तानसेन नगरभित्रका उत्कृष्ट १० उद्यमीमा को को परे ?

0 38

पाल्पा । दायित्व संस्थाले तानसेन नगरपालिकासितको सहकार्यमा संचालन गरेको तानसेन नगरपालिका स्तरीय उद्यम प्रतियोगिता अन्र्तगत उत्कृष्ट १० उद्यमीको छनौट गरेको छ ।
प्रतियोगिताका लागि तानसेन नगरपालिका भित्रका २ सय बढी उद्यमीहरुले सहभागिताका लागि फारम भरेका थिए । फारममा उल्लेख गरिएको बिवरण र उनीहरुको ब्यवसायिक योजनाको आधारमा उत्कृष्ट २० उद्यमीको छनौट गरिएको थियो ।

उत्कृष्ट २० मध्ये उनीहरुको ब्यवसाय निरीक्षण सहित अन्र्तवार्ता र एसएमएस मतको आधारमा उत्कृष्ट १० उद्यमी छनौट गरिएको हो । तानसेनका १० उद्यमी मध्ये तानसेन बसन्तपुरकी होम स्टे ब्यवसायी मधुमाया बस्याल, बौघापोखराथोकका बाख्रापालक किसान मिन बहादुर आले, तानसेनकै होम स्टे ब्यवसायी मेघनाथ भण्डारी, मदनपोखराका तरकारी खेती, मौरी र कुखुरापालक किसान खेमराज न्यौपाने, बौघापोखराथोककै गाईपालक तथा तरकारी खेती गर्दै आएका किसान देबी बहादुर राना, अर्गलीका तरकारी खेती गर्दै आएका किसान निर्मल राना, बौघापोखराथोकमा बंगुरपालन, कुखुरापालन र तरकारी खेती गर्दै आएकी किसान मनिसरा राना, अर्गलीकी गाईपालक पवित्रा गैरे, मदनपोखरामा तरकारी खेती गर्दै आएका रमेश पंगेनी, मदनपोखराकै गाईपालक सुमा बञ्जाडे रहेका छन् ।


उत्कृष्ट १० लाई सम्मानपत्र प्रदान गर्दै तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले यस प्रकारको कार्यक्रमबाट उत्कृष्ट उद्यमीको पहिचान हुने अरुलाई पनि उत्कृष्ट रुपमा काम गर्न प्रेरणा मिल्ने बताए । उनले नगरपालिकाको उन्नतीको आधार नै उद्यम भएकोले युवापुस्ताले यसतर्फ चासो दिएर लाग्न सक्नुपर्ने बताए ।


तानसेन नगरपालिका वडा नं. ६ का अध्यक्ष सागरमान महर्जनले नगरपालिका क्षेत्रभित्रका उद्यमीहरु बीचको यस प्रकारको प्रतियोगिताले एकातिर सफल उद्यमीको पहिचान हुने र अर्कोतर्फ सफल हुनका लागि अरु उद्यमीहरु पनि अग्रसर हुने बताए । दायित्वले उत्कृष्ट १० उद्यमीहरुलाई ब्यवसायिक साक्षरता कक्षा समेत संचालन गरेको छ ।


आगामी महिना उद्यमीहरुको ब्यवसायिक स्थलको निरीक्षण र अन्र्तवार्ता पनि उत्कृष्ट ५ उद्यमी घोषणा गरि उत्कृष्ट ५ लाई ५० हजारका दरले उद्यम प्रवर्धनका लागि पुरस्कार स्वरुप रकम प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उत्कृष्ट १ उद्यमी छनौट गरि १ लाख रुपैया प्रदान गर्ने कार्यक्रम रहेको दायित्व उद्यम प्रतियोगिता कार्यक्रमका संयोजक स्नेहा शाक्यले बताइन् ।

Comments
Loading...