तानसेनको ल्याण्डफिल्ड साइड रित्तो, बनदेवी जंगलमै फोहोरको थुप्रो

0 209

पाल्पा । १० वर्षदेखि तानसेनको ल्याण्डफिल्ड साइड प्रयोगबिहीन बनेको हो । तानसेन शिवपोखरीको सम्मोबारीमा निर्माण भएको ल्याण्डफिल्ड साइटले नजिकैको बस्तीमा दुर्गन्ध फैलाएको भन्दै स्थानीयले अवरोध गरेका कारण अहिले ल्याण्डफिल्ड साइट प्रयोग बिहीन बनेको छ । फोहोर व्यवस्थापन गर्न भन्दै स्थानीय तहले ३ करोड रुपैयाँ भन्दा बढी लागतमा ल्याण्डफिल्ड साइट निर्माण गरेको थियो ।

ल्याण्डफिल्ड साइड प्रयोगमा नआउदा बजारबाट निस्कने फोहोर बनदेविस्थित जंगल र सडक छेउमा फालिदै आएपछि रोग ब्याधिको समस्या समेत सिर्जना हुने देखिन्छ । जथाभावी रुपमा फोहोर फाल्ने गरेका कारण मानव स्वास्थ्यमा समेत असर पुग्ने गरेको स्थानीयको गुनासो छ ।

तानसेनबाट मात्र दैनिक साँढे २ टन फोहोर उत्पादन हुने गर्दछ । बजारबाट निस्कने फोहोर बस्ती छेउमै फालिदा त्यसबाट निस्कने दुर्गन्धले गर्दा नजिकै रहेका बस्तीमा असर पुगेको छ । वनमा फालिएको फोहोरले यस आसपासका क्षेत्रमा असर पर्न गएको छ भने दिनहु गुड्ने गाडीमा सवार यात्रीहरुलाई यो बाटो पार गर्न समस्या भएको छ । फोहोर व्यवस्थापनका लागि निर्माण गरिएको ल्याण्डफिल्ड साइटको विस्तृत अध्ययन गरि सबैको सहकार्यमा समस्या समाधानमा लाग्ने तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले बताउनुभयो । उहाँले केही महिनामै कुहिने र नकुहिने फोहोर ब्यवस्थापन गरि कुहिने फोहोरबाट मल बनाउने प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

यता तानसेन नगरपालिकाको फोहोर व्यवस्थापनको जिम्मेवारी नीजि क्षेत्रलाई दिइएको छ तर फोहोर व्यवस्थापन कार्य झनै अस्तव्यस्त भएको छ । वातावरण सुन्दर नेपाल नामक गैर सरकारी संस्थाले जिम्मेवारी लिएको भएपनि पहिलेको तुलनामा झनै काम हुन सकेको छैन । तानसेन नगरपालिकाका प्रवक्ता यादव सिं कार्कीले उक्त संस्थालाई अलि प्रभावकारी रुपमा काम गर्नका लागि ६ महिना समय कार्यपालिका बैठकबाट दिइएको र सो समयमा पनि राम्रो काम नभए नगरपालिका सोच्न बाध्य हुने बताउनुभयो ।

Comments
Loading...