नेकपामा बेमौसमी भाँडभैलो

0 42

गोपालप्रसाद वश्याल
विश्वभर कोरोनाभाइरस अर्थात् कोभिड १९ को महामारी फैलिएको कारण विश्वका सबै सरकार, संघसंस्था आदि यस महाविपत्तिबाट मानव समुदायको बचाउका लागि जुधिरहेका छन् । तत्कालका बचाउ, उपचारकासाथै स्थायी उपचारको लागि खोजअनुसन्धानमा लागिरहेको अवस्था छ ।

अत्यन्त विकसित अमेरिका, बेलायत आदि युरोपियन देशहरूमा रोगले चेपेको छ । नेपाल अहिलेसम्म कममात्र जोखिममा रहेको छ । छिमेकि भारतमा समेत रोगी र मृतकहरू बढिरहेको सन्दर्भमा नेपालमा उच्च सतर्कता र तयारीमा लाग्नुपर्ने यसप्रकारको विषम परिस्थितिमा नेपालको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भने आन्तरिक विवाद र यसबाट सिर्जित कृत्रिम समस्याबाट थला परेको छ ।

राजनैतिक पृष्टभुमिका आधारमा हेर्ने हो भने वर्तमान प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष खड्गप्रसाद ओली (केपि ओली) झापा आन्दोलनदेखि लामो राजनैतिक नेतृत्व गर्दै आएका, नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १० वर्षे माओवादी जनयुद्धका नेतृत्व गरेका र शान्ति प्रक्रियामा यी दुवैको सहकार्य रहेको, शान्ति प्रक्रियाकै निरन्तरता स्वरूप संविधान सभाका निर्वाचन भै संविधान निर्माणमा दुवैको सहकार्य, संविधान अनुसार सम्पन्न निर्वाचनमा समेत आआफ्नो हैसियत मापन भै पार्टी एकतामा यी दुवैको निर्णय नै सर्वमान्य बनेको अवस्था एकातिर छ । अर्कातिर प्रचण्ड नेकपा माओवादीका सर्वमान्य अध्यक्ष र केपि ओली नेकपा एमालेको महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुन् । तसर्थ नेकपाको अर्को महाधिवेशन सम्पन्न नहुँदासम्म यी दुवै अध्यक्ष रहने विधिलाई पनि नेकपामा समाहित आम नेता तथा कार्यकर्ताले स्वीकार गरेर यी दुई चालकले नेकपालाई समाजवादसम्मको लामो यात्रामा लैजान्छन् भन्ने विश्वास पनि गरेका छन् ।


नेपाली राजनीतिमा असाध्यै नराम्रोसँग जरा गाडेको प्रवृत्ति छ । यहाँका मुख्य दुई ठूला पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीमा सँधै यो पापी परम्पराले निरन्तरता पाएको देखिन्छ । वास्तवमा यी दुवै पार्टीमा प्रजातान्त्रिक तरिकाले पार्टीका महाधिवेशन, बैठक आदि गरिएको हुन्छ । यसमा पनि नेकपामा धेरै औपचारिक बैठक, अधिवेशन, प्रशिक्षण, सर्कुलेशन आदि नियमित हुने गर्दछ र पछिल्ला वर्षहरूमा नेपाली कांग्रेसले समेत यसप्रकारका प्रजातान्त्रिक विधिको उपयाग गरेको छ । कुनैकुनै समयमा यसप्रकारका गतिविधिमा विलम्व भएकाकारण असन्तुष्टि सार्वजनिक हुने गर्दथे । नेपाली कांग्रेसले लामो समयपछि महाधिवेसन गरेको र नेकपा माओवादीको महाधिवेसनका बारेमा पनि धेरै टिप्पणि भएका हुन् । यी विगतबाट पाठ सिक्दै अगाडि बढिरहेका नेपाली राजनैतिक दलहरूको पहिलो माथिल्लो तहको नेताहरूमै समस्या देखिंदै आएको छ । नेपाली कांग्रेसमा असन्तुष्टिको गुनासो गर्ने तर पार्टीमै रहने चलन देखिन्छ ।

नेपाली कांग्रेसबाट अलि तल्लो तहका नेताको पलायन वा विद्रोह देखिन्छ । तर नेकपामा भने पार्टी फुटाउने, चाइटिने, अलग पार्टी निर्माण गर्ने प्रवृत्ति देखिन्छ । नेकपामा पहिलापहिला पार्टी बनाउने रहर चल्थ्यो । तर नेकपा एमालेको विभाजन गरेर नयाँ पार्टी बनाएका वामदेव गौतमको लज्जास्पद अवस्थाबाट अलिकति पाठ सिक्दै केहि समय नयाँ पार्टी बनाउने क्रम रोकिएको थियो । अर्को विडम्बना नेपाली राजनीतिमा थपियो । मुलुक संघीय पुनःसंरचनामा गएसँगै जातीय र क्षेत्रीय पार्टी निर्माणको क्रम शुरू भयो । विगतमा नयाँ पार्टी निर्माणका लागि केही सैद्धान्तिक आधार अगाडि सारिने गरिन्थ्यो । यसले गर्दा केही समिति निर्माण, प्रशिक्षण आदिबाट गोलबन्द गर्ने अभ्यास हुन्थे । तर पछिल्ला समयमा नेपालका ठूलासाना सबै दलहरूमा माथिल्लो पहिलो तहका नेताहरूबाट बैठक, अधिवेशन, भेला आदिका निष्कर्षको धज्जी उडाउँदै गूट निर्माण गर्ने र नेतृत्वमाथि निरन्तर प्रहार गर्ने परम्परा बस्यो । गुटहरू पार्टीका सौता संगठन बनेका छन् ।

अहिले नेपाली कांग्रेसमा देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौलाका गुट छन् भने कोइराला परीवारमा सुजाताबाहेक अन्य अलि भलाद्मी देखिन्छन् । नेकपामा गुटैगुट छन् । प्रचण्ड, केपि, माधव, झलनाथका गुटहरू । यसमा पनि कम प्रभावशाली झलनाथ खनाल र गुटफुटमा भिजिसकेको वामदेव गौतमको व्यवहारले गर्दा महान् गुटहरूसमेत अस्थिर बन्न जाने गरेका छन् । सबैलाई थाहा छ कि पछिल्लो पटक भएको नेकपा एकता भागवण्डासहितको समीकरण वा गठबन्धन हो र यसलाई एकिकृत पार्टीको स्वरूप त महाधिवेशनले दिने हो ।

महाधिवेशन सम्पन्न नभएसम्मका लागि केपि र प्रचण्ड नै नेकपाका अध्यक्ष हुन् । उनीहरूको मूल्याङ्कन गरी हिसावकिताव गर्ने महाधिवेशन नै उपयुक्त फोरम हो किनभने अहिले दुई पार्टी विचको एकतापछिको संक्रमणकालीन अवस्थामा आम पार्टी कार्यकर्ताबाट अनुमोदित नभै नेतृत्व परिवर्तन बेमौसमी, अव्यवहारिक, असैद्धाान्तिक र नकारात्मक असरको कालो इतिहास निर्माणको पहल हुनेछ । गुटीय बलका आधारमा विधिविधानसम्मत् संस्थामाथि प्रहार गर्ने गर्नाले केपिमाथि होइन नेकपाको अध्यक्षमाथिको आक्रमण भन्ने अर्थ लाग्छ । महाधिवेशन र एकता प्रक्रियाको अपमान हुनजान्छ । केहीदिनभित्र अर्को गुट बलियो बन्यो भने फेरि रुवाबासी हुन्छ । वर्तमान सरकारसमेत जननिर्वाचित र केपि र प्रचण्डको भरोसामा जनताले मत दिएर स्पष्ट बहुमतसहितको कम्युनिष्टको सरकार निर्माण गरिदिएका हुन् । नेकपाभित्र वरिष्ठ नेताहरूबाट जन्माइएको र दोस्रो तहका नेताबाट मलजल गरिएको वर्तमान अस्थिरताको दुष्परिणामको क्षतिपूर्ति हुनैसक्दैन । यति धेरै जनमत सायद कुनै पार्टीले प्राप्त गरेको हुन्छ । यो भाँडभैलो जनमतको अपमान पनि हो ।


अहिले नागरिकहरूकोरोनाभाइरसको महामारीबाट त्रसित र भयभित छन् । यो महामारीबाट लड्न धेरै गर्नुपर्ने देखिन्छ । हामीकहाँ स्वास्थ्य सेवा, शैक्षिक व्यवस्था, अर्थतन्त्र आदि पक्षमा गम्भिर समस्या छन् । नेपालको बजेट अधिवेशनको समय हो । सरकार र सत्तारुढ दल महामारीबाट समस्यामा परेको जनजीवनको व्यवस्थापन र सरकारको बजेट निर्माण लगायतका नियमित काममा जुट्नुपर्ने बेला हो । कुन गाउँमा कति मानिसले राहत पाएपाएनन् हेर्ने र व्यवस्थापन गर्ने बेलामा सबै नेता, सांसद र कार्यकर्ता गुटको पल्ला भारी बनाउन काठमाडौ थुप्रिने बेला होइन । तसर्थ नेकपाभित्रको भाँडभैलो सिद्धान्त, पद्धति, व्यवहार र समय सन्दर्भका हिसाबले अस्वाभाविक हो । यसले आम मानिसमा नकारात्मक भावना विकास गरेको छ । यो नकारात्मक भावना कुनै गुट विशेषप्रतिभन्दा पनि समग्र नेकपा र कम्युनिष्ट आन्दोलनप्रति नै घातक छ । तसर्थ नेकपा गुटगत झमेलामा रुमल्लिइरहँदा पर्ने असरको आंकलन गर्दै कार्यकारीहरूसच्चिने र गुटवालाहरू थच्चिने गर्नु नै अहिलेको उत्तम समाधान हो । अन्यथा यो महामारीको अन्त्यपछि महाधिवेशनको मिति तय गर्नेगरी धैर्यतापूर्वक सबै शक्ति महामारी र महामारीपछिको प्रभावबाट बाँच्ने उपायमा लागौं । सबै जनप्रतिनिधि र नेतालाई आआफुको कार्यक्षेत्रमा परिचालित हुन आदेश गरौं । इमेलः gopalbashyal@gmail.com

Comments
Loading...