ठूली एकादशीको अवसरमा नाचियो मारुनी

0 32

एवत सारु । (रम्भा) पाल्पा
पाल्पाको फोक्ङ्गिकोटमा मारुनी नाच नाचिएको छ । जिल्लाको रम्भा गाउँपालिका २ फोक्सिङ्गकोटको रानीबासमा हरिबोधनी एकादशीको अवसर पारेर मारुनी नाच नाचिएको हो । गाउँमा प्रत्येक वर्ष हरिबोधनी एकादशी अर्थात ठूलो एकादशीको भोलि पल्ट मारुनी नाच नाच्ने चलन रही आएको छ । हरेक वर्ष असोज शुक्ल अष्टमीको रातीदेखि शुरु भई मंसिरे पुजा पछि मारुनी नाच बिसाउने चलन रहेको नाचका रौरा नरबहादुर सिंजालीले बताए ।

मगर समुदायको लोपोन्मुख तथा ऐतिहासिक महत्व रहेको मारुनी नाच फोक्सिङ्गकोटको रानीबासमा मात्र नाच्ने गरिन्छ । हेरक वर्ष असोज शुक्ल अष्टमीकोको कालरात्री देखि शुरु गरि गाउँमा ४ पटक सम्म मारुनी नाच नाच्ने गरिन्छ । बडा दशैंको भोलि पल्ट, भाईटिकाको भोलि पल्ट, हरिबोधनी एकादशीको भोलि पल्ट र मंसिरे पुजा सकिएपछि यो नाच नाच्ने गरिन्छ । गाउँलाई चारटोलमा विभाजन गरिएकोले पालैसित टोलटोलमा नाच नाच्ने गरिन्छ । नाच नाच्ने दिन पालोपर्ने टोलका आमा समूहका महिलाहरुले खाना बनाउने र अन्य व्यवस्थापन सम्बन्धी काम गर्छन भने पुरुषहरु दिनभरि नाच नाच्ने गर्छन । राती मारुनी नाच सकिए पछि झाम्रे नाच समेत नाच्ने गरिएको नाचका मादले जगतबहादुर पाडेले बताए ।

मारुनी नाचको शुरुवातमा सरस्वती देवीको बन्दना गरिन्छ । गीतको माध्यमबाट सरस्वतीको पूजा गरिन्छ । यो गित गाउन झण्डै ४५ मिनेट लाग्ने जसबहादुर सारुले बताए । मारुनी नाचको गीत गाउँदा गाउनेहरु दुई समूहमा बाँडिएर पालैपाले भाखा हालेर गीत गाउने गर्छन । मारुनी नाचमा डाँडी, झुमरी, मझौटे र ख्याली गीतहरु गाईन्छ भने रामायण र कृष्णचरित्रका विषयलाई समेत भाखा हालेर गाउने चलन रही आएकोछ । रामायण र कृष्ण चरित्रका गीत गाउँदा ६ देखी ९ जनाको समूहमा मिलेर नाच्ने गरिन्छ । यी गीत गाउँदा दुईजना मादलेले नाचनेहरुलाई नचाउने काम गर्दछ । यी गीत गाएको र नाच नाचेको हेर्न निकै रमाईलो हुने गर्दछ ।

डाँडी नाच एउटा विशेष ताल, लय, भाखा भएको गीत हो । यो गीत गाउन र यसमा मादल बजाउन निकै गाह्रो हुने गर्दछ । नयाँ पुस्ताका युवाहरुलाई डाँडी गित गाउँन हम्मेहम्मे पर्दछ । नाच नाच्दा हेर्नेहरुलाई निकै पट्यार लाग्न सक्छ, तर डाँडी नाचमा गाउने, बजाउने र नाच्नेको तालमेल मिलेको खण्डमा नाच असाध्यै रमाईलो हुने रौराका सहयोगी हिरासिं सोमैले बताए । डाँडी गीत गाउँदा गीतमा झुम्मिएर देवी लागेको भान हुने गर्दछ । हरेक डाँडीको झुमरी गीत हुने गर्दछ । झुमरी गीत छिटोछिटो गाउने र नाच्नेका खालको हुन्छ । ख्याली गीत रमाईलो केन्द्रित गीत हो । ख्याली गीत गाउँदा र नाच्दा दर्शकको मन आकर्षण गर्न सकिन्छ । ख्याली गीतमा माया प्रिती, राजामहाराजको बखान, कृष्ण र रामका लीलाहरुलाई बयान गरि गाउने गरिन्छ । औपचारिक सभा तथा अन्य कार्यक्रममा ख्याली गीतलाई दर्शक सामु प्रस्तुत गरिन्छ ।

ख्याली गीतमा एकजना मारुनी, एकजना पुर्छुङ्गे र एकजना मादले नाच्ने गरिन्छ । रानीबासको मारुनी नाच विभिन्न संघसंस्थाको कार्यक्रममा समेत प्रस्तुत गरिन्छ । मारुनी नाचका मुखियालाई रौरा भनिन्छ । मारुनी नाचमा मादल, मजुरा, झ्याली लगायतका वाद्यवादका सामाग्रीको प्रयोग हुन्छ । भर्खरका युवाहरुलाई चोली, टिकीया, फरिया, पाउजु, पटुकी, कण्ठ, डोरी जस्ता परम्परागत भेषभुषाले सिंगारेर मारुनी तयार गरिन्छ । मारुनी संगै नाच्ने पुरुषलाई पुर्छुङ्गे भनिन्छ । मारुनी नाचमा मादललाई विशेष तालमा बजाउने कामलाई ठोकन राखेको भनिन्छ । ठोकन राख्दा देवी देउता लाग्नेहरुको जीउ काम्ने र हल्लिने हुन्छ ।

पुराना पुस्ताको संख्या कम हुदै जानु र नयाँ पुस्ताको रुचि कम भएकोले नाच जोगाउन गाह्रो भएको युवा देबेन्द्रकुमार सारुले बताए । सबैको साथ पाए मारुनी नाच संरक्षण गर्न सकिने मादले गंगा गाहाले बताए । गाउँ छोडेर गएकाहरु मारुनी नाच नाच्न वर्षेनी गाउँ आउने गर्दछन । मारुनी नाचबाट रमाईलो पनि हुने गाउँ विकासमा समेत टेवा पुगेको अमरबहादुर सारुले बताए । यो वर्ष मात्र गाउँमा दशैं, तिहार र एकादशी गरि तीन पटक मारुनी नाच नाच्दा ६० हजार ११६ रुपिया संकलन भएको छ । संकलित रकमले गाउँमा सामुदायिक भवन, खानेपानी, मोटरबाटोका साथै मन्दिर निर्माणमा सहयोग पुगेको छ ।

Comments
Loading...