जिल्लाकै सुन्दर रैयाँ गाउँ, यहाँ पुग्ने जो कोहीको पनि मन लोभिन्छ

0 44

यज्ञमूर्ति तिमिल्सिना । (हुमिन) पाल्पा
घर आँगन सफा चिटिक्क छन् । सबै जसो घरका अघिल्तिर फुल बगैचा छन्। खाना खाइओरी भाडा सुकाउन सबै घरका डिल छेउमा मच्यान बनाइएको छ । सबैका घर घरमा धारा छन् । धारामा पानी आइरहन्छ । यहाँ पुग्दा लाग्छ यो गाउँ साच्चै सुन्दर छ ।

रम्भा गाउँपालिका ४ हुमिनको रैया गाउँको दृश्य हो यो । रैया र रातमाटा वारिपारिका दुई बस्ती जहाँ २९ घर परिवार रहेका छन् । यी सबै घरहरु आलेथरका मगर समुदायका हुन् । धेरै वर्ष पहिले यो गाउँमा एक जना बिश्वकर्मा समुदायका ब्यक्तिले रैया नामको चुरा बनाउने भएकोले यो गाउँको नामनै रैया रहन गएको बताइन्छ । सिंगो हुमिनलाई यसअघि नै पुर्ण सरसफाई उन्मुख वडा घोषणा गरिसकिएको छ । त्यसको सबैभन्दा राम्रो आधार गाउँ नै रैया हो । यसअघि नामक सुआहारा नामक गैरसरकारी संस्थाले यो गाउँमा सरसफाई अभियान सहित बिभिन्न चेतनामुलक कार्यक्रमहरु चलाएको थियो । आर्यभञ्ज्याङ रामपुर सडक खण्ड अन्र्तगत हुमिनबाट १ किलोमिटर कच्ची बाटोको यात्रा पछि यो गाउँ पुग्न सकिन्छ ।

स्थानीय समाजसेवी तिल बहादुर आलेले यो गाउँ मगर होम स्टे संचालनका लागि सबैभन्दा बढी उपयुक्त स्थान रहेको बताए । उनले भने–“यहाँ सरसफाई मात्रै हैन, यहाँका मान्छेहरु असल र सभ्य पनि छन् । पाहुँनाको स्वागत राम्रो गरि गर्न सिकेका छन् । गाउँ पनि रमाइलो र कला संस्कृतिले समेत भरिपुर्ण भएकोले यहाँ होम स्टे सजिलो गरि चलाउन सकिन्छ ।” मगर गाउँ भएकोले मगरी कला संस्कृति झ्याउरे कौरा यो गाउँमा निकै लोकप्रिय रहेको समेत उनले बताए । यहाँका सबै जसो मगरी भाषा बोल्न सक्ने भएकोले मगरी भाषा सिकाई केन्द्र र मगर संग्रहालय समेत यहाँ चलाउन सकिने भएकोले यसतर्फ स्थानीय सरकारको ध्यान जानुपर्ने उनको भनाई छ ।

स्थानीय अगुवा महिला समेत रहेकी कमला आलेले केही वर्ष पहिलेसम्म आफु समेत कोही मान्छेको अगाडि उभिएर बोल्न नसक्ने अवस्था रहेकोमा अहिले धेरै सुधार आएको बताइन् । महिला कल्याण संघ लगायतका संस्थामा आवद्ध भई यहाँका धेरै महिलाहरुले तालिम समेत लिएका छन् । जसका कारण उनीहरुको आत्मबल बढेको छ । उनले भनिन्–“गाउँ घर सरसफाई भएको छ, हामी महिलाहरुको पनि नेतृत्व विकास राम्रो भएको छ ।” उनले भनिन् । “गाउमा अझै राम्रो सम्भावनाहरु पनि छन् । पानी पर्याप्त भएकोले यहाँ कृषि र पशुपालनको राम्रो सम्भावना छ । मान्छेहरु गाउँ छोडेर अन्यत्र बसाइ सर्ने संस्कार एकदमै कम छ । हरेक घरमा मान्छे छन् । यसकारण पनि यो गाउँले राम्रो सम्भावना बोकेको छ ।” गाउँ जाने सहज बाटोको ब्यवस्था, उक्त बाटोलाई माडी फाट सम्म जोड्ने सके यो गाउँको बिकासमा थप टेवा पुग्ने उनले बताइन् ।

यो गाउँको प्रवर्धनका लागि वडा कार्यालय र गाउँपालिका सरकारले समेत योजना बनाएर अगाडि बढेका छन् । वडा अध्यक्ष भोज बहादुर बिकले यो गाउँका मागहरुलाई सम्बोधन गर्दै वडा कार्यालय अगाडि बढेको बताए ।रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले रैया गाउँ रम्भाकै एउटा आकर्षणको केन्द्रको रुपमा रहेको बताए । उनले भने यहाँको सरसफाई, अतिथि सत्कार सबैले सिक्नुपर्छ । यहाँको मुख्य सम्भावाना भनेकै पर्यटन हो । यहाँ आवश्यक पुर्वाधारको विकास गरि प्रचार प्रसार गर्न सके यहाँ धेरै आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिन्छ । यहाँ हुन सक्ने सम्भावानाहरुको पहिचान गरि विकास निर्माण र आयआर्जनका कार्यक्रम समेत अगाडि बढाइने उनले बताए ।

Comments
Loading...