पाल्पामा एकैदिन १२१ जना संक्रमित थपिए, संक्रमितको संख्या ३६९पुग्यो

0 122

पाल्पा । पाल्पामा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएको छ । स्थानीय तहहरुले परीक्षणका लागि किट खरिद गरि परीक्षणको दायरा बढाएरसँगै यहाँ संक्रमितको संख्या बढेको हो । यहाँ एकैदिन १२१ जनामा कोरोना पुष्टि भएको छ । नयाँ थपिनेमा ११८ जना पुरूष रहेका छन् भने ६ जना महिला रहेका छन् ।

यससँगै जिल्लामा संक्रमितको संख्या ३६९ पुगेको छ । जिल्लाको निस्दी गाउँपालिकामा मात्रै ९३ जनामा बिहीवार कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । चितवनस्थित भरतपुर अस्पतालले बिहीवार विहान यसको पुष्टि गरेको हो ।

यसअघि तानसेन नगरपालिकामा १ जना पनि कोरोना संक्रमित थिएनन् । अहिले तानसेनमा ३ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै रम्भा गाउँपालिकाका थप ६ जनामा कोरोना पुष्टि भएको छ । तिनाउ गाउँपालिकामा २० वर्षीय एकजना कोरोना संक्रमित थपिएका छन्। भैरहवा स्वास्थ्य प्रयोगशालाले यसको पुष्टि गरेको हो ।

यस्तै, पूर्वखोला गाउँपालिका १ हेक्लाङस्थित जनमार्ग माध्यमिक विद्यालय र मदनआश्रित आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका १८ जनामा कोरोना संक्रमण भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए । यसरी ठूलो संख्यामा कोरोना संक्रमित भेटिएपछि स्थानीय तहहरु अहिले संक्रमितलाई कहाँ राख्ने भन्ने बिषयमा अन्यौलमा परेका छन् ।

Comments
Loading...