तानसेनका युवालाई स्वरोजगार सिर्जनामा नगरपालिकाले सघाउने

0 93

पाल्पा । आय आर्जनका माध्यमबाट आत्मनिर्भर हुन चाहने तानसेन नगरपालिका भित्रका उद्यमशील युवाहरुलाई तानसेन नगरपालिकाले बिना धितो ऋण प्रवाह गर्ने भएपछि नगरबासी उत्साहित बन्न पुगेका छन् । तानसेन नगरपालिकाद्वारा सञ्चालित आर्थिक विकासका प्रमुख प्राथमिकता प्राप्त कार्यक्रमहरुमा दलित सशक्तिकरण, महिला स्वावलम्वी कार्यक्रम र युवा स्वरोजगार मुख्य रहेका छन् ।


युवाका लागि उद्यमशीलता विकास कार्यक्रम अन्र्तगत तहगत जनप्रतिनिधिहरु, नगरपालिकाका कर्मचारीहरु र अन्य सरोकारवालाहरुको लागि तानसेन नगरपालिकाको आयोजना तथा यूएनडिपीको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामीण आर्थिक विकास संघ (रेडा) को सहजीकरणमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।


राजेन्द्र कुँवरको सञ्चालन, तानसेन नगरप्रमुख अशोककुमार शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विषय प्रवेश गर्दै शाहीले भने “युवाहरुलाई उद्यमशीलता मार्फत आत्मनिर्भर बनाउन सकिन्छ साथै नेपाल सरकारको सुखी नेपाली समृद्ध नेपाल नारा साकार पार्न समेत सहयोग पुग्दछ भन्ने सोचसहित यो कार्यक्रम शुरु गरिएको हो । युवाहरु समाजका उर्जावान शक्ति हुन साथै समृद्धि र शान्तिका आधार हुन यसर्थ युवा उद्यमशीलता, दलितको परम्परागत सीप संरक्षण तथा प्रवद्र्धन र महिला उद्यमशीलताको विकास जस्ता कामका लागि तानसेनले चासो लिएको छ । बेरोजगारी समस्या सम्बोधनसँगै आत्मनिर्भरताको लागि बलियो आधार युवा स्वरोजगार कार्यक्रम बन्ने छ । स्वावलम्वी र आत्मनिर्भर युवाले मात्र तानसेन समृद्ध तुल्याउन सक्दछन, कृषि पेसालाई सम्मान गर्ने युवाको खाँचो छ । पर्यटन विकास, संस्कृति संरक्षणमा समेत युवा सहभागिताको खाँचो छ ।”
ऋण प्रवाहबारे जानकारी दिदै नेपाल बैँक लिमिटेड तानसेन पाल्पाका प्रवन्धक सुरज घिमिरेले तानसेन नगरपालिकासँग सहकार्य गर्न पाउँदा आफ्नो संस्था उत्साहित भएको बताए । उनले तानसेन नगरपालिका जमानी बसेर बिना धितो प्रवाह गरिने ५ प्रकारका कर्जाबारे बताउँदै भने । “व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजनाका लागि कर्जा रहेको छ । यसैगरी महिला उद्यमशील कर्जा तानसेन नगरपालिकाको सिफारिसमा बिनाधितो कर्जा दिन सकिने छ । दलित समुदायका लागि व्यवसाय विकास कर्जा रहेको छ । ” घिमिरेले सहज र सरल तरिकाले ऋण प्रवाह गर्न सकियोस भनेर तानसेन नगरपालिकाको सिफारिसमा युवा स्वरोजगार कर्जा हेर्नेगरी नेपाल बैँक लिमिटेड तानसेन शाखाले १ जना कर्मचारी तोकेको बताए ।


यूएनडिपीका तर्फबाट बोल्दै प्रदेश ५ का फिल्ड अफिश प्रमुख सुदीप अर्यालले दिगो विकास लक्ष प्राप्तिका लागि समग्र लक्षलाई स्थानीयकरण गरिन आवश्यक छ भन्दै यूएनडिपीका कामबारे चर्चा गरे । दिगो विकास लक्षको स्थानीयकरणको उदाहरण तानसेन नगरपालिकाले अगाडि सारेको युवाका लागि उद्यमशीलता अन्तर्गत युवा स्वरोजगार कार्यक्रम पनि हो भन्दै लक्ष प्राप्तिका लागि सबैको भूमिका महत्वपूर्ण रहने बताए । अर्यालले स्थानीय तह मध्ये पहिलोपटक तानसेन नगरपालिकाले युवाहरुका लागि बिनाधितो स्वरोजगार कार्यक्रमका लागि ऋण उपलव्ध गराउनु सराहनीय पक्ष भएको बताए । उनले पैसा भन्दा अनुभव र अग्रसरताको खाँचो रहेको बताउँदै युवा स्वरोजगार कार्यक्रमलाई सफल बनाउन सरोकारवालाबीच सहकार्य आवश्यक रहेको कुरामा जोड दिए ।


ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले स्थानीय साझेदार संस्थाको भूमिकाबारे जानकारी गराउँदै प्रभावकारी ढंगले युवाहरुको लागि उद्यमशीलता विकास कार्यक्रमलाई कार्यान्वयन गर्न सबैको सहयोगको खाँचो रहेको बताए । उनले स्थानीय तहहरुमध्ये पहिलोपटक तानसेन नगरपालिकाले अगाडि सारेको यो सोच सकारात्मक रहेको बताउँदै युवा स्वरोजगारको अवस्थाबारे प्रस्तुती गर्दै कार्कीले १ सय जना युवा वा समूहलाई ऋण प्रवाह गरिने बताए । । उनले सञ्चारकर्मी लगायत लक्षित समुहमा समेत अभिमुखीकरण गरिने जानकारी गराए ।


कार्यक्रममा सहभागीहरुले सुझाव तथा जिज्ञासा राख्ने क्रममा बेरोजगार युवालाई समेटनुपर्ने, नयाँ युवा उद्यमी तयार गर्नुपर्ने, तानसेन भित्रका महिलासँग रहेको सीप संरक्षण र उत्पादन वजारीकरण गरिनुपर्ने, पाल्पाली ढाका तथा करुवा उद्योग ग्राम स्थापना गर्नुपर्ने, समूहगत रुपमा लागनीलाई प्राथमिकता दिनुपर्ने, होम स्टे गर्न चाहने युवालाई पनि कार्यक्रममा समेटनुपर्ने, दलितहरुलाई विशेष प्राथमिकता दिनुपर्ने, ऋण प्रवाह सरल र पारदर्शी बनाइनुपर्ने, ग्रामीण भेगका युवालाई समेटनुपर्ने, सबै वडाका युवाहरुलाई वडाअध्यक्ष मार्फत कार्यक्रमबारे जानकारी गराउनुपर्ने, तानसेन नगरपालिकाको आन्तरिक संरचना चुस्त दुरुस्त बनाउनुपर्ने, बिना धितो कर्जा दिदा ऋणी भाग्ने अवस्था आउँछ कि भनेर सचेत हुनुपर्ने, उत्पादनको बजारीकरणमा समेत सहयोग गर्नुपर्ने, आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई आधार बनाएर लगानीमा जोड दिनुपर्ने, युवा स्वरोजगार कार्यक्रमका लागि दक्ष जनशक्ति तयार गर्नुपर्ने र कार्यक्रमलाई नगरप्रमुख वा तानसेन नगरपालिकाको मात्र भन्ने नठानी हामी सबैको हो भन्ने सम्झेर सबैले सहयोग गर्नु पर्ने सवाल उठाए ।


करीव १ सय जना विभिन्न क्षेत्रका व्यक्तित्वहरु सहभागी कार्यक्रममा उठेका सवालको जवाफ दिने क्रममा नगरप्रमुख अशोककुमार शाहीले भने–महत्वपूर्ण र महत्वाकाङक्षी कार्यक्रम हुनाले सतर्कतापूर्वक अगाडि बढ्न जरुरी छ भन्ने सुझाव मनन गर्ने छौँ । तानसेन नगरपालिकाको युवा स्वरोजगार कार्यक्रमका लागि यूएनडिपीले सहयोग गर्ने आँट गरेको छ, रेडा र नेपाल बैक लिमिटेडले सहकार्यका लागि हात अगाडि बढाएका छन् । बार्षिक १ सय भनेको ब्यक्ति मात्र नभएर युवा समूह समेत हुनसक्छन् । सरकारले सामान किन्ने होइन उत्पादन गर्न सक्षम बनाउने हो । बजारीकरणका लागि सहजीकरण सहयोग गर्ने हो । मुख्य उदद्देश्य युवाहरुमा उद्यमशीलता विकास गर्ने हो । प्राप्त भएका अवसरलाई व्यवहारमा रुपान्तरण गर्नु पर्छ भन्ने हाम्रो मान्यता छ । परम्परागत उत्पादन बगनासे साँचो, घोरबन्दे कुमालको माटाको भाँडा बनाउने, पाल्पाली ढाका करुवा उत्पादन लगायतका मौलिक सीप संरक्षणमा अन्य स्थानीय तहसँग समेत सहकार्य गरेर अगाडि बढ्ने छौँ । आर्थिक समृद्धिसंगै आत्मनिर्भरताका लागि ससानो प्रयास, कार्यक्रम भएपनि शुरु गरौँ साथै युवाहरुको जोश र जाँगरमा आधारित कार्यक्रम गरौँ भनेर हामीले आँट गरेका हौँ, कार्यक्रम सफल पार्न सबैको साथ र सहयोगको खाँचो छ ।

Comments
Loading...