निर्वाचनमय पाल्पा

0 1,566

पाल्पा । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिंदै गर्दा पाल्पा निर्वाचनमय भएको छ । सरकारी निकाय निर्वाचन गराउने तयारीमा जुटेको छ भने राजनीतिक दलहरू मत माग्न व्यस्त छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खटाइएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम सकिएको छ ।

प्रतिनिधिसभामा दुई र प्रदेशसभा चार निर्वाचन क्षेत्र रहेको पाल्पामा १ सय १८ मतदान केन्द्रका २ सय ४६ मतदानस्थलमा खटिने अधिकृतलाई तालिम दिइएको जिल्ला निर्वाचन अधिकारी रुकमागत अर्यालले बताउनुभयो । तालिममा प्रत्यक्षतर्फका र समानुपातिक उम्मेदवारका लागि मतदान गर्ने तरिका, मतपत्र लिने, स्वस्तिक छाप लगाउन्, पट्याउने, मसी लगाउने, नाम रुजु गर्ने, दोहो¥याएर मत हाल्न आएमा अपनाउनुपर्ने तरिका लगायतका विषयमा सिकाइएको उहाँले बताउनुभयो ।

निर्वाचनमा २ हजार ९ सय ५५ बढी कर्मचारी खटिने मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले जानकारी दिनुभयो । पाल्पामा १ लाख ३ हजार १ सय १८ महिला र ९८ हजार २ सय ८ पुरुष गरी २ लाख १ हजार ३ सय २६ मतदाता रहेका छन् । तालिमका अवसरमा मुख्य निर्वाचन अधिकृत विष्ट, प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, निर्वाचन अधिकृतको कार्यालय क्षेत्र १ का निर्वाचन अधिकृत गोपालप्रसाद ढकाल, जिल्ला समन्वय प्रमुख जनार्दन अधिकारी, जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्याललगायतले सहजीकरण गर्नुभएको थियो । निर्वाचनका लागि आवश्यक सामाग्री सहित निर्वाचन टोली १ गते आआफ्नो मतदान केन्द्रमा पुग्ने निर्वाचन अधिकारी अर्यालले बताउनुभयो ।
जिल्लाभर मदिरा बेच्न रोक
निर्वाचनलाई लक्षित गरि पाल्पा जिल्लाभर मदिरा बिक्रीमा रोक लगाइएको छ । मंगलवारदेखि लागू भई मतगणना कार्य नसकिदासम्म जिल्लाभर मदिरा बिक्री वितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी पन्तद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भएर मतगणना नसकिदा सम्म पाल्पामा कुनै पनि प्रकारको मदिरा खरिद विक्री, ओसार पोसार र सेवन गर्न निषेध गरिएको र कसैले सूचना विपरित काम गरेमा प्रचलित कानून बमोजिम कारवाही समेत हुने उल्लेख छ ।
मतदान केन्द्र रहेका विद्यालय बन्द
निर्वाचनका लागि मतदान केन्द्र रहेका विद्यालय ५ दिन बन्द हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदीले मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको लागि विद्यालयमा मतदान केन्द्र रहेको र १ गते नै कर्मचारी र सुरक्षाकर्मीहरू विद्यालयमा पुगेर आवश्यक तयारी गर्ने भएकाले विद्यालय बन्द गर्ने निर्णय भएको बताउनुभयो विद्यालयमा १ गतेदेखि ४ गतेसम्म विद्यालयको पठन पाठन स्थगित गर्ने निर्णय भएको बताउनुभयो ।

दुई अस्थायी मतदान केन्द्र
पाल्पामा २ वटा अस्थायी मतदान केन्द्र रहनेछन् । निर्वाचन आयोगले समानुपातिक निर्वाचनमा मतदान गर्ने अस्थायी मतदाताका लागि मतदान केन्द्र तोकेको छ । पाल्पामा दि फेमस महेन्द्र दल ब्यारेक नागपोखरी तानसेन ६ र जिल्ला कारागार तानसेन ६ लाई समानुपातिक मतदानको लागी अस्थायी मतदान केन्द्र तोकेको जिल्ला निर्वाचन अधिकारी अर्यालले बताउनुभयो ।
मतदान केन्द्रमा नखटिने कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजाय पाएका बाहेक अन्य कैदी बन्दीलगायतका लागि अस्थायी मतदान केन्द्र कायम गरेको जिल्ला निर्वाचन अधिकारी अर्यालले बताउनुभयो ।

तस्बिरः बगनासकाली गाउँपालिकामा भएको नमुना मतदान

Comments
Loading...