पाल्पामा घर घरमा ल्याइएको तरकारी बजारमा भन्दा ४ गुणा सस्तो

0 281

पाल्पा । जिल्लाको तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाले कृषि एम्बुलेन्स मार्फत घर घरमा तरकारी पुर्याउने अभियान सुरु गरेका छन् । तानसेनमा तानसेन नगरपालिकाले गठन गरेको युवा परिषद् र बगनासकाली गाउँपालिकामा गाउँपालिकाले यो यो अभियान सुरु गरेका हुन् ।


घर घरमा पुर्याइएको तरकारी निकै सस्तो र ताजा भएको उपभोक्ताले बताएका छन् । काउली प्रतिकेजी २० रुपैयाँ, बन्डा प्रतिकेजी १० रुपैयाँमा बिक्री भएको छ । यो मूल्य बजारभन्दा ४ गुणा सस्तो हो । त्यस्तै काक्रा प्रति केजी ४० रुपैयाँ र सिमी प्रतिकेजी ४० रुपैयाँका दरले बिक्री गर्दै आएको तानसेन युवा परिषद्का अध्यक्ष गुराँस आत्रेयले बताए । काक्रा र सिमी पनि बजारको भाउभन्दा आधा सस्तो भएको उपभोक्ताले बताएका छन् । किसानकै मुल्यमा उपभोक्ताले तरकारी किन्न पाएका छन् । जसका लागि गाडी तथा तेल खर्च सम्वन्धित स्थानीय तहहरुले गरेका छन् । यो तरकारी हाल बजारमा बिक्री हुँदै आएको तरकारी भदा ५ गुना सस्तो रहेको उपभोक्ताहरुले बताएका छन् ।


यसरी घरघरमा तरकारी पुर्याइदा किसान र उपभोक्ता दुबैको हित भएको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । यसप्रकारको अभियानले उद्यमी किसानहरुलाई आगामी बर्ष पनि किसानी गर्नका लागि उत्प्ररेणा मिल्ने तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीको भनाई छ ।


लकडाउनमा कडाई
जिल्लाका सबै स्थानीय तहहरुले प्रकोप ब्यवस्थापन कोष बनाई एकद्धार प्रणालीबाट कोरोना राहत संकलन र बितरणको कार्यलाई पारदर्शी रुपमा अगाडि बढाएको जनाएका छन् । पहिलो चरणको राहत बितरण कार्य सकिएको र दोस्रो चरणको राहत बितरण कार्य अगाडि बढाइएको स्थानीय तहहरुले जनाएका छन् । वैशाख १० गतेसम्म पाल्पा जिल्लामा कोही पनि कोरोना संक्रमित भेटिएका छैनन् । तर लकडाउनलाई भने स्थानीय प्रशासनले कडाईका साथ अगाडि बढाएको छ । दुध तथा तरकारी पसल बिहान साँझ २, २ घण्टा खोल्न अनुमति दिइएको छ भने अन्य समयमा मेडिकल बाहेक सबै पसलहरु बन्द रहेका छन् ।


खाद्यान्न पसलहरु आईतवार,मंगलवार र विहिवार विहान ९ बजेदेखि ११ वजे सम्म खोल्ने व्यबस्था मिलाउने साथै वस्तु तथा सेवा विक्री वितरण गर्दा व्यक्तिगत दुरी कायम गरी सुरक्षित रहने व्यबस्था कायम गर्ने, औषधी पसलहरु दैनिक रुपमा अनिवार्य खोल्ने, नेपाल सरकार, गृह मन्त्रालयबाट स्थानीय स्तरमा उत्पादित तरकारीलाई बजार सम्म पुर्याउने कार्यलाई सहजीकरण गर्न अनुरोध भै आएको हुँदा र अन्यत्र बाट आउने यस्ता उत्पादनले संक्रमण बढाउने संभावना बढी देखिएकोले अन्यत्र जिल्लाबाट यस जिल्लामा हुने तरकारीजन्य पदार्थहरुको आयातमा हाललाई रोक लगाउने निर्णय भई सोही अनुसार कार्यान्वयन गर्दै आएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए ।

Comments
Loading...