पाल्पाको राम्दी सिद्धगुफा जहाँ किसानले बर्षेनी गाई भैसीको दुध चढाउँछन्

0 317

चुरामणी तिमिल्सिना

जिल्लाको बगनासकाली गाउँपालिका वडा नं. ५ दर्लमडाँडा राम्दी सिद्धगुफामा यस क्षेत्रका किसानहरुले हरेक बर्ष गाई भैसीको दुध चढाउँदै आएका छन् । यसरी दुध चढाउँदा गाई भैसी बर्षेनी ब्याउँछन् भन्ने बिश्वास किसानहरुमा रहेको छ ।

किंवदन्ती अनुसार बि.सं. १८६५ सालमा तानसेन नजिकैको गोर्खेकोट भन्ने गाउँमा मावलीमा बस्दै आएका केशव भट्टराईले (स्थायी घर छेर्लुङ्ग रहेका उनी बावु आमाको मृत्युपछि मावलीमा बस्दै आएका थिए) पाल्पाका राजा मणिमुकुन्द सेनलाई घोडाको बच्चो दिएवापत राजाले राम्दी क्षेत्रको सुनादी भन्ने ठाउँको जग्गा उनलाई दिएछन् । सुनादी गाउँमै भट्टराईले पशुपालन गर्ने योजना बनाएपछि राजाले गोठ बनाउन समेत सघाई सुनवीर माझी नामक गोठालो राखिदिएछन् ।

गोठालो भने रातको समयमा नजिकैको बगनास गाउँमा भजन गाउँन जादो रहेछ । यो कुरा थाहा पाएपछि केशवले गोठमा निरीक्षण गर्न गएछन् । उनले गाईगोठमा बाघहरुले गाईभैसीलाई पहरा दिएर राखेको देखेछन् । बिहान पख गोठालो फिलिलि गरि उडेर आएछ । त्यसपछि भट्टराईले गोठालोलाई गाली गर्दा म सिद्व हुँ भनी तलतिर गएर त्यही गुफाभित्र पसेछ र त्यही अलप भएछ । पछि गाउँलेहरुले सोही स्थानमा पुजा आजा गर्न थाले । त्यसैको आधारमा सुनसिद्व अर्थात् सुनगुफा नाम रहेको पाइन्छ ।

गुफामा झण्डै १ सय १० वर्षअघिदेखि निरन्तर अखण्ड धुनी बोल्दै आएको छ । यही स्थानमा पाल्पा, स्याङ्गजा, गुल्मी, अर्घाखाँची जिल्लाका किसानहरुले गाई भैसीको दुध ल्याएर चढाउँदै आएका छन् । यसरी दुध ल्याएर चढाउँदा गाईभैसी निरन्तर ब्याउँछ भन्ने जनबिश्वास रहिआएको छ ।

Comments
Loading...