पर्यटकका लागि आकर्षणको केन्द्र रैनादेवी

0 66

के बि मसाल । पाल्पा
प्रकृति प्रेमी पर्यटकहरुलाई पश्चिम पाल्पामा भ्रमणको लागी धेरै पर्यटकियस्थलहरु छन । पर्यटकले पश्चिम पाल्पाका दर्जनौ प्राकृतिक सम्पदा एंव गाउँ र ऐतिहासिक मठ मन्दिरको अध्यन अवलोकन गर्न सक्दछन । प्रकृतिले सजिएको पश्चिम पाल्पाको ख्याहा, सोमादी, कोलधारा, मुझुङ, छहरा, सिद्देश्वर, भुवनपोखरी, वासखर्क, पेलावासडाँडा, झिरवास, अमिले, ओर्सादी रडमरदोभान लगायत गाउँहरु छन । पश्चिम पाल्पा मगरात अर्थात मगरहरुको उत्पत्तिस्थल पनि हो । यो क्षेत्र मगरात क्षेत्रमा पर्दछ । यस क्षेत्रमा मगरहरुकै बाहुल्यता रहेको छ । यीनै गाउँहरुको धरोहरको रुपमा रहेको छ रैना देवी ! जुनस्थान आजभोली पर्यटनको गन्तब्य बनेको छ ।

पाल्पा तानसेनबाट भुवनपोखरी अर्थात रैनादेवी को मन्दिरसम्म यात्रागर्दा तपाइँलाई ग्रामीण जन जीवनमात्र होइन बसबाटै सुन्दर हिमालहरुले मोहनी लाउनेछन् । बाटोमै रिब्दिकोटको लेक देख्नुहुनेछ । उत्तरमा गुल्मीको रेसुङ्गाको लेक र दक्षिणका पाणेनि तपोभूमिको बीचमा उभिएको छ गोखुंगा । तपाइको फुर्सद कमि छ भने तानसेनबाट एकैदिनमा गोखुंगा अर्थात रैनादेवीको दर्शन र ग्रामीण बस्तीको दृष्यावलोकन गरेर साँझ तानसेन फर्किन सकिन्छ । यहाँका गाउँमा सुबिधा जनक होटल र लजको सुविधा भने छैन । तर पनि गाउँमै केही दिन बसेर घुम्न पनि सकिन्छ । स्थानीय समुदायले पाहुनालाई निकै राम्रो स्वागत गर्छन् र न्यूनतम खर्चमा पारिवारिक रुपमा खान र वस्नको लागि सुविधा दिन्छन् ।

पश्चिम पाल्पा ऐतिहासिक स्थल हो । भुवनपोखरीदेखि दक्षिण—पूर्व करिब १५ किलोमिटरको दुरीमा रहेको कुसुमखोलाको ‘रिब्दिकोट’ पाल्पा राज्य स्थापना हुनुअघि यो क्षेत्र ‘रिब्दिकोट’ राज्य थियो । सत्रौं शताब्दीमा पाल्पाका सेन वंशीय राजा मुकुन्द सेनले राज्य सीमा बिस्तार गर्ने क्रममा रिब्दिकोट पनि पाल्पा भएको हो । यस क्षेत्रमा पर्यटकहरुलाई अध्यन अवलोकन गर्ने धेरै स्थलहरु छन । झिरवासको रानीदुला गुफा, अर्दाइँको कमेरे गुफा, तालपोखराको बाख्रे गुफा, पलाँसपाटाको सिद्धपानी गुफाको अध्यन पर्यटकले गर्न सक्दछन । सस्कृति प्रेमी पर्यटकहरुका लागी अमिलेमा चर्चित झाम्रेनाच, खामटुङको बालुन, कैलाशनगरको मालश्री, गोखुंगाको पञ्चेवाजामा पनि रमाउन सक्नुहुन्छ । तर यो हेर्नको लागी निश्चित चाडपर्वमा पुग्नु पर्दछ । त्यसैगरी रिडीखोलामा जलविहार गर्न सक्नुहुन्छ भने बाक्ली खोलामा झर्नाहरुको मनोरम दृश्यहरु अबलोकन गर्न सक्नुहुन्छ । अर्को तर्फ छचुवाको कुमाल संस्कृतिले तपाइँलाई मोहनी लाउने छ ।
तानसेनबाट आधाघण्टाको पक्की सडक त्यसपछि करिब ४० मिनेटको ग्राभेल सडक र करिब आधाघण्टाको कच्ची नागबेली सडक बसमा यात्रा गरेपछि पश्चिम पाल्पाको रैनादेवी पुग्न सकिन्छ । गोखुङाको लेक, वैदिक कालदेखि नै तपोभूमिको रुपमा रहेको पाइन्छ । गुम्बजाकारको मन्दिर निर्माणको शैलीले पनि ऐतिहासिक मानिन्छ । रैना देवीको मुख्य मन्दिरसतह वर्गाकार भई जमीनमा डेढ मिटर गहिरो छ भने छानो काठका बलोहरुलाई जोडेर गुम्बजाकारमा निर्माण गरिएको छ । गोखुंगा क्षेत्रमा वैदिक कालमा ऋषिमुनिहरुले तपोभूमिको रुपमा प्रयोग गरेको स्थल मानिन्छ । यस क्षेत्रमा रहेको प्राकृतिक सुन्दरता, प्राचिन गुफाहरु र त्यस क्षेत्रमा प्राप्त पाषाणकालीन सामग्रीहरुले पर्यटकलाई अध्यनको बिषय बन्दछ ।

रैनादेवीको वरपरका प्राकृतिक सम्पदामा ऐतिहासिक स्थलहरु रहेका छन । माण्डव्य ऋषिको तपोभूमि माडी, और्व ऋषिको तपोभूमि अर्गली, अत्रि ऋषिका पुत्र दुर्वाशाको तपोभूमि दुर्गाखोला, व्याकरणका ज्ञाता पाणिनिले महादेवबाट १४ वटा सुत्रहरू प्राप्तगरेको क्षेत्र पणेना दह, ऋष्य शृङ्गको तपोभूमि शृङ्गा, रुरु कन्याको तपोभूमि तथा ज्ञवाली वंशका आदिपुरुष सुमेरुको तपोस्थल रिडी, भृगु वंशीय महर्षिहरु, वाल्मिकि र कपिलमुनिको तपोस्थल यसै क्षेत्रमा पर्दछन । यो क्षेत्र परापूर्वकालदेखि नै पवित्र भूमिको रुपमा रहेको अनुमान गर्न सकिन्छ । रैनादेवी मन्दिरको उत्तर र दक्षिण दुबैतिरबाट आरुखोला र बाक्लीखोला बगेको छ । यी दुबैखोला रिडीखोलामा मिसिन्छ । रिडीखोला रुरु क्षेत्र अर्थात कालीगण्डकीमा मिसिन पुग्छ ।

रैनादेवी नाम कसरी रहन गयो भन्ने विषयमा विभिन्न मतहरु पाइन्छन् । गुल्मी र अर्घाखाँचीलगायतका क्षेत्रमा रैनादेवीलाई अहिले पनि गोखुंगाकी देवी भन्ने प्रचलन छ । सन् १९१९ मा रैनादेवीलाई चढाएको घण्टामा ‘रोइनादेवी’ उल्लेख गरिएको छ । त्यस समयमा रैनादेवीलाई ‘रोइनदेवी’ भनिने गरेको पाइन्छ । यस क्षेत्रमा परापूर्व कालदेखि नै मगरहरुको राज्य थियो । त्यसैले धेरैजसो ठाउँहरुको नामाकरण पनि मगर भाषाबाटै भएको छ । पूर्वी पाल्पामा मगर ढूटको बाहुल्यता छ भने पश्चिमतर्फ रुकुम, रोल्पासम्म मगर खाम—पाङ भाषाको बाहुल्यता छ । रेसुङ्गा, देलुङ्गा, केरुङ्गा, माडी, केलाडी, सपाङदी, बराङडी जस्ता ठाउँका नाम पनि मगर भाषाबाट रहेको पाइन्छ छ । यसरी हेर्दा गोखुंगाको नाम पनि मगर भाषाको ‘गों’ र ‘खुं’ शब्दबाट बनेको मान्न सकिन्छ । मगर भाषामा ‘गों’ शब्दको अर्थ हिमालनेरका पहाडको सेपिलो ठाउँ वा गाउँमाथिको भाग भन्ने बुझिन्छ भने ‘खुं’ शब्दले गुराँसलाई जनाउँछ । यसरी हेर्दा गुराँस फुल्ने डाँडालाई ‘गोंखुं’ भन्दाभन्दै कालान्तरमा गोखुंगा भएको मान्न सकिन्छ । इतिहास खोज्ने पर्यटकहरुको लागी यस क्षेत्रको भ्रमण फलदायी मानिन्छ ।

गोखुङ्गा रैनादेवीको न्वागी

पाल्पा जिल्ला भाषा, कला र संस्कृतिमा निकै धनी मानिन्छ । यहाँको सांस्कृतिक विविधतामा रैनादेवीको न्वागी पर्व पर्दछ । यो पर्वमा प्रत्येक वर्ष नयाँ धानबाली पाकेपछि काँचो चामलमा दही, केरा, सुकुमेल र अन्य मसला एकै ठाउँमा मिलाई त्यसलाई राम्ररी मुछेर विधिर्पूवक देवता तथा पितृहरुलाई चढाइसकेपछि त्यसलाई प्रसादस्वप खाने परम्परा रही आएको छ । रैनादेवीसँग मागेको बर कहिल्यै पनि खेर नजाने स्थानीय बासिन्दाहरुको विश्वास रहेको छ । यहाँका स्थानीय बासिन्दाहरु वर्षभर परदेशी भएपनि न्वागीको समय पारेर घर आउने गर्छन् । न्वागीको दिन बिहानैदेखि मन्दिरमा पुजाआजा हुने गर्छ भने रातभर सोरठी, ख्याली, बालुन र मालश्री गाउने तथा नाच्ने गरिन्छ । पछिल्लो समयमा स्थानीय बासिन्दाको पहलमा न्वागी मेलालाई महोत्सवकै रुपमा मनाउन थालिएको छ ।
प्रत्येक बर्ष दसैको महाअष्ठमीका दिन मध्यरातमा गरिने कालिकाको पुजा, सोरठी नाच, सराँय, मालश्री, बालुन र ख्याली नाच यहाँका प्रमुख आकर्षण हुन् । त्यस समयमा पुग्ने पर्यटकले रैनादेवी वरपरका सस्कृति बारे अध्यन गर्न सकिन्छ । जगंलभित्र रैनादेवीको शक्ति पीठ, सत्य देवी र कालिकाको मन्दिर रहेकाछन् । मन्दिरमा आठ सय वर्ष पुरानो घण्ट रहेको छ । यस मन्दिरमा ब्राह्मण र छहरी मगरहरुलाई प्रवेश निषेध छ । रैनादेवी मन्दिरको परिसर अत्यन्त सुन्दर एंव प्राकृतिक सुन्दरताले परिपूर्ण छ । यस मन्दिर सतहको पश्चिम—उत्तरबाट रिडी खोला र वाक्लीे खोला बगिरहेका छन् । रैनादेवी जगल क्षेत्रमा कालिज, तित्रा, लुइँचे, काँडेभ्याकुर, मृग, जगली खरायो, नियाली बाघलगायतका दूर्लभ चराचुरुङ्गी तथा वन्यजन्तुहरुको बासस्थान रहेको छ ।

रैनादेवी मन्दिर महाभारत पर्वत श्रृखलाअन्तर्गत समुद्री सतहदेखि करिब १ हजार ६०० मिटरको उचाइमा रहेको छ । मन्दिर क्षेत्र प्राचीन, धार्मिक, ऐतिहासिक, पर्यटकीय एंव पुरातात्विक महत्वले पर्यटनको गन्तब्य भएको छ । रैनादेवीबाट उत्तरतिर हेर्दा नजीकै अन्त्रपूर्ण प्रथम, दोस्रो र तेस्रोका साथै धवलागिरी, माछापुच्छे लगायत १५ भन्दा बढी हिमाल देखिन्छन् । मौसम सफा भएको समयमा रैनादेवीको मन्दिर परिसरबाट गुल्मी र स्याङजा जिल्लाका धेरै रमणिय ग्रामीण बस्तीको समेत अवलोकन गर्न सकिनछ । अर्को तर्फ सूर्यास्तको बेला धवलागिरी हिामलको छायाँ रैनादेवीमै पर्दछ । चिसो हावापानी, घना वन र जैविक विविधताले धनि रैनादेवीको क्षेत्र पर्यटकहरुलाई आकर्षित गर्दछ । फागुन–चैत महिनामा पुग्ने पर्यटकहरुलाई रैनादेवीको मन्दिर वरपरका डाँडाकाडा भरि लालीगुराँसको फुलले स्वागत गर्दछ ।

रैनादेवी मन्दिर र यस वरपरको क्षेत्र ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थल मानिन्छन । पाल्पा, गुल्मी र अर्घाखाँचीको सिमानामा पर्ने रैनादेवीको मन्दिरमा पाइएका पाषाणकालीन हतियार, शाहकालीन तरबार, ढाल र अन्य युद्ध सामग्रीहरुले पनि यो स्थल कुनै किल्लाको रुपमा रहेको प्रमाणित हुन्छ । पृथ्वीनारायण शाहको नेपाल एकिकरणको समयमा रैनादेवी सपनामा प्रकट भएपछि अर्कोदिन राजाले हे ! गोखुंगाकी देवी तिमी यदि सत्तकी छौ भने मैले यो पाडोलाई बलिको रुपमा पठाएको छु’ भनी पाडो बलीको लागी पठाएका थिए । अहिले पनि मन्दिरमा जेठोपाडोको बलिदिने परम्परा छ । पाल्पाका सेन वंशीय राजा मुकुन्द सेन द्वितीयले १८२९ तिर रैनादेवीको दैनिक पुजाआजाको लागि ४० मुरी धान फल्ने खेत भुवनपोखरीको लामपातेमा गुठीको रुपमा ताम्रपत्र प्रदान गरेका थिए ।

रैनादेवी जाने जो कोहि पर्यटक तिर्थाटनको भावनाले गोखुङ्गा जाने हो भने हरेक आइतबार, दसैको नवरात्रभर, वैशाखे पूर्णिमा र वैशाखे पूर्णिको १५ दिन पछि पर्ने छोटी पूजा, चैते दसै, दसैको पूर्णिमा र मङसिरको न्वागीमा रैनादेवीमा मेला लाग्छ । रैनादेवीको मन्दिरमा दर्लामी थरका पुजारी छन् । मुख्य मन्दिरभित्र ब्राह्मण र छहरी मगरलाई प्रवेश निषेध छ तर बाहीरबाटै फूल, अक्षता चढाउन सकिन्छ । तपाइँ देवीको नाममा रोट पनि चढाउन सक्नुहुन्छ । यदि पञ्चवली लिएर रैनादेवी जानु छ भने एकदिन अघि स्थानीय परियार थरका अगुवाहरुलाई भेटन पर्दछ । रैनादेवी क्षेत्र सांस्कृतिक हिसावले पनि निकै महत्वपूर्ण मानिन्छ । यहाँ रहेको कुमाल तथा मगर संस्कृति, सोरठी, बालुन, सरायँ र न्वागी संस्कृति अन्य जिल्लाको संस्कृतिभन्दा फरक छन् ।
रैनादवी नवरात्रमा अग्नि ज्वालासहित गुल्मी जिल्लाको दौघामा रहेको देवी थानमा घुम्न जाने बिस्वास गर्दछन । कतिपय धामीहरु रैनादेवीलाई वनमा दिउँसै देखेको समेत बताउँछन् । यस क्षेत्रका सबै समुदायले कुनै नयाँ काम गर्दा, घिऊ तताउँदा, भैंसी व्याउँदा, परदेश जाँदा, विवाह लगायतका अन्य कुनै शुभकार्य गर्दा पहिले रैनादेवीलाई संझने र प्रसाद चढाउने प्रचलन छ । परिवारमा जेठो सन्तान जन्मिएपछि देवीलाई पूर्व बढाई दिने र पञ्चवली लैजाने प्रचलन रहेको छ । रैनादेवीसँग मागेको बर पुरा हुने विश्वास गरिन्छ । यी सबैकुरा रैरादेवी पुग्ने पर्यटकलाई अध्यनको बिषय बन्दछ ।

कसरी पुग्ने ?

बुटवल वा पोखराबाट बस चढेर पाल्पा, तानसेन पुग्न सकिन्छ । तानसेनबाट ३८ कि.मी.पश्चिमतर्फ ३० मिनेटको पक्कि, ३० मिनेटको ग्राभेल र बाँकी २५ मिनेटको कच्चि सडकमा करिब डेढ—दुई घण्टाको बस यात्राबाट गोखुंगा चौपारी पुगिन्छ । गोखुंगा चौपारीबाट १० मिनेट उकालो हिँडेपछि मन्दिरमै पुग्न सकिन्छ । अहिले अर्घाखाची र गुल्मीबाट समेत सडक सञ्जाल रैनादेवीसम्म जोडिएको छ ।

Comments
Loading...