तानसेनको सधैं समस्या ट्राफिक व्यवस्थापन, अव केही नयाँ हुने आस

0 24

नेत्र गैरे
पाल्पा । सवारी दुर्घटना न्युनिकरण र बजार व्यवस्थापनको निम्ती पार्किङ तथा रुट निर्धारण सम्बन्धी अन्र्तक्रिया कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।
तानसेन नगरपालिकाका योजना तथा प्रशासकिय अधिकृत बिष्णु पौडयालले तानसेन नगरपालिका भित्रको सवारी तथा यातायातको वर्तमान अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्दै शहर सानो तर सेवा केन्द्र धेरै भएकोले सवारी साधन र यातायात लाई व्यवस्थित गर्न नसकेको बताए । उनले बजार क्षेत्रमा बैकल्पिक मार्ग घुमाउरो झंझटीलो, सानो क्षेत्र साधन धेरै, सःशुल्क पार्किङ क्षेत्र भएपनि उपयोग कम, ठाडो सडकमा साना साधन पार्किङ, नगर बाहिर बाट आउने जाने सवारी साधनको अव्यवस्थित पार्किङ, व्यावसायीबाट सडक पेटी अतिक्रमण भएको लगायतका समस्याहरु रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथी प्रदेश नं. ५ का प्रदेश सदस्य पुरनमान बज्राचार्यले नगरमा देखिएका समस्या नगरबासी बाटै जन्मेको हुदाँ सोही निकाय बाट समाधान खोज्नुपर्ने बताए । जनताले जनताको काम गर्न जनप्रतिनिधिलाई जिम्मा दिएको हुदाँ अब स्थानिय सरकारले खुट्टा नकमाइ जनताको मर्म बुझि काम गर्नुपर्ने बेला आएको बताए ।तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले सबै संघ,सस्थाहरुको सल्लाह साथ र सहयोगमा आफुले काम गर्ने बताए । बनदेवी क्षेत्रमा बसपार्क बनाउने प्रक्रिया अगाडी बढाएको बताउदै तानसेन नगरलाई शैक्षिक नगरको रुपमा परिचित गराउने उद्धेश्यले तत्कालै बजारमा रहेका बिद्यालय क्षेत्रमा हर्न निषेध र पाकिङ निषेध गराउनुका साथै सडक पेटीमा रहेका अव्यवस्थित कारोबारलाई हटाउने बताए ।

प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले तानसेन नगरलाई व्यवस्थित गर्न सबै क्षेत्रको सहयोग र सुझावलाई साथ लिएर सहकार्य गर्ने बताए । जिल्ला समन्वय समिति उप प्रमुख मिरा मरासिनीले जनताले जनप्रतिनिधि पाई स्थानिय सरकार बनीसकेको अबस्थामा राष्ट्रसेवक, सरोकारवालाहरु संग समन्वय गरि अघी बढनुपर्नेमा जोड दिइन् । तानसेनको बिकासका लागि समयानुकुल संस्कार र संकृतिमा परिवर्तन गर्दै अघि बढनु पर्ने ने. क. पा. का नेता धनेन्द्रराज घिमिरेको भनाइ थियो । प्रहरी उपरिक्षक विश्वमणी पोखरेलले देश प्रविधि मैत्री नभएका कारण धेरै जनशक्ति खर्चन परेको हुदाँ अल्पकालिन र दिर्घकालिन कार्यक्रम बनाइ सवारी व्यवस्थापन गर्नु पर्ने बताए ।

नगरमा देखिएको सवारी अस्तव्यस्तता लाइ सहज गराउन बसेको सर्वपक्षिय भेलामा उद्योगी, व्यापारी, व्यावसायी पत्रकार, टोल बिकास सस्थाका प्रतिनिधि, उपभोक्ता मञ्चका प्रतिनिधिहरुले नगरले अल्पकालिन र दिर्घकालिन कार्यक्रम बनाउनु पर्ने, व्यवस्थित बधशाला, उपयुक्त स्थानमा ग्यारेज र पार्किङको व्यवस्था गर्नुपर्ने बताए । उनीहरुले नगर व्यवस्थापनमा सबै सरोकारवालाहरुको ध्यान पुग्नुपर्ने, उपयुक्त स्थानमा पेट्रोल पम्पको व्यवस्थापन,स्थानिय सरकार व्यावसायी र ट्राफिक प्रहरी बिचको समन्वय हुनुपर्ने लगायतका बिषयमा सवालहरु उठाएका थिए ।

तानसेन नगरपालिकाको आयोजना, जिल्ला प्रहरी कार्यालय पाल्पा र जिल्ला ट्राफिक कार्यालय पाल्पाको समन्वयमा संचालन भएको अन्र्तक्रिया कार्यक्रम नगर सरसफाई शाखा प्रमुख शंकर भण्डारीको संचालन र नगर प्रमुख अशोक कुमार शाहीको अध्यक्षतामा सम्पन्न भएको हो ।

Comments
Loading...