पाल्पाको मानवअधिकार सम्वन्धी कार्यक्रमका वक्ताहरुले के के भने ?

0 27

पाल्पा । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) पाल्पाको आयोजनामा नेपाल मानवअधिकार बर्ष पुस्तक २०२० को लागि पूर्व समिक्षा कार्यक्रम पुस ७ गते तानसेनमा सम्पन्न भएको छ ।

समिक्षा कार्यक्रममा इन्सेक पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले एक वर्षको अवधिमा पाल्पामा संकलित घटनाहरु प्रस्तुत गरे । तिमिल्सिनाले एक वर्षको अवधिमा पाल्पामा बाल यौन दुब्र्यबहारका घटना ५, बालिका बलात्कारका घटना ३, महिला बलात्कारका घटना ८, गैरराज्यपक्षबाट हत्या २, राजनीतिक अधिकारका २, जातीय बिभेदको १ सहित घरेलु हिंसाका समेत गरि ९० वटा घटनाको इन्सेकले अभिलेख गरेको जानकारी गराए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश ५ का सांसद तुलाराम घर्ती बसन्तले सम्वन्धित सबैले आआफ्नो जिम्मेवारी बुझेर काम गर्न सके मानवअधिकार उल्लंघन नहुने बताए । सांसद घर्तीले मानिसले जब आफ्ना कर्तव्य र जिम्मेवारी विर्सन्छ तब मानव अधिकार उल्लंघन हुने बताउँदै स्वच्छ समाज निर्माणका लागि मानवअधिकारको प्रत्याभुति घर घरमा हुनुपर्ने समेत उल्लेख गरे । उनले दलित, बालबालिका र जेष्ठ नागरिकले अहिलेपनि पूर्ण मानवअधिकारको प्रत्याभुति गर्न नपाएको बताउँदै सरकारी तथा गैरसरकारी निकायहरुले यसतर्फ आफ्ना कार्यक्रमहरु अगाडि बढाउनुपर्नेमा जोड दिए ।

तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले राज्यका हरेक निकायका व्यक्तिले मानव अधिकारको संरक्षण गर्नुपर्नेमा जोड दिदैं गरिबी, अशिक्षा र आर्थिक रुपमा कमजोर मुलुकमा मानव अधिकारको विषय बढी उठ्ने गरेकाले बताउँदै सबैभन्दा महत्वपूर्ण पक्ष नै आर्थिक सवलीकरण भएको बताए ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले इन्सेकले हरेक ६,६ महिनामा यस प्रकारको कार्यक्रम मार्फत छलफलको बातावरण बनाएकोमा धन्यवाद ज्ञापन गरे । उनले मानवअधिकार वर्ष नेपालको मानवअधिकार अवस्थाको समग्र चित्रण भएको समेत बताए ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका (एसपी) दिपेन्द्र जिसीले जनताको मानवअधिकारको रक्षाका लागि नेपाल प्रहरी जिम्मेवार पूर्वक लागेको बताए । जिल्ला अदालत पाल्पाका श्रेस्तेदार कृष्णमुरारी सिग्देलले पछिल्लो समयमा हिंसाका घटनाहरुमा महिलाहरु मात्र नभई पुरुषहरु पनि परेकाले यस तर्फ ध्यान दिन इन्सेकलाई आग्रह गरे ।

कार्यक्रममा मानवअधिकारकर्मी पुष्करराज रेग्मी, दिवाकर पाण्डे, राजेन्द्र लक्ष्मी गहिरे, दलित अधिकारकर्मी खुमबहादुर विक,यातायात व्यवस्था कार्यालयका प्रमुख विष्णुप्रसाद खनाल, नेपाल प्रेस संगठनका जिल्ला संयोजक राजेन्द्र लिगल, पत्रकारहरु माधव अर्याल, कृष्ण कार्की, नारायण न्यौपाने लगायतले पाल्पाको मानवअधिकार अवस्था र इन्सेकले उठान गर्नुपर्ने बिषयमा आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रम मानवअधिकार निगरानी समूह पाल्पाका संयोजक भगवान भण्डारीको अध्यक्षता र पत्रकार दयाराज न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।

Comments
Loading...