दुर्गम गाउँमा तरकारीबाट लाखौ कमाउँछन् शेर बहादुर सोती

0 834

धनबहादुर ठाडा । पाल्पा
हिजोआज गाउँमा युवाहरु प्रायः सुन्य छन । धेरैजसो गाउँ उमेर गएका बुढापाका र केटाकेटीको बासस्थान मात्रै बनेका छन । गाउँको खेतबारी र जग्गा जमिन प्रायः बाँझो नै छ । युवाहरु जति खाडी मुलुकमा होमिएका छन । पैसा कमाउने पहिलो थलो विदेशनै बनाएका छन । गाउँमै बसेर केही पेसा व्यवसाय गरि परिवारसंगै रमाउनेहरु कमै मात्र भेटिन्छन् । यसरी पैसा कमाउनको लागि विदेशमै जानुपर्छ भन्नेहरुका लागि, गाउँमै बसेर पनि टन्न पैसा कमाउन सकिने गतिलो उदाहरण बन्नुभएको छ निस्दीका शेर बहादुर सोती ।

निस्दी गाउँपालिका – ५, गल्धा गेझाका शेर बहादुर सोतीले व्यावसायिक तरकारी खेती गरेर मनग्ये आम्दानी गर्न सफल हुनुभएको छ । उमेरले ४३ वर्षीय सोतीको सबैथोक तरकारी खेतीनै बनेको छ । सोतीले तरकारी खेतीबाट छोराछोरीको पढाई र घर खर्च कटाएर वार्षिक ३ लाखबढी शुद्ध बचत हुने बताउनुभएको छ । घरमा आमा , श्रीमती , बाहिनी , २ छोरीहरु र १ छोरा बुहारी सहितको सबै परिवार तरकारी खेतीको काममै व्यस्त रहने सोती बताउनुहुन्छ । साथै सोतीले दैनिक ज्यालादारीमा ३ जनालाई रोजगार समेत प्रदान गर्नुभएको छ ।

आफ्नो २० रोपनी जग्गामा २७ वटा स्थायी टनेल निर्माण गरेर सोतीले तरकारी खेती गर्दै आउनुभएको छ । सिंचाइको लागि आडैमा ५ फिट गहिरो स्थायी टंकी रहेको छ । पैसा कमाउनको लागि शुरुमा आफु पनि विदेशमै गएको सोती बताउनुहुन्छ । बहराइनमा २ वर्ष काम गरेर फर्केका सोतीले गाउँमै ४ वर्ष होटल व्यवसाय गरेको बताउनुहुन्छ । तर यसबाट पनि खासै उपलब्धि नभएपछि अन्तमा सोतीले तरकारी खेती रोजेको र अहिले सन्तुष्ट रहेको बताउनुभयो ।

शुरूवातमा आफ्नै खर्चले तरकारी खेती सम्बन्धि ५१ दिनको तालिम लिएर व्यवसाय शुरु गरेको सोती बताउनुहुन्छ । २०७० सालबाट तरकारी खेती शुरु गरेको सोतीले २०७५ सालमा घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा धर्तीमाता कृषि फर्म व्यवसाय दर्ता गर्नुभएको छ । सोतीको मिहेनत र लगनशील देखेर पालिकाले पनि सहयोग गरेको छ । निस्दी गाउँपालिका पाल्पाबाट अहिलेसम्म प्लास्टिक टनेल निर्माणको लागि ३ लाख रुपैयाँ र कृषि प्राविधिकहरुबाट नियमित सुझाव सल्लाह पाएको सोतीले बताउनुभयो । त्यस्तै कृषि ज्ञानकेन्द्र पाल्पाबाट बेलाबेलामा निःशुल्क तालिम लिने अवसर समेत पाएको।बताउनुहुन्छ । त्यसैगरी जापानीज समाजसेवी काजुमासा काकिमी ( ओके बाजेले ) समेत टनेलको लागि फलामको खम्बा खरिद गर्न १ लाख ५० हजार रुपैया सहयोग गरेको सोतीले बताउनुभयो ।

सोतीले निश्चित लक्ष्य लिएर तरकारी खेती गर्दै आएको र यस वर्ष १०० क्विन्टल टमाटर र १०० क्विन्टल काँक्रो उत्पादन गर्ने योजना रहेको बताउनुहुन्छ । सोतीले विशेषगरी टमाटर, काँक्रो, च्याउ, भेडेखुर्सानी, काउली र बन्दा लगाउदै आउनुभएको छ । यी बाहेक अन्य तरकारी बाली प्याज , खुर्सानी , करेला , लसुन , आलु, घिरौला पनि लगाउने गरेको सोती बताउनुहुन्छ । साथै सोतीले तरकारीको नर्सरी राखेर विरुवा समेत तयार पार्नुहुन्छ ।

सोतीको नर्सरीमा प्रायः सबै प्रकारका तरकारीको बिरुवा पाइन्छ । हिजोआज उत्पादन गरेको तरकारी बिक्रीको लागि बजारको समस्या नरहेको सोती बताउनुहुन्छ । शुरुशुरुमा थोरै उत्पादन हुँदा बजारको समस्या भएता पनि अहिले धेरै उत्पादन भएपछि सबै उत्पादन फोनकै भरमा बिक्री हुने सोती बताउनुहुन्छ । ग्राहक एवं तरकारी व्यापारीहरु आफ्नै घरमा आएर गाडीबाट उत्पादित सामग्री लैजाने गरेको सोतीले बताउनुभयो ।

सोतीले उत्पादन गरेको तरकारी पाल्पाको रामपुर नगरपालिका , बुटवल र स्थानीय बजारमै बिक्री हुने गरेको छ । अहिले सोतीको फर्ममा जनता माध्यमिक विद्यालय गल्धा ढुंगानावेशीका कृषि विषयमा अध्ययनरत विद्यार्थीहरु ओजिटीका लागि आउने गरेका छन् । यसले गर्दा आफुलाई धेरै फाइदा पुगेको र आफुले जानेको सीप विद्यार्थी भाइबहिनीलाई सिकाउन पाउँदा साह्रै आनन्द मिलेको सोती बताउनुहुन्छ ।
भविष्यमा सोतीले तरकारी खेतीको अझै विस्तार गर्ने योजना रहेको बताउनुहुन्छ ।

आफ्नो सबै जग्गामा तरकारी खेती मात्रै गर्ने र चाँडै नै टनेलको संख्या २७ बाट ५० पुर्याउने सोती बताउनुहुन्छ । सोतीले जिन्दगीमा धेरै दुख कष्ट भोग्नुपरेको बताउनुहँदै अब संधैभरी यहीँ तरकारी खेतीमै रमाउने बताउनुभयो । हामी पैसाको लागि देश–विदेश अनेक ठाउँमा पुग्छौं तर आफ्नै ठाउँमा केहि गर्नुपर्छ भन्ने सोचाइ प्रायः कमैको मात्र हुन्छ । उमेर छउन्जेल अनेक ठाउँमा हाट हाल्न खोज्छौं तर दिगोपन दिन सकिन्न । आफ्नै गाउँठाउँमा परिवारसँग बसेर परिश्रम गर्न पछाडि हाटछौं तर विदेशमा भने जस्तोसुकै काम गर्न पनि तयार हुन्छौं । साँच्चिकै अब तपाईं हामीले पनि आफ्नै गाउँमा बसेर केहि गर्ने कि ! सोतीले जस्तै मेहनत र परिश्रम गरेर आफ्नो परिवारसँग गाउँमै बस्ने अठोट गरौं ।

Comments
Loading...