पाल्पाको एउटै गाउँबाट दशैंमा ५० लाख बढीको खसी बोका बिक्री

0 1,031

एवत सारु । पाल्पा

रम्भा गाउँपालिका २ फोक्सिङ्ककोटका किसानले आधा करोड बढीको खसी बोका बिक्री गरेका छन् । नजिकिदैं गरेको बडा दशैंको मुखैमा किसानहरुले उपहार सामाजिक महिला उद्यमी सहकारी संस्था मार्फत ५१ लाख ८४ हजार ६३१ रुपियाको खसी तथा बोका बिक्रि गरेका हुन ।

आगामी सातामा थप १५ लाख रुपियाको खसी बोका बिक्री गर्ने लक्ष्य रहेको उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष गंगी सरा सिंजालीले बताउनु भयो । फोक्सिङ्गकोटको रानीबास, झर्लेङ्ग, कोटथर, बेलौजा, झोकेदी लगायतका गाउँबाट दिनहु खसी बोकाले भरिएका गाडीबाट खसीबोका निकासा गरिएको छ । हाल सम्म ४५६ वटा खसी बोका बिक्री गरिएको सहकारी संस्थाका व्यवस्थापक कृष्णमाया पाडे मगरले बताउनु भयो । खसी बोका तथा कृषि जन्य उत्पादन निकासी र यातायातको लागि सहकारीले आफ्नै सवारी साधन खरिद गरेर बिक्रीलाई सहज बनाएको छ । सहकारी संस्थाले फोक्सिङ्गकोटको टोल टोलमा खसी संकलन केन्द्र स्थापना गरि तौलने मशीन जडान गरेको छ ।

आज मात्र फोक्सिङ्गकोटको झर्लेैङ्ग संकलन केन्द्रबाट ३ लाख ६८ हजार भन्दा बढीको खसीबोका बिक्री गरिएको छ । झर्लेङ्ग गाउँकी अगुवा कृषक भूमिसरा जर्घामगरले ६७ हजार तीस रुपियाको ४ वटा खसी बेच्नु भएको छ । बेलौजाकी लक्ष्मी सारु ले पनि ५ वटा खसी बेचेर १ लाख ७ हजार पाउँदा दङ्ग पर्नु भएको छ । दशैंको मुखैमा यसरी मनग्गे आम्दानी हुँदा किसानहरु खुशी भएका छन ।

रम्भा गाउँपालिकाले उत्पादनमा आाधारित नीति लागु गरेपछि किसानहरु झन हौसिएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनु भयो । गाउँपालिकाले किसानहरुलाई ८ लाख रुपिया भन्दा बढी खसी तथा स्थानीय कुखुरा पालन गुर्ने किसानलाई वितरण गरेको थियो । रम्भा गाउँपालिकालाई मासुमा निर्भर बनाउने नीति अनुरुप विभिन्न कार्यक्रम लागु गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्तुजङ्ग रानाले बताउनु भयो ।

फोक्सिङ्गकोटमा हेफर ईन्टरनेशनल, तत्कालीन फोक्सिङ्गकोट गाविस तथा स्थानीय समुहको संयुक्त प्रयासमा लघु उद्यम विकास कार्यक्रम लागु गरि सहकारीको स्थापना गरिएको थियो । सहकारी मार्फत माउ बाख्राको विमा गर्ने, खसी उत्पादनको लागि खोर सुधार र निर्माण, परजीवि नियन्त्रण तथा घास उत्पादन कार्यक्रम सफल भएपछि फोक्सिङ्गकोटलाई खसी बोकाको पकेट क्षेत्र बनाईएको छ । हरेक घरमा उन्नत जातका बाख्रा पालन गरिएको छ । किसानले बोयर जातको बोका पाए पछि बाख्रा उत्पादनमा बृद्घि भएको २ नम्बर वडाका पशु प्राविधिक सुनिलकुमार सारुले बताउनु भयो ।

Comments
Loading...