पाल्पाका अपाङगता भएका बालबालिका फिजियोथेरापी गराउनबाट वञ्चित

0 277

पाल्पा । माथागढी गाउँपालिका–२ रुप्सेका ११ बर्षीय पुरन दर्लामी उभिन र हिड्डुल गर्न सक्नुहुन्न । ३ बर्षको उमेरमा निमोनिया भएपछि ढाडको पानी निकाल्दा उहाँको ढाडमा उल्टै समस्या भयो । पछि हिड्डुल गर्न त परै जाओस्, उभिन सक्ने समेत अवस्था रहेन । उहाँले गत ४ वर्ष अघिदेखि तानसेन स्थित केयर सेन्टरमा नियमित रुपमा फिजियोथेरापी गराउँदै आउनुभएको थियो तर कोरोनाका कारण केयर सेन्टर बन्द भएपछि उहाँको दैनिकी पिढिमै सुतेर बित्ने गरेको छ । पुरनकी आमा शारदा दर्लामीले फिजियोथेरापी गराउने समयमा चियरमा उभिन सक्नेसम्म सुधार भएपनि अहिले थेरापी सेवा बन्द भएपछि छोराको शारिरीक अवस्था झनै बिग्रिदै गएको बताउनुभयो ।

कोरोना महामारीका कारण केयर सेन्टर बन्द भएपछि पुरन मात्र नभई उहाँजस्तै धेरै बालबालिका समस्यामा पर्नुभएको छ । पाल्पा सिविआर र मष्तिस्क पक्षघात स्वाबलम्वन समूहले संयुक्त रुपमा तानसेनमा अपांगता भएका बालबालिकाहरुलाई लक्षित गरि तानसेनमा केयर सेन्टर सञ्चालन गर्दै आएको छ तर कोरोनाले महामारीको दोस्रो चरण भएदेखि नै यो सेन्टर बन्द छ ।पहिलो चरणको महामारीको समयमा २०७६ चैतदेखि मंसिरसम्म केयर सेन्टर पुर्ण रुपमा बन्द भयो । मंसिरदेखि बैशाखसम्म नियमित फिजियोथेरापी गरिएपनि दोस्रो चरणको महामारीका कारण बैशाखदेखि अहिलेसम्म नियमित र फलोअपको फिजियोथेरापी हुन नसकेको पाल्पा सिविआरका कार्यक्रम संयोजक कृष्ण गहतराजले बताउनुभयो ।

यो सेन्टरमा नियमित रुपमा १३ जना र फलोअपको रुपमा ६५ जना अपाङगता भएका बालबालिकाहरुले निःशुल्क रुपमा सेवा लिदै आएका थिए । नियमित उपचार र थेरापी गराउन सक्ने हो भने धेरै बालबालिकाहरूको दैनिकी सहज हुन सक्ने अवस्था रहेको उहाँले बताउनुभयो । सरकारले निषेधाज्ञा जारी गरेपछि बिद्यालय तथा शैक्षिक संस्थाहरु बन्द भएसँगै थेरापी सेवा पनि बन्द भएको उहाँले बताउनुभयो । अनलाइनबाट अभ्यास गराउन खोजिएपनि प्रभावकारी हुन नसकेको उहाँले बताउनुभयो ।

अति अपाङ्गता भएका बालबालिकाहरूका लागि लक्षित गरी विभिन्न अक्षयकोष दाताहरूको सहयोगमा सिविआरले ४ वर्षदेखि स्याहार केन्द्रको रूपमा विद्यालय सञ्चालन गरेपनि आर्थिक अभावमा धेरै बालबालिकाहरूलाई समेट्न नसकिएको र कोरोनाका कारण नियमित थेरापीमा आउने बालबालिकाहरु पनि अप्ठेरोमा परेको उहाँले बताउनुभयो । पाल्पाका दुई नगरपालिका र आठ गाउँपालिका भित्र ३ सय जनाभन्दा बढी बालबालिकाहरु अहिले पनि अपाङ्गता भएकै नियमित फिजियोथेरापी सहित शिक्षा, स्वास्थ्य लगायतका अधिकारबाट वञ्चित भएको गहतराजले बताउनुभयो ।‘जन्मजात वा जन्मेपछि विभिन्न कारणले अपाङ्गता भएका बालबालिकाहरू उचित स्वास्थ्योपचार र शिक्षाको अभावमा आँगन र पिँढीमै सीमित भएका छन् ।’–उहाँले भन्नुभयो ।

नेपालको संविधान २०७२ मा मौलिक हक अन्तर्गत धारा ३१ मा शिक्षाको हक, धारा ३५ मा स्वास्थ्यको हक, र धारा ३९ मा बालबालिकाको हक रहेपनि उहाँहरूले यी कुनै पनि हकको राम्रो गरी उपयोग गर्न पाउनुभएको छैन । धारा ३१ को शिक्षाको हक अन्तर्गत अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुन बमोजिम निशुल्क उच्च शिक्षा पाउने हक सुनिश्चित गरिएको छ त्यस्तै दृष्टिविहीन नागरिकलाई ब्रेललिपी तथा बहिरा र स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका नागरिकलाई सांकेतिक भाषाको माध्यमबाट कानुन बमोजिम निःशुल्क शिक्षा पाउने हकको सुनिश्चत गरिएको छ ।

पाल्पामा सरकारी स्तरबाट दृष्टिविहीन बालबालिकाहरूका लागि दमकडा माध्यमिक विद्यालयमा अध्ययनको व्यवस्था गरिएको छ । त्यस्तै कान नसुन्ने बालबालिकाहरूका लागि पप मावि र भवानी माध्यमिक विद्यालयमा अध्ययनको व्यवस्था गरिएको छ । तर, अति अपाङ्गता भएका विद्यालय बोकेरै ल्याउनुपर्ने अपाङ्गता भएका बालबालिकाहरूका लागि भने सरकारी रूपमा कुनै पनि विद्यालय छैन । सिविआरले सञ्चालन गरेको केयर सेन्टरमा आउने सबै बालबालिका अभिभावकले बोकेरै ल्याउनुपर्ने अवस्थाका रहेको गहतराजले बताउनुभयो । इन्सेक अनलाइनबाट

तस्बिरः गुगल

Comments
Loading...