तिहारमा ढाका व्यापार बढ्यो

0 39

कमल बस्याल । पाल्पा
तिहार र जाडो याम सुरु भएसँगै पाल्पाली ढाकाको कारोबारमा वृद्धि भएको छ । तिहारमा दाजुभाई र दिदीबहिनीलाई ढाकाको कपडाबाट बनेका उपहार दिने चलन रहेकाले पाल्पाली ढाकाको कारोबार बृद्धि भएको हो । त्यसो त ढाका शरीरलाई तातो राख्ने कपडा भएकोले पनि जाडो याम सुरु भएसंगै यसको ब्यापारमा पनि बृद्धि हुने गर्दछ ।

अहिले आफ्नो पसलबाट दैनिक ४० देखि ५० हजारसम्मको कारोबार हुने गरेको पाल्पाली मदनपोखरा ढाका पसलका सञ्चालक कमल भण्डारीले बताए । तिहारका बेला टोपी, आस्कोट, चोली, झोला बढि विक्री हुने गरेको व्यवसायीहरुको भनाई छ । पाल्पामा उत्पादन भएका ढाकाका सामाग्री काठमाण्डौ लगायत देशका बिभिन्न स्थानमा निर्यात हुने गरेको छ । जिल्लामा पाल्पाली ढाकाबाट वार्षिक १० करोडको कारोवार हुने गरेको छ ।

ढाका टोपी, चोली, पछ्यौरीमा सिमित रहेको पाल्पाली ढाकालाई बिभिन्न उपहार र सम्मानको पोसाकको रुपमा दिने चलन बढेसंगै ढाकाको ब्यापारमा पनि बृद्धि भएको कार्की ढाका पसलकी सञ्चालिका ज्ञानु कार्कीले बताइन् । पाल्पामा ढाकाबाट बनेका गिफ्टका सामाग्रीसँगै पर्स, टाई, ब्याग, आसकोट, कुर्ता, दौरा सुरुवाल लगायतका ४० प्रकारका सामाग्री उत्पादन हुन थालेको ब्यवसायीहरु बताउँछन । पाल्पा आउने बित्तिकै पर्यटकले ढाकालाई यहाँको चिनोको रुपमा हेर्ने हुनाले पनि पर्यटकको ढाकामा आकर्षण बढ्ने गरेको सरस्वती ढाका उद्योगका संचालक हरी रायमाझीले बताए ।

Comments
Loading...