तेर्सो सडकमा ढुंगा छाप्ने कार्यले तीव्रता पाओस्

0 103

तानसेन नगरपालिका अन्र्तगत तेर्सो सडकमा अहिले ढुंगा छाप्ने कामका लागि भएको पक्की सडक पनि भत्काइएको छ । हुन त अहिले पाल्पा दरबार परिसरलाई सजाउने प्रयास भएको छ । दरबार परिसरमा दुबो लगाइएको र सुन्दर बगैचा बनाइएको छ । यसले दरबार संग्रहालयको सुन्दरता बढाएको छ । पछिल्लो समय दरबार संग्रहालयमा आउने पर्यटकहरुले टिकट लिनुपर्ने भएपछि दरबारमा कति पर्यटक आए भन्ने कुराको राम्रो रेकर्ड पनि बनेको छ । दरबार संग्रहालयमा आउने पर्यटकहरुले दरबार संग्रहालय अवलोकनपछि खासै ब्यवस्थापन नभएको, संग्रहालय नामाकरण गरिएपनि यहाँ पर्याप्त हेर्न लायक सामाग्रीहरु नभएको गुनासो भने गरेकै छन् । अर्को दरबार संग्रहालय परिसर वा परिसरको बगैचामा उभिएर तस्बिर खिचाउनेहरु पनि छन् । जे भएपनि दरबार संग्रहालय परिसरको ब्यवस्थापन बिस्तारै राम्रो हुँदैछ ।

हामीले भ्रमण बर्ष २०२० को स्वागत गरिसकेका छौं । यतिमात्रै हैन यो अवसरमा हामीले धेरै पर्यटकलाई स्वागत पनि गर्यौ । तर जुन दिन हामीले तानसेनमा पर्यटन बर्षको स्वागत गर्यौ त्यो दिन तानसेनको मुटु तेर्सो सडक हुँदै दरबार संग्रहालय जाने पर्यटकहरुले हामीलाई धिक्कारे । किनकी यो बाटो पर्यटक हिडिसाध्य नै थिएन । अर्को दिन त झनै पानी पर्यो । सडक हिलाम्मे भयो । धेरैले सामाजिक सञ्जालमा यही फोटो राखे र तानसेनमा भ्रमण बर्षको स्वागत भन्दै हासोको बिषय बनाए । हामीकहा समस्यै समस्या छन् । यही भत्काउने काम पनि भ्रमण बर्षको शुभारम्भमै गर्नुपर्ने के कारण थियो ? किन १ महिना पहिला गर्न सकिएन । सायद एक महिना पहिला सुरु गरिएको भए अहिलेसम्म यहाँ ढुंगा छाप्ने काम सम्पन्न भइसक्थ्यो । तर तानसेन नगरपालिकाको ध्यान समयमा पुग्न सकेन ।

तेर्सो सडकको मात्रै हैन तानसेनका धेरै भित्री सडकको अवस्था ठिक छैन । खाल्डा खुल्डी उस्तै छन् । तानसेनबाट गुल्मी जाने बनदेवी क्षेत्रको सडक खत्तम छ । अहिले त झनै सडक फराकिलो बनाउने बाहनामा भएको पिच पनि भत्काइएको छ । सडक नै जीर्ण भएको छ । यी सडकहरुको तत्काल मर्मत गरिनुपर्छ । अर्कोतर्फ तेर्सो सडकमा भइरहेको ढुंगा छाप्ने कामलाई तीव्र गतिमा अगाडि बढाइनुपर्छ । सके निर्धारित समयभन्दा छिटो नसके निर्धारित समयमै यो काम सम्पन्न हुनुपर्छ । काममा १ दिन पनि ढिलाई हुनु हुदैन । यो बाटो बेला न कुबेला भत्काइदा पर्यटन बर्षको शुभारम्भमै दरबार संग्रहालय आउने पर्यटकलाई निकै अप्ठेरो भएको छ । यसर्थ यो स“गै तानसेनका आन्तरिक बाटाहरुको मर्मत तथा सरसफाई कार्यमा नगरपालिकाको यथासिघ्र ध्यान जानु आवश्यक छ ।
पाल्पा समाचारपत्र बर्ष ९ अंक २४ को सम्पादकीय

Comments
Loading...