निरन्तरको झरीले पहिरोको बितण्डाः पुरिएर पाल्पामा एक बालिकाको निधन

0 2,248

पाल्पा । ३ दिनदेखि लगातार रुपमा परिरहेको झरीले पहाडी जिल्ला पाल्पामा पहिरोले बितण्डा मच्चाएको छ । अविरल बर्षात्कै कारण पहिरोले घर पुरिदा पाल्पामा एक बालिकाको निधन भएको छ ।

तानसेन नगरपालिका–कैलाश नगरमा पहिरोले घर पुरिँदा १० वर्षीया बालिका नैना दर्जीको निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपि रामेश्वर त्वातीले बताउनुभयो । साउन १३ गते राति स्थानीय नारायण दर्जीको घर पहिरोले पुर्दा उहाँकी छोरी नैनाको निधन भएको उहाँले बताउनुभयो । बालिकालाई उद्धार गरी राति नै यूनाइटेड मिसन अस्पताल लगिएको थियो । उपचारका क्रममा उहाँको निधन भएको त्वातीले बताउनुभयो ।

वर्षात्कै कारण बुटवल पोखरा अन्र्तगतको सिद्धार्थ राजमार्ग १३ गते बिहानैबाट पुर्ण रुपमा अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत जोरधारा, सिद्दबाबा, सिसुवा, हिँउदेखोला, केराबारी तानसेन नगरपालिका ७ बर्तुङ, धैरेनी, सेरा, सिता पहाड लगायतका स्थानमा पहिरो खसेको छ । पानी परिरहेकोले पहिरो पन्छाउने काम प्रभावित भएको डिएसपि त्वातीले बताउनुभयो । त्यस्तै तानसेन–रिडी सडक खण्ड अन्तरगत तानसेन नगरपालिका ११ सम्मोबारीमा पहिरोले सडक अबरुद्ध भएको छ । पहिरोका कारण सदरमुकाम तानसेनबाट जोडिने स्थानीय अधिकांश ग्रामीण सडकहरु बन्द भएका छन् ।

Comments
Loading...