परिवार नियोजन सेवालाई हटलाईन परामर्श बनाउन माग
पाल्पा । नेपाल परिवार नियोजन संघ कसेनी सामुदायिक क्लिनिक तथा बर्थिङ्ग सेन्टरको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । माथागढी गाउँपालिका–३, सराईमा भएको कार्यक्रममा बोल्दै नेपाल परिवार नियोजन संघ पाल्पा शाखा प्रबन्धक शोबाकान्त न्यौपानेले कोरोना महामारीका बीच पनि स्वास्थ्यकर्मीहरुले निरन्तर सेवा प्रवाह गरिरहेको बताए ।
कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै प्रबन्धक न्यौपानेले पाल्पा जिल्लामा १६ हजार १ सय ९४ महिलाहरुको विविध समस्या परीक्षण तथा आवश्यक सरसल्लाह र औषधोपचार गरिएको बताए । कसेनी सामुदायिक किल्निककी यमुना चिदिले कार्यालयमा सुत्केरी फोहोर बिसर्जन गर्ने स्थान नहुँदा समस्या रहेको बताईन् । उनले कर्मचारी सुत्केरी गराउन आउँदा घर जानू पर्ने समस्या रातिको समय हुन, बस्ने कोठा अभाव जस्ता कारण कर्मचारी उत्प्रेरित बन्न नसकेको बताईन् । स्थानीय भगवती आलेले स्वयंसेविका गाउँमा नबस्दा गाउँमा पर्ने समस्याका कारण धेरै महिला तथा बालबालिकाको ज्यान खतरामा पर्ने गरेको बताईन् ।
सामाजिक मनोपरामर्शकर्ता माया बस्यालले कर्मचारीले पनि रातदिन नभनी काम गरेको तर भौगोलिक विकटताका कारण केही समस्या हुने गरेको बताईन् । कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधी टिकाराम रानाले जनताको मनोभावना अनुसारको परिवार योजना सम्बन्धि सेवा आवश्यक भएको बताए । नेकपाका प्रतिनिधी जगत बहादुर थापाले देशमा ठूलाठूला परिवर्तन भैरहँदा महिलाको समस्यामा पनि सोही अनुपातको परिवर्तनको जरुरी रहेको बताएका थिए । रुप्से स्वास्थ्य चौकीका प्रमु्ख यम बहादुर चिदीले नेपाल सरकारको परिवार नियोजनमा राष्ट्रिय लगानी बढाउने प्रतिवद्धतालाई सुनिश्चित गर्न सार्वजनिक परीक्षणले टेवा पुग्ने बताए ।
माथागढी गाउँपालिकाको समन्वय तथा पिपुल्स क्रियशनको सहजीकरणमा भएको कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै नेपनीसंघ पाल्पाका कार्यसमिति सदस्य तथा पत्रकार माधव अर्यालले सेवा प्रदायक संस्थाले सेवा ग्राहीलाई गर्ने वा दिएको सेवा सुविधाको यथार्थ चित्रण गर्न सामाजिक परीक्षण गरिएको बताए । सामाजिक परिक्षणमा उठेका गुनासो संबोधन गर्दै शाखा प्रमुख शोभाकान्त न्यौपाने र वडा अध्यक्ष दिपक थापाले छिटै गुनासो संवोधन गर्ने र योजना बनाएर अगाडी बढ्ने प्रतिबद्धता जनाए ।