दिउँसोमा आतंकः सुत्नेलाई डिस्टर्व भयो भन्दै रातिमा टिप्पर चलाउन प्रतिबन्ध

0 1,773

पाल्पा । बुटवल तानसेन सडक सहित बिभिन्न शाखा बाटोहरुमा समेत टिप्पर आतंक छ । दिउँसोको समयमा सदरमुकाम तानसेनमा पनि टिप्परकै कारण जनजीव प्रभावित भएको छ । तीव्र गतिकै कारण पाल्पामा हप्ता २ भन्दा बढी टिप्पर दुर्घटनाका खबरहरु आउने गरेका छन् ।

जसका कारण बटुवा र स्कुले बालबालिका सबै भन्दा अप्ठेरोमा परेका छन् । यसको न्युनीकरण र गति सिमित गराउनेमा स्थानीय प्रशासनको पटक्कै ध्यान गएको छैन ।

रातिमा चलाउन रोक
दिउँसोमा टिप्परको गति अत्याधिक रहन्छ र धेरै संख्यामा टिप्परहरु आउने जाने गरिरहन्छन् । दिउँसोको तुलनामा रातिको समयमा टिप्पर ज्यादै कम गुड्छन् । तर रातिको समयमा बाटो छेउका मानिसहरुलाई सुत्न डिस्टर्व भएको भन्दै रातिको समयमा टिप्पर चलाउन प्रतिबन्ध लगाइएको छ ।

राति ९ बजेदेखि विहान ४ बजेसम्म तानसेन बजार हुँदै यो राजमार्गमा टिप्पर चलाउन नपाइने भएको हो । टिप्पर चलाउँदा सडक छेउका घरमा बस्ने मानिसलाई डिस्टर्ब भएको भन्दै रात्रीको समय सात घण्टासम्म टिप्पर चलाउन रोक लगाइएको हो ।

टिप्परका कारण जिल्लामा दुर्घटना बढेपछि अनुगमन प्रभावकारी बनाउन थालिएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब निरीक्षक उपेन्द्र बुढाथोकीले बताए । उनका अनुसार आइतबार प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको नेतृत्वमा बसेको सर्वपक्षीय बैठकले टिप्पर सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । तर दिउँसोमा टिप्पर आतंक न्युनीकरण गर्न नसकेको स्थानीय प्रशासनले रातिमा प्रतिबन्ध लगाउनु कुनै महत्वपुर्ण बिषय नभएको स्थानीयको भनाई छ ।

यस्तै टिप्परका लागि टाइम कार्ड समेत लागु गर्ने प्रयास भएको छ । रिब्दीकोट गाउँपालिका–३ खस्यौलीको हार्थोकदेखि तिनाउ गाउँपालिका–२ दोभानसम्म साढे दुइ घण्टाको समय निर्धारण गरिएको छ । टिप्पर गुडेको समयबारे राजमार्ग अन्तर्गत रहेका विभिन्न प्रहरी बीटमा चेक गरिने बताइएको छ । यस्ता टाइम कार्ड पाल्पामा यस अघि पनि पटक पटक लागु गर्न खोजिएपनि खास प्रभावकारी हुन सकेको छैन । यसअघि टिप्पर र उत्पन्न समस्याको समाधानका लागि पाल्पा उद्योग बाणिज्य संघले प्रशासनको ध्यानाकर्षण गराएको थियो ।

Comments
Loading...