज रेग्मीले यो पुरस्कार राशी समय अनुसार बढाउँदै लगिने जनाए । ‘म जुनसुकै ठाउँमा आफूलाई प्रस्तुत गर्दा पाल्पाली हुँ भनेर नै प्रस्तुत गर्दछु ।’ उनले भने, ‘पाल्पा र पाल्पालीले हामीप्रति अथाह स्नेह विगतदेखि नै राखेका छन् । मैले मेरो पूज्य पिताको कर्मको पहिचानलाई उजागर गर्न अन्य सामाजिक अभियान सञ्चालन गर्ने सोंच बनाएको छु ।’ उनले आफ्ना स्वर्गीय पिता राजनीति, समाजसेवा, शिक्षा र साहित्यमा क्रियाशिल रहेकोले यीनै क्षेत्रमा उर्जा भर्नका लागि आफूले अभियान सञ्चालन गर्न लागेको जनाए ।

यसैबीच प्रतिष्ठानले जिल्लाका दशवटा सामुदायिक विद्यालयका गरिव तथा जेहेन्दार दश जना विद्यार्थीहरूलाई नगद तीन हजारका दरले छात्रवृत्ती प्रदान गरेको छ । कार्यक्रमको औचित्यताबारे बताउँदै आजिवन सदस्य भोजराज भट्टराईले कमलराज वर्ष पुरस्कारले आगामी वर्षदेखि निश्चित मिति र महिनामा हुने जनाए । उनले कमलराज वर्ष पुरस्कार र विमला रेग्मी छात्रवृती चयनका लागि आफूहरूको ५ सदस्यीय छनौट समितिले निश्चित मापदण्ड निर्धारण सहित निर्णय गरेको बताए ।
अभिनन्दन समारोहमा स्वर्गीय कमलराज रेग्मीको संक्षिप्त जीवनीबारे प्रकाश पार्दै नेपाल रेडक्रस सोसाइटी पाल्पाका शाखाका सभापति बुद्धिप्रसाद शर्माले रेग्मी पाल्पा जिल्लाका मूर्धन्य साहित्यकार तथा बहुआयामिक प्रतिभा भएको जनाए । अभिनन्दन समारोहमा शुभकामना मन्तव्य राख्दै शिक्षाविद् डा।रामप्रसाद शर्मा ज्ञवालीले रेग्मीको राजनीतिक आत्मालोचनात्मक पक्ष प्रशंसनीय रहेको बताए । उनले स्थानीय जनप्रतिनिधिलाई केन्द्रित गर्दै पाल्पालाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न चौतर्फी पहल गर्नु आवश्यक रहेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालले शिक्षा, स्वास्थ्य र पर्यटनको विकासको लागि सोंचे अनुसारको प्रगति पाल्पामा हुन नसकेको औंल्याए । तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहीले भौतिक युगमा मपाइत्वको कुरामा केन्द्रीत हुने मानवीय स्वभाव परोपकार र उद्देश्यकेन्द्रित भएमा हरेक कर्मले सार्थकता पाउने बताए । अभिनन्दित व्यक्तित्व झपेन्द्र जि.सी.ले अभिनन्दनका लागि आयोजकलाई धन्यवाद ज्ञापन गर्दै साहित्यिक जागरण र सामाजिक जागृतिको लागि सवै लाग्न सकेमा जिल्लाको समृद्धि छिट्टै हुनेमा जोड दिए ।

समारोहमा युनाइटेड मिसन अस्पतालका अस्पताल प्रमुख रचेल कारख, बुद्ध शान्ति फाउण्डेसनकी सन्ध्या रेग्मी, धवल पुस्तकालयका अध्यक्ष युवराज पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्याल, पहिचानकर्ता विनोद भारती लगायतले रेग्मीको व्यक्तित्व, कृतित्वबारे बोलेका थिए ।
प्रतिष्ठानका अध्यक्ष पुष्कर अथक रेग्मीले संस्थाको व्यापीकरणका लागि साझा साथ जरुरी रहने बताए । उनले संस्थाले आगामी दिनमा अझ सशक्त सिर्जनशिल कार्यक्रम अगाडि बढाउदै लैजाने बताए । कार्यक्रम प्रतिष्ठानका महासचिव चन्द्रकान्त न्यौपानेको सञ्चालन र सचिव छलिलाल भुषालको सञ्चालनमा सम्पन्न भएको थियो ।

Comments
Loading...