दुःखमा हुर्केका भट्टराई, कलाकारितामा सुखद भविष्य खोज्दै (भिडियो सहित)

0 36

पाल्पा । तत्कालीन पिपलडाँडा गाविसको निकीचौर गाउँ । जहाँ बस्ती छैन । गाउँ स्वयम्ले पनि आफ्नो सुमधुर भविष्य खोजिरहेको छ । यही गाउँमा जन्मेका २३ वर्षीय रमेश भट्टराई अहिले आफ्नो संघर्षशील जीवनमा गायनबाट भविष्य खोजिरहेका छन् ।


उनको गालामा पानको पात जस्तो देखिने कालो दाग छ । यसकारण उनलाई धेरैले पान बुट्टे साइलो भनेर धेरैले चिन्दछन् । उनी स्वयम्ले समेत आफ्नो नामको पछाडि पानबुट्टे साइलोको उपाधि जोड्छन् । उनको नामको पछाडि जति रमाइलोपन महसुुस हुन्छ । उनको बास्तविक जीवन कहानी सुन्नेहरुको आँखा एक पटक अवश्य रसाउँछ ।


उनका २ दाजु र भाई पनि छन् । उनी परिवारका साइलो छोरा हुन् । ३ दिदी र १ बहिनी छन् । उनीहरु सबैको बिहे भइसक्यो । २०६८ साल जति बेला रमेशले गाउँकै रविकिरण माविमा कक्षा ९ मा पढ्दै थिए । २०६८ साल भट्टराई परिवारका लागि दुःखद वर्ष रह्यो । बैशाख महिनामा आमा गुमाए, त्यही वर्ष असोजमा भट्टराईका बावुले पनि सदाका लागि यो संसार छोडेर बिदा भए । आमालाई हर्टएट्याक भयो, बावुलाई किड्नीको समस्या थियो ।


उनका बावु टिकाराम भट्टराई गाउँमा नाम चलेका पण्डित थिए । आमा बावु निधनपछि भट्टराई परिवारमा निकै अप्ठेरा दिन आए । बावु जीवित छदा रमेशले बावुबाट धेरै कुरा सिके । उनका बावुले बिहान साँझ रेडियोमा ठूलो आवाजमा भजन बजाउथे, गाउँमा कतै छैठी वा पुजा हुँदा सँगै लैजान्थे र भजन सिकाउने त्यो सिकाईको उपयोग रमेशले अहिले गरिरहेका छन् र दुःखद बिगत बिर्सेर सुखद भविष्यका लागि गायन र अभिनय पेशालाई अंगालेका छन् ।


बावु आमा बितेपछि रमेश र उनका भाई, दिदी बहिनीले निकै अप्ठेरो दिनको सामना गरे । उनीहरुको दुःखमा अभिभावकत्व उनीहरुका ठुलो बुवा भेषराज भट्टराईले गरेको उनले बताए । उनको यो सांगितिक यात्रामा सबैभन्दा बढी साथ उनकी दिदी भगवती भट्टराईको छ । उनले भने दिदीले सधै केही गर्नुपर्छ भनेर मलाई उत्साह दिनुहुन्छ ।

बावु आमाको निधन, भाई बहिनी साना उमेरका त्यो बीचमा रमेशले घरमा धेरै काम गर्नुपर्यो । बिहानै उठेर दैलो पोत्नेदेखि अरु गृहणीले गर्ने काम समेत उनले गरे । दुःखका बीच पनि उनले पढाई छोडेनन् । बिद्यालयमा पढ्दा पनि ट्युसन फि तिर्नकै लागि कैयौ पटक उनी सरहरुकै खेत बारीमा काम गर्न पुगे उनी । उच्च शिक्षा लिने बेला समेत उनले होटलमा भाडा माझ्ने र वेटरको काम गरेरै पढे । उनी गीत संगीत यात्रामा अझ अगाडि बढ्न चाहन्छन् तर आर्थिक अभावका कारणको उनको यात्रा खास अगाडि बढ्न सकेको छैन ।


रमेश स्कुल पढ्दा सधै जसो प्रथम भए । उनले क्याम्पस तहमा समेत राम्रै अध्ययन गरिरहेका छन् । उनी शिक्षक बनेर आफुसँग भएको सिप समुदायमा साट्न चाहन्छन् । हालै मात्र उनले बजारमा ल्याएर राम्दी घाट गीत अहिले राम्रै चर्चामा छ । यो गीतले युट्वमा समेत राम्रो स्थान पाएको छ । उनलाई शान्ति श्री परियारले साथ दिएकी छन् । उनले हालै पान बुट्टे साइलो गीत पनि रेकर्ड गराएका छन् । दर्जन बढी तीजका गीतमा कमेडी गरेका छन् । सयौ स्टेजहरुमा दर्शकलाई हसाएका छन् र नचाएका छन् । उनलाई हाम्रो तर्फबाट पनि बधाई तथा शुभकामना ।


(पाल्पा समाचार डटकमका सम्पादक यज्ञमूर्ति तिमिल्सिनासँगको कुराकानीमा आधारित)

उनको गीत हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

Comments
Loading...