पाल्पाको एउटा गाउँ जहाँ ५२ वर्षदेखि हरेक वर्ष अखण्ड हरेकीर्तन हुन्छ

0 5,166

भोजराज तिमिल्सिना
ओल्लो पल्लो बस्तीका पशु चौपायामा खोरेत डरलाग्दो रोग लागि महामारीकै रुपमा लिएपछि गाउँमा भैसीहरु मर्न थाले र यस्तो पिडालाई बिसाउने चौतारीको रुपमा बगनासकाली ९ चापपानी गाविस वडा नं. ६ सिखरेका बासिन्दाहरु त्रसित हुन पुगेकै बेला गाउँकै बीचमा तिल बहादुर शाही ठकुरीको समेत लैना भैसी एक्कासी मरेपछि स्थानीयहरुलाई डरको सिमै रहेन । अव के गर्ने के नगर्ने भगवान भन्दै भगवानको नाम लिने भन्दा अर्को दोस्रो बिकल्प नै रहेन ।

त्यही बेला त्रासमा परिरहेका यहाँका ७ धुरीका घरमुलीहरु एकै ठाउँमा जम्मा भई सरसल्लाह गरि सिखरेको माथिल्लो पिपलको फेदमुनि पशुधन र पारिवारिक सुरक्षाकी देवी भगवती माताको २०२७ साल कार्तिक महिनाको पहिलो शनिवार स्थापना गरि २४ घण्टे अखण्ड हरेकृतनको सुरुवात गरिएको हो । मोतिलाल तिमिल्सिना, रघुनाथ तिमिल्सिना, भुपाल तिमिल्सिना, टोपलाल तिमिल्सिना, यमलाल तिमिल्सिना, ठानेश्वर बस्याल र तिल बहादुर शाहीको संलग्नतामा २४ घण्टे अखण्ड हरिकृतन सुरु गरिएको ९१ वर्षीय टोपलाल तिमिल्सनाले बताउनुभयो ।
७ घरपरिवारले पुजाको व्यवस्थापन गरि यम्घा ३ गुँगाका पण्ढित दण्डपाण्ी न्यौपानेद्धारा बिधिवत पुजाआजा गराई अखण्ड हरेकृतनको सुरुवात गरिएको हो । दण्डपाणीपछि यम्घाकै मिनप्रसाद पाण्डे, बेदराज बस्याल र हरिहर पाण्डेले पण्डितको भुमिका निर्वाह गर्नुभएको छ ।
२०२८ साल कार्तिक महिनाको पहिलो शनिवार सिखरेकै तल्लो पिपलको फेदमुनि खुला आकाशमुनि कृतन गर्ने स्थल सारिएको थियो । त्यही पिपलको फेदमा लगातार ६ वर्षसम्म हरेक वर्ष कार्तिकको पहिलो शनिवार अखण्ड किर्तन गरिएको थियो ।

यो सामुहिक यज्ञलाई धेरैलाई मन पराए । एक्लैले बिधि पुर्याई गर्न कठिने हुने र सबैको सामुहिक सहभागिातमा यज्ञ सञ्चालन गर्दा सहज भएपछि गाउँका अरु घरहरु पनि क्रमशः थपिदै जान थाले । यसरी कृतन गर्न थालिएपछि पशुचौपायामा देखिएको महामारी पनि हराएर गएको र गाउँमा सामुहिक कार्यले पनि निरन्तरता पाएको तिमिल्सनाले बताउनुभयो ।

२०३४ सालमा मन्दिरको आवश्यकता महसुस गरि भगवती माताको मन्दिर बनाउने कार्यको सुरुवात भयो । ढुंगा र माटोबाट बनाइएको मन्दिर छाउनका लागि गाउँगाउँबाट कनेस्टर टिन उठाई मागी छाउने कार्य सम्पन्न गरिएको थियो । यसरी बनाइएको मन्दिरको आकार पुजा गर्ने भाईहरुमा बृद्धि हुँदै जादा मन्दिरको आकार साघुरो भएको महसुस गरि त्यसको १५ मिटर पुर्वतिर अर्को जस्तापाताले छाएको मन्दिर निर्माण कार्य भयो । पुजा गर्ने भक्तजनहरुको संख्यामा बर्षेनी बृद्धि हुँदै जादा उक्त मन्दिर पनि साघुरो भई हाल प्यागोडा शैलीको ३ छाना रहेको पक्की मन्दिरको निर्माण गरिएको छ । मन्दिर निर्माणका लागि ब्यक्ति ब्यक्ति गाउँ बिकास समिति र पछि गाउँपालिकाको समेत सहयोग रहेको मन्दिर निर्माण समितिका संयोजक ज्ञानराज तिमिल्सिनाले बताउनुभयो ।

मन्दिर परिसरलाई चिटिक्क बनाइएको छ । २०२७ सालदेखिको अखण्ड कृतन अहिले २२ घरपरिवारका सदस्यहरुको व्यवस्थापनमा हुँदै आएको छ । सुरुवात देखि अहिलेसम्म हरेक वर्ष कृतन हुँदै आएको छ । कृतनमा आउने पाहुनाहरुका लागि प्रसाद स्वरुप सुरुवातको अवस्थामा मनभोग दिने गरिएकोमा पछि यसलाई व्यवस्थित गर्दै जादा खिर ढकनी बनाउने गरिएको छ । यहाँ गरिने कृतन यस क्षेत्रकै पर्वको रुपमा बिकसित भएको छ । स्वम् कर्ताहरु, छिमेकी, तानसेन, सुनादी, यम्घा, दर्लमडाँडा दरुंगा, रम्भाको हुँगी, गल्याङको दिमिकका समेत श्रद्धालु भक्तजनहरु यहाँ आई हरे कृतन गाउने र नचाउने गर्दछन् ।

आयोजकहरु पुजाको व्यवस्थापन गरि आएका पाहुँनाहरुलाई चिया पानी भोजन २ दिनसम्म गराउने गर्दछन् । त्यति मात्र होइन कृतनमा सहभागी पाहुँनाहरुलाई यथासक्क दक्षिणा समेत दिई बिद ागर्ने चलन रहेको छ । अहिले नगद ५ सय, ४ माना चामल, ५ मुठी घिउ, तरकारी फलफुल उठाई कार्तिक महिनाको पहिलो शनिवार २४ घण्टे हरिकृतन निरन्तर रुपमा गरिराखिएको छ । पुजा व्यवस्थापनका लागि जो कोही पनि यहाँ सदस्य हुन खुला छ । भेटी लगायत अन्य जिन्सी सामानहरु चढाउनका लागि पनि रोक बन्देज छैन । कृतन थालिएको ५० वर्ष पुगेको अवसरमा भजनकृतन सहित भगवतीको रथयात्रा समेत गरिएको थियो ।

२ वर्ष अघिदेखि श्रीनगर डेरी तानसेनले सौजन्यको रुपमा पुजा व्यवस्थापनका लागि आफ्ना पितृहरुको सम्झनामा ५० लिटर दुध निःशुल्क दिदै आएको छ । कृतनको सांङयताको दिन खहरेखोलाका किसानहरुले नयाँ बाली ल्याई भगवानलाई अर्पण गरि न्वागी खाने पनि चलन छ ।

छिमेकी गाउँमा पनि अखण्ड किर्तन
यो सामुहिक धार्मिक कार्यले आपसी सम्बन्ध बढाउने, भाईभाइको सम्बन्ध अझै सुमधुर हुने भन्दै विक्रम संवत २०३३ सालमा चापपानी साविक २ खहरेखोलाका २६ घर परिवारले आफ्नै खर्चमा पधेरामाथि भगवती माताको मन्दिर स्थापना गरि सिखरेकै शैलीमा नगद २ सय, ३ माना चामल र ५ मुठी घिउ घरघरबाट उठाई फागुन महिनाको पहिलो शनिवार २४ घण्टे अखण्ड किर्तन गर्न थालेको ८४ वर्षीय टिकाराम तिमिल्सिनाले बताउनुभयो ।

यो मन्दिरमा सुनादी, नायर, दर्लम, दरुंगा लगायत बिभिन्न ठाउँका स्थानीय भक्तजनहरु बोलाई कृतन गरिदै आएको छ । २०३३ सालबाट २०६८ साल ३६ वर्षसम्म २४ घण्टे अखण्ड हरिकृतन गरिदै आएकोमा २०६९ साल फागुनको पहिलो शनिवारबाट १२ घण्टा गर्न थालिएको उहाँले बताउनुभयो । बसाइसराई, जनशक्ति अभावका कारण २४ घण्टे कृतन गर्न नसकी १२÷१२ वर्षमा ३ वटा साङयता गरि पुनः १२ घण्टे गर्न थालिएको तेजलाल तिमिल्सिनाले बताउनुभयो ।

सिखरे र पधेरामाथि भएको कृतनलाई हेरि ठुली उकालीको आडैमा त्यहाँका २३ घरपरिवारका सदस्यहरुले जस्ताले छाएको मन्दिरको निर्माण गरि भगवती माताको स्थापना गरि २०५२ सालको माघ महिनाको पहिलो शनिवारबाटै २४ घण्टे नै अखण्ड हरिकृतन गर्न सुरु गरिएको ६८ वर्षीय मुक्तिराम तिमिल्सिनाले बताउनु्भयो । नगद ५० रुपैयाँ, १ पाथी चामल र ५ मुठी घिउ उठाई नपुग भएका सामाग्री खरिद गरि पु्जाको व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

स्थानीय भक्तजन, नायरनमतलेसको पाखन्दी, सुनादी, दर्लमडाँडा लगायतका भक्तजनहरु मन्दिरमा उपस्थित भई कृतन गर्ने गर्दछन् । यो मन्दिरमा १२ वर्षसम्म २४ घण्टे अखण्ड हरिकृतन गरि १२ वर्षपछि पुनः १२ घण्टे कृतन गरिदै आएको छ । कृतन गर्न थालिएपछि संयोग हो वा धार्मिक प्रभाव हो थाहा भएन । २०२७ बाट यता त्यस्ता महामारीहरु भोग्न नपरेको स्थानीहरुको भनाई रहेको छ ।

बगनासकाली फिचर संग्रहको सहयोगमा

Comments
Loading...