पाल्पाको रम्भा गाउँपालिकामा एमालेको अग्रता, जिसस एमालेकै बन्ने !

0 782

सुशीला रेग्मी
रामपुर (पाल्पा), जेठ ८

पाल्पाको रम्भा गाउँपालिकामा अहिलेसम्म नेकपा एमालेको अग्रता छ । एमालेबाट पालिका अध्यक्षका उम्मेदवार विष्णुप्रसाद भण्डारीले चार हजार १८६ मतका साथ अगाडी हुनुहुन्छ । यदि रम्भा गाउँपालिकामा नेकपा एमाले विजयी भए पाल्पा जिल्ला समन्वय समिति नेकपा एमालेबाट बन्ने प्राय निश्चित देखिएकाे छ । अहिलेसम्म प्राप्त नतिजामा पाल्पाका १० पालिका प्रमुख र उपप्रमुखमा गठबन्धन दलहरू नाै र नेकपा एमाले नाै बराबर छ ।

गठबन्धनबाट नेकपा समाजवादीका उम्मेदवार दुर्गाप्रसाद अधिकारीले तीन हजार ३४८ मतका साथ भण्डारीलाई पछ्याउनुभएको छ । यस्तै पालिका अध्यक्षतर्फ मंगोल नेशनल अर्गनाइजेशन नेशनलका ठाकुर सिं सारुले २०६ मत ल्याउनुभएको छ । उपाध्यक्षतर्फ एमालेबाट उम्मेदवार बन्नुभएकी राधादेवी श्रेष्ठले चार हजार ३४४ मतसहित अगाडी हुनुहुन्छ । यस्तै उहाँको प्रतिष्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले तीन हजार ६१३ मत पाउनुभएको छ ।

पालिकाको पाँच वडामध्ये हालसम्म चारवटा वडाको मात्रै मत परिणाम सार्वजनिक भएको छ । वडा नं ३ को मत परिणाम आउन बाँकी छ । चार वडामा सार्वजनिक भएको मत परिणामध्ये अध्यक्ष पदमा ७०२ र उपाध्यक्षमा ४९९ मत बदर भएको पाइएको छ ।
वडा नं १ मा नेपाली कांग्रेसबाट अध्यक्षमा ईश्वर काफ्ले एक हजार ६४३ मत सहित विजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी एमालेका मनबहादुर मश्राङ्गीले एक हजार ४४४ मत पाउनुभएको छ । यहाँ खुल्ला महिला सदस्य र दलित महिला सदस्य एमालेबाट र खुल्ला दुई सदस्य कांग्रेसका विजयी भएका छन् । वडा नं २ मा अध्यक्षमा एमालेका चेतबहादुर सुनारी ९३८ मत सहित उहाँको प्यानल नै निर्वाचित भएको भने प्रतिष्पर्धी कांग्रेसका रमेशप्रसाद प्रसाईले ७३६ मत ल्याउनुभएको छ ।

वडा नं ४ मा एमालेकै अध्यक्षमा कृष्णबहादुर रायमाझीको प्यानल नै विजयी भएको छ । निर्वाचित अध्यक्ष रायममाझीले ८३४ मत ल्याउनुभएको छ भने उहाँका प्रतिष्पर्धी कांग्रेसका चेतनारायण श्रेष्ठले ५७७ मत पाउनुभएको छ । वडा नं ५ मा एमालेकै प्यानल निर्वाचित भएको छ । यहाँ खुमकान्त बस्याल एक हजार १४० मत सहित विजयी हुनुभएको छ भने प्रतिष्पर्धी कांग्रेसका विष्णुबहादुर थापा कामुले ७२६ मत ल्याउनुभएको छ । यहाँ वैशाख ३० को निर्वाचनमा ११ हजार ४५७ मत खसेको थियो । बाँकी रहेको वडा नं ३ मा खसेको दुई हजार ९८४ मत गणना हुदैछ ।

रम्भामा गत वैशाख ३१ गते साँझ वडा नं ५ को मतगणना गर्ने क्रममा विवाद भएपछि एक हप्ता गणना कार्य स्थगित भएको थियो । विवाद समाधान पश्चात् गत जेठ ६ गते अपरान्हबाट मात्रै मतगणना कार्य थालिएको हो । पाल्पाका दश पालिकामध्ये अन्य नौ पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ । सेरोफेरो न्युजबाट साभार

Comments
Loading...