पञ्चेबाजा घन्काउँदै पाल्पाली मगर युवा

0 2,513

देव पचभैया
पञ्चे बाजा (पञ्चबाजा, पञ्चैबाजा) अथवा पाँच बाजाहरूको समुहको रुपमा लिइन्छ । पञ्चेबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन् । पञ्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रुमपा परिचित छ । यो बाजा खागरि विवाह, व्रतवन्ध, चाडबाड, जात्रा संस्कृति आदिमा बजाउने गरिन्छ । पाल्पामा रोपाइजात्रा, भगवतीजात्रा लागयत बिभिन्न जात्राहरुमा पनि पञ्चेबाजा बजाउने गरिन्छ । पहिलेदेखि दमाई समुदायले यो बाजा बजाउँदै आएका छन् । अहिले पनि उनीहरुले पञ्जेबाजा बजाउँछन् । तर पछिल्लो समय देशका बिभिन्न स्थानहरुमा अन्य जातिका युवा र महिलाहरुले पनि यो बाजा व्यवसायिक रुपमा बजाउन थालेका छन् ।

बगनासकालीमा पञ्चेबाजा
पहिले मनोरञ्जनका उपाय कम थिए । बिवाह, भोजभतेर, धार्मिक सांस्कृतिक कार्यक्रम अनि मेला पर्वहरुमा पञ्चे बाजाकै खोजी बढी हुन्थ्यो । त्यसैले पनि हरेक दिनजसो डाँडापाखाहरुमा पञ्चेबाजा घन्केका आवाज सुनिन्थ्यो ।

अहिलेको बगनासकाली गाउँपालिका पहिलेदेखि नै पञ्चेबाजाको लागि चर्चित ठाउँ हो । उ वेला देखिनै पहिलो रोजाईमा पथ्र्यो, खानीगाउँले र यम्घेली बाजा । दमाई अर्थात परियार जातिले बजाउने खानीगाउँ, चापपानी, नायर, यम्घाका बाजा अहिले पनि उत्तिकै चर्चामा छन् । एकै ठाउँबाट समूह नपुगे छिमेकी गाउँमा बाजा बजाउनेहरु थपिएर टोली बाजा बजाउन अहिले पनि हिड्छन् । यहाका पञ्चे बाजा, जिल्लामा मात्रै हैन, देशैभरि चल्तीका थिए । अहिले पनि यी बाजाहरुको महत्व उस्तै छ । खुब बज्ने बाजा, नयाँ नयाँ धुन निकाल्न सक्ने अनि निकै रमाईला कलाकार नाउले कहलिएका यी बाजाहरु अहिले पनि बिवाह, बर्तबन्ध तथा अन्य शुभकार्यहरुमा घन्किरहन्छन् । तानसेनको भगवती जात्रा लगायत अन्य जात्रा संस्कृतिमा पनि यहाँका बाजा अझै पनि उस्तै गरि बज्छन् ।

टाकीचउरको रानीमहल पञ्चेबाजा समूह
रानीमहल पन्चेबाजा समुह । बगनाँसकाली गाउँपालीका ७ टांकीचउरमा झण्डै १२ वर्ष पहिले देखि मगर जातिका युवाहरुले ल्याएको पञ्चेबाजा समूह हो ।

यो समूह मार्फत बजाइने पन्चेबाजाले संस्कृति संरक्षण संगै एकातिर यूवाहरुलाई आर्थिक रुपमा फाईदा भएको छ भने अर्कोतिर उठेको केही पैसा समुहको कोषमा राख्दा गाउँलाई चाहिने आवश्यक सरसामान किन्नका लागि पनि सहयोग मिलेको छ । समुहका अध्यक्ष खड्क बहादुर थापाले बाजा बजाउन जाँदा आएको पैसाको केही रकम कोषमा राखिरएको बताउनुभयो । त्यही पैसाबाट गाउँका आवश्यकताहरु त्रिपाल, भाँडाकुडा, फर्निचर जोडिएको थापाले बताउनुभयो । युवाहरु खेल्ने भलिबल, महिला समुहका पहिरन, पानीका धारा, गाउँका बाटा मर्मत तथा अन्य आवश्यकीय कार्यका लागि पनि सोही समूहको रकम सहयोगी बनेको अध्यक्ष थापाले बताउनुभयो । “गाउँमा आइपर्ने साना तिना काम गर्न समस्या छैन, हामीले कोषकै रकम खर्चिएका छौ । ”

बाजा बनाउन जादा टाढा, नजिक र दिनका हिसावले पारिश्रम लिने गरेको समुहका नेता बल बहादुर थापाले बताउनुभयो । उहाँले यसरी बाजा बजाउन हिड्दा एकातिर बेरोजगार युवाहरुलाई केही न केही भएपनि आर्थिक सहयोग मिलेको र अर्कोतर्फ कला संस्कृतिको संरक्षण र साथीभाईमा पनि सहकार्यको अभ्यास बढेको उहाँले बताउनुभयो ।

बिवाह, बर्तबन्ध लगायत पुजाआजा तथा शुभकार्यको लगन रहेको सिजनमा त भ्याई नभ्याई हुन्छ धेरै तिरबाट तपाइहरुनै आउनुपर्छ भनेर भन्नुहुन्छ बलबहादुरले भन्नुभयो–“कहिले काँही त गाउँमा भएको समूहले नपुगेर छिमेकीलाई समेत बोलाएर बाजा बजाउन जान्छौ ।” आफुहरु बाजा बजाउनका लागि पाल्पा जिल्लाका बिभिन्न स्थानसँगै स्याङजा, रुपन्देही सहित धेरै स्थानहरुमा पुगिसकेको उहाँले बताउनुभयो ।
यसरी गाउँले युवाहरुले व्यवसायिक रुपमा बाजा बजाउन थालेमा स्थानीय बुद्धिजीविहरु पनि खुशी छन् । दमाहा, सहनाई, नरसिंह, ढोलक, ट्याम्को, झ्याली लगायतका बाजालाई मिलाएर गीतको तालमा बजाईने बाजा धेरै पछि मात्रै मगर जातिका युवाहरुले बजाउन थालेको र यो खुशीको बिषय भएको खानीगाउँ आधारभुत, बिद्यालय कल्लाबारीका प्रअ नल बहादुर साठीघरे बताउनुभयो ।

उहाँका अनुसार मगरहरुले पूजा आजा, बिहे भोजभतेर हुँदा पन्चे बाजा बजाउन लगाएर रमाउने गर्ने चलन हो । “विस्तारै बाजा पाउनै समस्या भएपछि चलिआएको संस्कृति जोगाउन मगरहरुले आफै पञ्चेबाजा बजाउन शुरु गरेका हुन् ।” उहाँले भन्नुभयो । मगरी गीत सालैजो, झ्याउरे गीतका गायक समेत रहनुभएका साठीघरेले भन्नुभयो “यसले एकातिर संस्कृति जोगियो, अर्कोतिर युवाहरुलाई रोजगारी प्राप्त भएको छ । यो असाध्यै राम्रो कार्य हो ।”

पञ्चे बाजाको समुह थपिदै गएपछि चाहिएको बेला बाजा खोज्न र बजाउन पनि सजिलो भएको स्थानीयको अनुभव छ । कल्लाबारीका चन्द्र बहादुर क्षेत्रीले यहाँ पञ्चेबाजा समूह बनेपछि बाजा बजाउनकै लागि टाढाटाढाबाट धेरै खर्च गरेर बाजा समूह ल्याउनुपर्ने समस्या हटेको बताउनुभयो । उहाँले भन्नुभयो–“गाउँकै भाई भतिजाहरुले यसरी बाजा बजाउँदा खुबै रमाइलो लाग्छ ।”

पञ्चे बाजामा हरेक बाजाका आ–आफ्नै ताल र स्वर भएजस्तै पुजा,आजा र बिहे ब्रतबन्धमा बजाउने ताल र धुन पनि फरक हुन्छ । पुराना र अनुभवी दमाई जातिका बाजा बजाउने व्यक्तिहरुले मात्रै बजाउन जान्ने ती तालहरु भर्खरै शुरु गरेका मगरहरुलाई निकै गारो भएको उनीहरुको अनुभव छ । रानीमहल मगरी बाजाका सदस्य मान बहादुर थापाले भन्नुभयो, “ती ताल र धुनका बारेमा हामीलाई तालिमको आवश्यकता छ ।” उहाँले बाजा भित्र पनि बिभिन्न सुर र ताल हुने, पुजा संस्कृति अनुसार बाजाको धुन र ताल फरक हुने गरेकोले अनुभवी व्यक्तिहरुबाट नयाँ पुस्तका युवालाई यसबारे ज्ञानसीप हस्तान्तराण् गर्ने वातवरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

एकताका हराउनै लागेको पञ्चेबाजा फेरि घन्किन थालेको छ । पहिलेदेखि नै बाजा बजाउँदै आएका दमाइ समुदाय र पछि आकर्षित भएका अरु समुदायले यसको संरक्षणमा योगदान पु¥याएका छन् । यसबाट स्थानीय समुदाय खुशी छन् ।
–बगनासकाली फिचर संग्रहको सहयोगमा

Comments
Loading...