पाल्पामा एकैपटक १ सय ६० जनालाई प्राविधिक सिपको प्रमाणपत्र बितरण

0 166

पाल्पा । कस्मोपोलिटन कन्सल्टेन्ट एण्ड टेक्निकल एजुकेसन सेन्टर तानसेनले संचालन गरेको बिभिन्न प्राविधिक विषयका तालिममा सहभागी भई सिटिइभिटिबाट उतीर्ण हुन सफल १सय ६० जनालाई तानसेनमा एक कार्यक्रमका बीच प्रमाणपत्र बितरण गरिएको छ ।

नेपाल सरकार शिक्षा मन्त्रालय इभेन्ट परियोजनाको आर्थिक सहयोग तथा हेल्भेटासको प्राविधिक सहयोगमा तालिम संचालन गरिएको थियो । सेन्टरले मन्टेश्वरी, कुक, इन्ड्रस्ट्रियल इलेक्ट्रिसयन र ब्युटियसन विषयमा यसअघि तालिम संचालन गरेको थियो ।

प्रमाणपत्र बितरण कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख मोतिलाल शर्माले देशमा दक्ष प्राविधिक जनशक्तिको आवश्यकता रहेको बताए । उनले प्राविधिक सिप भएकाहरु बेरोजगार बस्नु नपर्ने भन्दै सहभागीहरुलाई आफ्नो सिप क्षमताको उच्चतम प्रयोग गर्न अनुरोध गरे ।

सो अवसरमा शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत महेन्द्र सुवेदी, तानसेन नगरपालिकाका सामाजिक शाखा प्रमुख भरत आचार्य, पाल्पा समाचारपत्रका सम्पादक यज्ञमूर्ति तिमिल्सिना, एनएमवि बैंकका कर्जा प्रमुख रमेश भट्टराई लगायतले प्राविधिक सिपको प्रयोगबाटै देशले परिवर्तनको महसुस गर्ने भएकोले देशमा प्राविधिक जनशक्तिको आवश्यकता रहेको औल्याए ।

प्रशिक्षक सुरेश न्यौपानेको स्वागतबाट सुरु भएको कार्यक्रममा प्रशिक्षक राजकुमार खड्का, सहभागीहरु अनिता न्यौपाने, विद्या रायमाझी, डिल्लीराम घिमिरे, अस्मिता घिमिरे र सुरज बस्यालले तालिमको अनुभव साटेका थिए । संस्थाका कार्यक्रम संयोजक कमल भट्टराईको संचालन र निर्देशक टंक भट्टराईको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

Comments
Loading...