दर्पुक र दैलातुङका बोटे जातिः जन्मदेखि मृत्युसंस्कारसम्म

0 582

यज्ञमूर्ति तिमिल्सिना
पाल्पा सदरमुकाम तानसेनबाट झण्डै १५ किलोमिटर उत्तरमा पर्छ बगनासकाली गाउँपालिका । यही गाउँपालिकाको वडा नं. ७ स्थित खानीगाउँको दैलातुङ र वडा नं. ६ स्थित यम्घाको दर्पुकमा बस्छन् सीमान्तकृत बोटे समुदाय । यी दुवै गाउँ कालीगण्डकीको किनारमै छन् । दैलातुङमा बोटे समुदायका १७ घर छन् । त्यस्तै दर्पुकमा ९५ घर बोटे समुदाय छन् । अहिले दैलातुङमा बोटे समुदायको जनसंख्या १२० छ भने दर्पुकमा यो समुदायको जनसंख्या ३ सय ५० हाराहारी छ । हुन त यी दुवै गाउँमा ब्राह्मण, मगर समुदायको पनि बसोबास छ तर बोटे समुदायको रहनसहन र सांस्कृतिक पहिचान भने बेग्लै छ । यहाँमात्रै हैन, पाल्पाको तानसेन नगरपालिकाको बौघागुम्हा, रामपुर नगरपालिकाको रामपुर र दर्छा तथा रम्भा गाउँपालिकाको हुँगीमा पनि बोटे समुदायको बसोबास छ । यी सबै बस्ती कालीगण्डकी किनारमै पर्छन् ।

२०६८ सालको जनगणनाअनुसार देशभर बोटे जातिको जनसंख्या १० हजार छ । पाल्पामा भने यो जातिको जनसंख्या ८ सय ३ छ । जसमा महिलाको संख्या ४ सय ३९ छ भने पुरुषको संख्या ३ सय ६४ छ । पाल्पाको कुल जनसङ्ख्या २ लाख ६१ हजार १ सय ८० रहेकामा जिल्लामा बोटे समुदायको जनसंख्या भने ०.३१ प्रतिशत हुन आउँछ । त्यस्तै ६७१ बोटेले मातृभाषा बोल्छन् । कुल जनसंख्याका आधारमा मातृभाषा बोल्नेको प्रतिशत ०.२६ छ । पाल्पाबाहेक चितवन, उदयपुर, मकवानपुर, तनहुँलगायतका जिल्लामा समेत बोटे जातिको बसोबास रहेको पाइन्छ ।

यो जातिको मुख्य पेशा कालीगण्डकीमा डुङ्गा चलाउने, माछा मार्ने भए पनि १० वर्षअघि कालीगण्डकी नदीमा झोलुङ्गे पुल बनेपछि डुङ्गा चलाउने पेशा बिस्थापित भएको स्थानीय बोटे अगुवा ८२ वर्षीय गजवीर बोटेले बताउनुभयो । अन्यत्रका बोटे जस्तो यहाँका बोटेले गण्डकी किनारमा सुन खोज्ने काम गर्दैनन् । यहाँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक तथा भारत गएका छन् । छिमेकमा रहेका ब्राह्मण, मगर समुदायका व्यक्तिका घर र बोटेका घर त्यसै पनि फरक छन् ।

अन्य समुदायका घरमा टिनको छानो लगाइएको छ भने बोटेहरूका धेरैजसो घर झुपडी र टिनको छाप्रोयुक्त छन् । वैदेशिक रोजगारीका अलावा पुरुषहरू सिकर्मी डकर्मी काम गर्ने, वल्लोपल्लो घरमा ज्याला मजदूरीमा काम गर्न जाने गर्छन् भने महिलाहरू छिमेकीका घरको कामधन्दासँगै उनीहरूका खेतबारीको काम पनि गर्छन् । यहाँका बोटे समुदायसँग उनीहरूलाई गरिखान पुग्ने जग्गा जमिन कमैसँग मात्र छ । त्यसैले उनीहरूले आफ्नो उत्पादनले नपुगेको समयावधिभर किनेर खानुपर्ने अवस्था छ ।

कमाउन सक्ने जति कोही भारत गए, कोही नेपालकै अि वभिन्न ठाउँमा पुगेका छन् । आर्थिक उन्नतिको अवसरका लागि बोटे समुदायका मानिस पनि यहाँबाट अन्त बसाइँ सर्ने क्रम बढेको छ । कालीगण्डकी नदीमा डुङ्गा तार्ने र माछा मार्ने पेशा संकटमा परेपछि यहाँका बोटे समुदायका मानिस हातमुख जोर्नका लागि गाउँ छाड्दै गएको दैलातुङका ८२ वर्षीय गजबीर बोटेले बताउनुभयो ।

जन्म संस्कार
बोटे जातिका अगुवा गजबीर बाटेका अनुसार बोटे जातिका बालबालिकाको न्वारन पनि अन्य जातिको जस्तै ११ दिनमै हुन्छ । तर बिधि भने फरक छ । न्वारनको दिन बोटे जातिका कुटुम्ब अर्थात् (भाञ्जा भाञ्जी ज्वाइ)ले घरमा पुजा गर्छन् । न्वारनको दिन अघि नै पुरोहितकोमा गई बालक वा बालिकाको नाम जुराई राखिएको हुन्छ र न्वारनको दिन सबैलाई नाम सुनाउने प्रचलन छ । न्वारनको दिन आफन्त छरछिमेकी भेला भई मादल डम्फु बजार झ्याउरे गाउने, नाच्ने प्रचलन रहेको छ । यो दिन निम्तारीहरुलाई मिठो मसिनो खुवाउने प्रचलन रहेको छ ।

भात खुवाई
बोटे जातिमा ५ महिनामा छोरीको र ६ महिनामा छोराको भात खुवाई गर्ने प्रचलन छ । खासगरि छोरी भएमा भात खुवाई मात्र हुन्छ भने छोरा भएमा छोराको भात खुवाइ अलि बिशेष हुने गर्दछ । छोराको भात खुवाईमा आफन्त बोलाउने भोज खुवाउने र नाचगान गर्ने गरिन्छ । यो दिन चेली बेटी र कुटुम्बहरुलाई गक्ष अनुसार दान दक्षिणा गर्ने पनि गरिन्छ । भात खुवाईको दिन राति इष्टमित्र, आफन्त सबै जुटेर अर्को दिन बिहानसम्म झ्याउरे गाउँने र नाच्ने गरिन्छ । अर्को दिन बिहान रातो टिका लगाई गक्ष अनुसार दक्षिणा दिई गाउने नाच्ने ब्यक्तिहरुलाई बिदाई गर्ने प्रचलन रहेको छ ।

छेवार
बोटे जातिमा छोरा जन्मेको ६ वर्ष पुरा भएपछि छेवार गर्ने प्रचलन रहेको छ । यो दिन मामाले बालकको कपाल खौरेर टोपी लगाईदिने चलन छ । यो दिन आफन्त तथा इष्टमित्रलाई समेत निम्तो गरि गक्ष अनुसार दान दक्षिणा दिने र निम्तारीहरुलाई भोज खुवाउने प्रचलन छ ।

बिवाह संस्कार
बोटे जातिको बिवाह संस्कार पनि बेग्लै छ । पहिल्यै देखि नै यो जातिमा मामाको छोरी आफ्नै भाञ्जालाई बिहे गरि दिने चलन छ । कोहीले भगाएर ल्याउने र पछि दुबै पक्षको सहमति अनुसार मिति तय गरि ढोगभेट गर्ने प्रचलन रहेको छ । भगाएर नल्याउनेहरुका लागि आफन्ती र गन्नेमान्ने मानिसहरु केटीको घरमा केटी माग्न जाने र दुबै पक्षबीच मञ्जुरी भएपछि बिहेको मिति तोक्ने गरिन्छ । बिहे अर्थात् ढोगभेटको दिन केटा पक्षले सगुनको रुपमा खानेकुराहरु पनि लैजान्छन् । बिहेको दिन पनि केटा पक्ष र केटी पक्ष मादल डम्फु बजाएर झ्याउरे नाच्ने गर्दछन् । बिहेका जन्ती बिदा हुने बेला सबै जन्तीहरुलाई केटी पक्षले टिका लगाई गक्ष अनुसार दक्षिणा दिने चलन पनि रहेको छ । त्यस्तै ८४ पुजा भने अन्य जातिहरुले जस्तै गर्ने प्रचलन रहेको छ ।

मृत्यु संस्कारः
बोटे जातिको मृत्यु संस्कार भने अन्य जातिको तुलनामा बेग्लै छ । यस क्षेत्रका दैलातुङ, दर्पुक र छेलुङका बोटेहरुको मृत्यु संस्कार एउटै रहेको गजबीरले बताउनुभयो । यो जातिको घरमा जसको मत्यु हुन्छ त्यो घरका किरियापुत्रीहरू किरिया समयभरि आफ्नो जाति बाहेक अन्य जातिसँग बोल्दैनन् । संस्कार अनुसार शवको दाहसंस्कार स्थानीय कालीगण्डकी किनारमा गरिन्छ र सो दिन मलामीहरुलाई खाना खुवाइन्छ ।
मृत्यु परेको ४ दिनको दिन नाता कुटुम्बहरुले असुराको स्याउलामा सकेसम्म मालभोग र नभए मुंग्रे केरा ४ वटा पोको पारेर डोकोमा राख्ने चलन छ । असुराको स्याउलामा केरा बेर्ने क्रममा कुटुम्बहरुले मालभोगै केरा पकाउन हालेम असुराको पातैमा लगायतका शब्द समेटिएको अर्गौ गाउँने गर्दछन् ।

११ औं दिनको दिन फेरि उनै कुटुम्बले नै अर्गौ गाउँदै सोही केरा निकाल्ने प्रचलन छ । घरमा मन्दिर बनाइएको हुन्छ मन्दिरमा फुलपाती राखिएको हुन्छ । यदि पुरुषको मृत्यु भएको हो भने भाले र महिलाको मृत्यु भएको हो भने पोथी कुखुरा काट्ने गरिन्छ । सो दिन नाता कुटुम्बले पकाएर किरियापुत्रीलाई खान दिने चलन छ ।

११ औं दिनको दिन नै घरभित्र पुजा गरेका पुजा सामाग्री पुनः घर बाहिर अर्को थान बनाई अर्गौ गाउँदै बाहिर ल्याएर बाहिरको थानमा राखिन्छ । उक्त थानमा अस्थायी मुर्ति पनि बनाएर राखिएको हुन्छ । ११ औं दिनको दिन साँझदेखि अर्को दिन बिहानसम्म सबै आफन्तहरु तथा छरछिमेकी जुटेर अर्गौ गाउने गरिन्छ ।

मृत्यु भएको १२ औं दिनको दिन बिहान अर्गौ गाउँदै सबैजना यसअघि शवको दाहसंस्कार गरेकै ठाउँ कालीगण्डकी किनारमा पुग्ने गर्दछन् । किनारमा घोडा र स्याल जस्तै देखिने गरि मानिसलाई सिगार्ने गरिन्छ । कुविन्डोलाई खोपेर जल राख्न मिल्ने बनाइन्छ । गण्डकीको जल कुटुम्बको सहयोगमा किरियापुत्रीले कुविन्डोभित्र राख्छन् र सबै जना अर्गौ गाउँदै घर फर्कन्छन् ।

घर फर्केपछि अघिल्लो दिन घर छेउमा बनाइएको थानमा रहेको मुर्तिमा जल जढाउँछन् । उता यसअघि सिगारिएका स्याल जस्तै जस्तै मानिसहरु घरको ढिकमुनी रहेका हुन्छन् । सबैले जल चढाएर सकिएपछि चे चे भनेर स्याल जस्तै गरि सिगारिएका मानिसहरुलाई बोलाइन्छ । सोही बीचमा जल सकिएको कुविन्डोलाई सानो खाल्डो खनेर खाल्डो भित्र राखिएको हुन्छ स्यालरुपी मान्छे आएर उक्त कुविन्डो घरमुनि फालिदिन्छन् र उक्त कुविन्डोलाई फेरि कुटुम्बहरुले नै बट्याएर ल्याई थानमा नै राख्ने गर्दछन् । त्यसदिन सहभागी सबैलाई खानापिना
गराइन्छ ।
दृश्यः १
१२ दिनको दिन राति ११ बजे घरबाट बाघरुपी मान्छे निकालिन्छ । सँगै ३ वटा ढेडु बाँदर रुपी मान्छे पनि बनाइन्छ र थानमा लगेर घुमाउने नचाउने गरिन्छ । बाँघले बाँदरलाई टोक्न खोज्छ, बाँदरले उल्टै बाँघलाई जिस्क्याउँछन् । ती तीन वटा बाँदर रुखमा चढ्छन् । पछि बाँघले बाँदरलाई मारेको दृश्य देखाइन्छ । त्यसपछि सिंगारिएको बाघ सहित बाँदर र सबै जना घर भित्र जान्छन्

दृश्यः २
त्यसपछि मृग निकालिन्छ । सँगै एक जना शिकारी र एक जना लामा पनि हुन्छन् । लामाले सुपो ठटाउँदै बसिरहेका हुन्छन् । सोही क्रममा शिकारीले लामासँग मेरो कुकुरलाई के भएको होला भनेर सोध्छन् । लामाले तिम्रो कुकुरले खान नपाएर यस्तो भएको हो भन्ने जवाफ दिन्छन् । त्यसपछि कुकुरलाई थोरै जाड रक्सी दिइन्छ त्यसपछि कुकुर भुभु गर्दै हिड्छ । मान्छेले नै कुकुर जस्तै गरि अभिनय गर्छन् । शिकारीले खरानी पुत्ताउँदै दुर्गुछ । त्यसपछि शिकारीले धुनसले हानेर मृगलाई मार्छ । मृगलाई ल्याएर शिकारीले थानमा राख्छ । त्यहाँ लामाले पनि हेरिरहेको हुन्छ । त्यसपछि सबै जना अर्गौ गाउँदै घरभित्र पस्छन् ।
दृश्यः३
१२ दिनको दिन राति नै लाटी निकालिन्छ । थांग्ना र भुल्ला कपडा राखेर डोको बोकेकी लाटी घर बाहिर निस्किन्छिन् । लाटी बाहिर निस्केपछि केटाहरुले लाटीलाई मैले लैजान्छु भन्दै दुई तिरबाट तानातान गर्छन् । लाटीले म बोल्न सक्दिन म कसैसँग पनि जान्न भनेर इशारा गर्छिन् । त्यही मध्ये एउटाले तलाई मोहनी लगाएर भए पनि लैजान्छु भने पछि मात्र लाटीले हुन्छ भनेर इशाराले स्वीकृत दिन्छिन् । त्यसपछि कुसुन्डा निकालिन्छ । सो कुसुन्डालाई पनि थानमा ल्याएर नचाइन्छ ।

१३ औं दिनको दिन बिहान कुटुम्बले उखु ल्याउँछन् । उखुको मुर्ति बनाएर कपडाले ढाकिन्छ । काचो केरा वा कुभिण्डोको पाडो पनि बनाइन्छ । यो बनाउँदा पनि अर्गौ गाइन्छ । बनाएर राखिएको पाडोलाई महिलाले मेरो पाडो दिन्न भन्छिन् तर पुरुषले तेरो पाडो दुब्लो रैछ ५ रुपैयाँमा लैजान्छु भन्छन्, उता महिलाले गीतकै सुरमा दिन्न भन्छिन् । अन्तिममा ४÷५ सय रुपैयाँमा दिने गरि कुरा मिल्छ । पाडो काटिन्छ ।
त्यसपछि धुप गरिन्छ । थान भित्रका सबै सामाग्री उठाएर अर्गौ गाउँदै गण्डकीमा लगिन्छ । गण्डकीमा जादा मुर्ति कुटुम्बले बोक्छन् भने अरु पछि पछि अर्गौ गाउँदै पछि पछि जान्छन् । किरियापुत्री पनि पछि पछि जान्छन् । अर्गौ सबै सकिएपछि सबै जना हर हर भन्दै गण्डकीमा डुबुल्की मार्छन् त्यसपछि किनारमै सबैले सालैजो गाउँछन् । कपडा फेरेपछि सबै जना किनारमै गोलो घेरामा बस्छन् । कुटुम्ब मध्ये १ ले बासुरी बजाउँछन् । अर्कोले भाडोमा जल लिएर सात फेर घुम्छन् । त्यसपछि जल र अक्षताले सबैलाई चोख्याउँछन् । किरियापुत्रीलाई पनि कपडा फेराइन्छ र बगरमै टिकापाती हुन्छ । त्यसपछि किरियापुत्रीलाई बीचमा राखेर सालैजो गाउँदै घरमा आइन्छ ।

यता घरमा रहेको थान चेलीबेटीहरुले भत्काइसकेका हुन्छन् । कुखुरा, बाख्रा र पाडो काटेर साप्रो र टाउको थानमा चढाउने गरिन्छ । चेलीबेटीले घरमा खानेकुरा पकाएर राखेका हुन्छन् । गण्डकी किनारबाट फर्केका सबैलाई चेलीबेटीहरुले नै सुनपानी र गहतले छ्यापेर चोख्याछन् । पाहुँना र किरियापुत्री सबैलाई खाना खुवाइन्छ । १३ दिनको संस्कार सकिएपछि कुटुम्बहरुलाई दान दक्षिणा गरिन्छ । टाढाका आफन्तहरु बिदा हुन्छन् नजिकका इष्टमित्र र आफन्तहरु डम्फु र मादल लिएर झ्याउरे गाउन थाल्छन् । १३ दिनको दिन राति कुटुम्बले दुई वटा ससाना बास फुटाल्छन् । त्यसपछि जुठो उम्किएको बुझिने दर्पुकका ३० वर्षीय युवा दल बहादुर बोटेले बताउनुभयो ।
बगनासकाली फिचर संग्रहबाट साभार

Comments
Loading...